यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
थोमस मोर बेलायतका एक चिन्तक, विद्वान्, तत्कालीन समाज व्यवस्थाका आलोचक र काल्पनिक समाजवादका सुरुका एक विचारक हुन् । ६ फेब्रुअरी १४७८ मा बेलायतको राजधानी लन्डनमा उनको जन्म भएको थियो । उनका बुबा जोन मोर अदालतका मुख्य न्यायाधीश थिए ।
थोमस मोर निकोलास हल्टको रेखदेखमा सेन्ट एन्थोनी विद्यालयमा भर्ना भए । ते¥ह वर्षको उमेरमा उनले सो विद्यालयबाट क्यान्टवरीका एक पादरी मोर्टनको घरमा शिक्षा हासिल गरे । त्यसबेलाको चलनअनुसार खान्दानी वा कुलीन घरानाका युवाहरू केही दिनको लागि आचरण, शिष्टाचार वा सदाचारका नियमहरू कुनै एक सुसंस्कृत परिवारमा गएर सिक्ने परम्परा थियो । मोर्टनको शिक्षाबाटै थोमस मोरमा शिष्टता र सुसंस्कृत व्यवहारको छाप प¥यो ।
थोमस मोर १४ वर्षको उमेरमा अक्सफोर्डमा अध्ययनको लागि भर्ना भए । त्यहाँ शिक्षक थोमस लिनाकेले मोरलाई ग्रीसेली भाषा र साहित्यमा चाख जगाउन सहयोग गरे । अक्सफोर्डबाट उनले दुई वर्षमै ज्ञानलाई धेरै अगाडि बढाए । उनी ल्याटिन भाषामा सिपालु भए भने ग्रीसेली भाषाको पनि राम्रो जानकारी पाए ।
उनको बुबा उनलाई कानुन अध्ययन गराउन चाहन्थे । त्यसकारण, उनलाई कानुनका विद्यालयहरू न्यु इन र पछि लिङ्कन इनमा भर्ना गराए । ती दुवै विद्यालय निजामती ऐन–कानुनका अध्ययन केन्द्र थिए । थोमस मोर सा¥है अनुशासित र मितव्ययी विद्यार्थी थिए ।
लिङ्कन विद्यालयको ३ वर्षको अध्ययनको सिलसिलामा इरासस भन्ने एक पादरीसँग सा¥है प्रभावित भए । ३० वर्षका इरासस डेनमार्कका एक विद्वान् थिए भने २२ वर्षका थोमस मोर एक मेहनती, उत्साही र ज्ञानप्रति सा¥है उत्सुुक छात्र थिए ।
थोमस मोर
इरासन्सले एकपटक मोरको बारेमा भनेका थिए, “थोमस मोरभन्दा शिष्ट, सरल र रमाइला व्यक्ति प्रकृतिले जन्माएको छैन ।” तिनीहरू दुईको समान दृष्टिकोण र साहित्यिक मित्रताको सम्बन्ध सा¥है घनिष्ठ थियो । थोमस मोरको मृत्युमा इरासन्सले आफ्नो अभिव्यक्ति यसरी दिए, “मोरको मृत्युसँगै मेरो पनि भयो, हाम्रो आत्मा एउटै थियो ।”
थोमस मोरका जोन कोलेट, विलियम ग्रोसिन र थोमस लिनाक्रेजस्ता पादरी मित्रहरू पनि थिए । उनी पनि पादरी बन्न चाहन्थे । तर, पछि उनी भ्रष्ट पादरीभन्दा एक शुद्ध पति बन्न चाहे ।
सन् १५०० मा थोमस मोर अदालतको सेवामा सामेल भए । एक वर्षपछि उनी ३ वर्षको निम्ति फर्निवाल विद्यालयमा उपप्राध्यापकका रूपमा नियुक्त भए । त्यसैबेला सेन्टलरेन्स जेरी चर्चका पादरी ग्रोसिनले उनलाई सेन्ट अगस्टिनको पुस्तक ‘भगवानको सहर’ (City of God) बारे प्रवचन गर्न आमन्त्रण गरे ।
मोरको अभिव्यक्ति शैली र विचारको प्रस्तुतिलाई धेरै सहभागीहरूले मन पराए वा प्रशंसा गरे । २३ वर्षका युवक मोरको कानुनको जानकारी र अध्ययनले सबै पादरीहरू प्रभावित थिए । हुन पनि उनका जीवनी लेखक स्टोलेटनको भनाइमा मोर दैनिक १९ घण्टा अध्ययन गर्थे ।
२६ वर्षीय मोर सन् १५०४ मा संसद्मा पुगे । संसद्मा उनको तर्क र प्रस्तुतिबाट सबै छक्क पर्थे । मोरको छलफलको कारण राजा हेनरी सातौँले आफ्नी जेठी राज कुमारीको विवाहको निम्ति पर्याप्त धन जुटाउन सकेनन् । लोभी राजा मोरदेखि सा¥है रिसाए तथा त्यसको बदलामा उनको बुबा जोन मोरलाई कारागारमा थुनेर १०० पाउन्ड जरिवाना लिएर छोडे । त्यसबेला बेलायतमा निरङ्कुश राजतन्त्र कायम थियो ।
मोरले सन् १५०५ मा जेन कोल्ट नामक केटीसँग विवाह गरे । उनको ६ वर्षको वैवाहिक जीवनमा उनी ३ छोरी र एक छोरा गरी जम्मा ४ छोराछोरीका बुबा बने ।
सन् १५०९ अप्रिल महिनामा राजा हेनरी सातौँको मृत्यु भयो । त्यसको भोलिपल्टै हेनरी आठौँ राजा भए किनभने राजा मरे पनि राजगद्दी खाली हुने गर्दैन । राजा हेनरी सातौँ अति महत्वाकाङ्क्षी र अरूलाई हानि पु¥याउने दुष्ट खालका राजा थिए । हेनरी आठौँको उमेर १८ वर्षको मात्र थियो । ३ सेप्टेम्बर १५०१ मा थोमस मोर सहरको न्यायिक अधिकारीको रूपमा नियुक्त भए किनभने उनले नयाँ राजाको सम्मानमा एक कविता लेखेका थिए । निष्पक्ष र स्वतन्त्रतापूर्वक उनले न्यायको पक्षपोषण गरे, त्यसैले उनी एक प्रतिष्ठित व्यक्ति बने ।
सन् १५११ मा मोरकी श्रीमती जोन कोल्टको निधन भयो । त्यसपछि आफ्ना छोरा–छोरीहरूको हेरविचार गर्न उनले आफूभन्दा ७ वर्षले जेठी विधवा एलिस मिइलटेनसँग विवाह गरे । एलिस एक कर्तव्यपरायण गृहिणी थिइन् भने मोर एक समर्पित पति र माया गर्ने बुबा थिए । साथै एक अध्ययनशील, चिन्तक र एक स्वप्नद्रष्टा भएको हुँदा सन् १५१६ मा उनले ‘कल्पनालोक’ (UTOPIA) भन्ने पुस्तक ल्याटिन भाषामा प्रकाशित गरे ।
सन् १५१७ देखि थोमस मोर राजा हेनरी आठौँको सेवामा नियुक्त भए । तर, ‘कल्पनालोक’ भन्ने पुस्तकको प्रकाशनले मोर युरोपका एक प्राज्ञको रूपमा चर्चित भए । उनको विद्वता र प्रखर दृष्टिकोणको कारण उनको ख्याती बढ्दै गयो र आफ्नै जीवन कालको सानो अवधिमा त्यस पुस्तकको ४ वटा संस्करण छापियो र त्यसबेला त्यो अत्यन्त महत्वपूर्ण विषय थियो ।
राजा हेनरी आठौँले उनको विद्वताको प्रशंसा गरी सन् १५२१ मा उनलाई नाइट वा सम्मानजनक काजी पदवीले विभूषित गरे । त्यसको केही वर्षपछि उनलाई प्रतिनिधिसभाको सभामुख बनाइयो । त्यसबेला राजा र प्रतिनिधिसभाको बिचमा पुलको काम सभामुखबाट हुन्थ्यो । त्यसैबेला उनले फ्रान्ससँग सम्मानजनक शान्ति सम्झौता गर्न ठुलो भूमिका खेले ।
मोर सन् १५२४ मा राज परिषद्को सदस्य बने । राज परिषद्को सदस्य बन्नु त्यसबेला अत्यन्त सम्मानजनक कुरो थियो । त्यसबेला उनले कूटनैतिक क्षेत्रमा पनि सेवा गर्नुपथ्र्यो । सन् १९२५ जुलाई महिनामा उनी लान्काष्टारका चान्सलर पदमा नियुक्त भए । सन् १५२५ अगस्ट महिनामा उनी फ्रान्ससँगको युद्धविरामको निम्ति शान्ति वार्तामा र अन्य कूटनैतिक कार्यहरूमा लागिरहे । कूटनैतिक कार्यमा उनी बाहिर बाहिर जानु परे पनि दरबारसँग उनको सम्बन्ध निरन्तर रह्यो ।
राजा हेनरी आठौँ १८ वर्षको उमेरदेखि नै आफ्नी विधवा भाउजू क्याथरीनसँग बसिरहेका थिए । पछि राजाको सम्बन्ध एने वोलीन भन्ने केटीसँग भयो, राजा उनीसँग विवाह गर्न चाहन्थे ।
क्याथरीनसँगको सम्बन्ध भएको कारण चर्चको कानुन वा परम्पराविपरीत एने वोलीनसँग विवाह गर्न मिल्दैनथ्यो । राजा एने वोलीनसँग विवाह गर्न क्याथरीनसँग पारपाचुके गर्न चाहन्थे । त्यसको निम्ति धर्माधिकारी पोपको सहमति चाहिन्थ्यो । पोपको सहमति पाउन राजाले मोरमाथि दबाब दिनथाल्यो । मोरले त्यस पारपाचुकेलाई उचित ठह¥याउने परिस्थिति नभएको बताए । तैपनि, मोरलाई आफ्नो प्रभावमा पार्न राजाले सन् १५२५ अक्टोबर २६ को दिन बेलायतको लर्ड चान्सलरको वा महान्यायाधिवक्ताको पदमा नियुक्त गरे ।
मोरले ३ वर्षसम्म त्यस न्यायिक पदमा बसेर नैतिक मूल्यलाई कायम राखे । भनिन्छ, साधारण परिवारको बेलायतको पहिलो महान्यायाधिवक्ता बन्ने मोर नै पहिलो व्यक्ति थिए । राजाको त्यस सम्मानले पनि मोरलाई हेनरी आठौँको एन वोलीनको विवाहको पक्षमा बनाउन सकेनन् । राजाले अन्तमा नवौँ मुख्य पादरी क्रान्मरको सहयोगले क्याथरीनसँग पारपाचुके गरी एनेसँग विवाह गरे ।
मोर राजाप्रतिको बफादारी र एक सच्चा इसाईको कर्तव्यको बिचमा वा धर्म सङ्कटमा परे । तर, मोरले आफ्नो धार्मिक आस्थालाई त्यागेनन् र १ जून १५३६ को दिन संसद् (वेस्ट मिनिस्टर) भवनमा नयाँ महारानीको विवाह समारोहमा सहभागी हुन अस्वीकार गरे । उनले आफ्नो चान्सलर पदबाट राजीनामा दिए । यसरी मोरको राजासँगको सम्बन्ध तीतो भयो । राजाले आफू बेलायती चर्चको प्रमुख हुने दाबी गरे । त्यो दाबी रोमन न्यायको परम्पराको विरोध र अपमान थियो । मोर त्यसको विपक्षमा गए तथा राजदरबारसँग उनको सम्बन्ध पूरै विच्छेद भयो ।
राजा हेनरी आठौँको त्यो दावी पूर्णरूपले निरङ्कुश र पागलपन थियो । यसकारण, मोर चर्चको नयाँ महान्यायाधिवक्ताको शपथग्रहणको समारोहमा सहभागी हुन अस्वीकार गरे । मोरले राजाको विरोधमा एक शब्द नबोले पनि राजाले उनको असहभागितालाई राजद्रोह सम्झे र राजद्रोहको मुद्दा लगाए ।
युटोपिया (कल्पनालोक)
कुनै प्रमाण तथा अदालती कारबाहीबिना मोर १५ महिना कारागारमा राखिए । तैपनि, त्यो अवधि उनले लेख्न–पढ्नमै बिताए र ‘असुविधाविरुद्ध सुविधाको वार्ता’ भन्ने एक लेख लेखे । त्यसमा एउटा वाक्य थियो– ‘आस्थाबाट पतन भएको व्यक्ति जस्तो फटाहा इसाई अरू कोही हुँदैन ।’ यो वाक्य फटाहा इसाई अरू कोही हुँदैन । यो वाक्य राजा हेनरी आठौँप्रति लक्षित सम्झियो ।
त्यसैको रिसमा राजाले मोरलाई पुस्तक, कापी, कलमजस्ता अध्ययन सामग्रीबाट वञ्चित गरे । मोरकी जेठी छोरी बारबरा आफ्ना प्रिय बुबालाई भेट्न जान्थिन् र गहभरि आँसु राख्दै राजालाई बेलायतको चर्च प्रमुखको रूपमा स्वीकार्न बारम्बार याचना गर्थिन् । तर, उनले आफ्नो विश्वासको विरुद्ध नजाने विषयमा अडान छोडेनन् । छोरी मार्गरेटलाई लेखेको अन्तिम पत्रमा मोरले लेखे– प्रिय छोरी बिदा, स्वर्गमा हामी खुसीसाथ भेट्न हामी दुवै ईश्वरसँग प्रार्थना गरौँ ।”
७ मई १५३५ मा वेस्टमिनिस्टर न्यायालय भवनमा थोमस मोरको विरोधमा मुद्दाको सुनुवाइ भयो । सुरुमा मोरलाई झुन्ड्याएर मार्ने सजाय दिइयो । पछि टाउको काटेर मार्ने फैसला सुनायो । तर, मृृत्युदण्डले मोरको दृढतामा कुनै प्रभाव परेन ।
६ जुलाई १५३५ मा उनी वधशाला लगिए । उनी त्यहाँ शान्त र दृढ देखिन्थे । टाउको काट्ने दुःखी जल्लादलाई उनले सान्त्वना दिँदै भने, “आफ्नो भावुकतालाई पन्छाऊ, आफ्नो कर्तव्य पूरा गर्न नडराऊ ।” आफ्नो टाउको अचानोमा राख्नुभन्दा पहिले आफ्नो स्वाभाविक ठट्यौली शैलीमा भने, “पख, मेरो दा¥हीलाई म एकातिर राख्छु, त्यसले कुनै राजद्रोह गरेको छैन ।”
मोर रोमन चर्चको आध्यात्मिक सम्प्रभुताप्रति समर्पित थिए र अन्तिम क्षणसम्म त्यसमा उनी अडिग रहे । क्याथोलिक युरोपले उनको गहिरो धार्मिक आस्था, उत्साह, अजेय साहस र सिद्धान्तप्रतिको निष्ठालाई ठुलो प्रशंसा ग¥यो । सन् १९३५ मा अर्थात् ४०० वर्षपछि पोप पायस एघारौँ (Pius XI) ले मोरलाई सन्त घोषणा गरे ।
थोमर मोर एक दार्शनिक, काल्पनिक, समाजवादी, प्रखर चिन्तक र प्राज्ञ थिए । उनी एक सल्लाहकार, राजदूत, सक्षम प्रशासक र नैतिकवान न्यायाधीश थिए । आफ्नो बुद्धि र बलले भ्याएसम्म उनले आफ्नो देशको सेवा गरे । आफ्नो आस्थामा अटल रहने उनी एक तर्कशील प्राणी एवं स्पष्ट वक्ता थिए ।
नेपालीमा एउटा उखान छ – दरबारमा पस्नु गा¥हो छ, तर त्यहाँबाट बाहिर निस्कनु झन् गा¥हो छ ।
थोमस मोरले ‘कल्पनालोक’ मा राजा, राजकुमार, दरबार, सल्लाहकारहरू र माथिल्ला व्यक्तिहरूको सोच र व्यवहारबारे प्रस्ट बताएका छन् । यो बेलायतको राजदरबारको मात्रै होइन संसारका सबै निरङ्कुश राजा र राजतन्त्रहरूको गुण र दोष उस्तै हुन्छन् । त्यही दोषको कारण संसारमा जहाँतहीँ प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र र जनवादको उदय भएको हो ।
माथिल्लो वर्ग वा मुठीभर परिवारको स्वार्थ, अहम्, हठ, अपारदर्शिता र अरूको कुरामा शङ्का गर्ने प्रवृत्ति नै निरङ्कुश राजतन्त्रका खराबी हुन् । त्यसैको विरोधमा प्रजातान्त्रिक आन्दोलन अगाडि बढ्ने गर्छ ।
बेलायतका सुकरात (सोक्रेटस) थोमस मोरको ‘कल्पनालोक’ दुवै भाग ल्याटिन भाषामा छापिएको थियो । सन् १५३५ मा उनलाई मृत्युदण्डको सजाय भयो । उनको ज्यान सजायको १६ वर्षपछि ‘कल्पनालोक’ को अङ्ग्रेजी अनुवाद छापियो । अङ्ग्रेजी अनुवाद गर्ने राल्फ रोविन्सोन थिए ।
मोरको ‘कल्पनालोक’ लाई प्रेरणा दिने स्रोत इरासमसको ‘मूर्खताको प्रशंसा (Erormus Work the praise of folly) बताइन्छ ।
‘कल्पनालोक’ मा थोमस मोरले ‘स्वतन्त्र’ मानिस र दास वा अर्धदासलाई स्थान दिएका छन् । यसको अर्थ उनले दास युगबाट मुक्त समाजको कल्पना गर्न सकेका थिएनन् ।
साथै उनले नगरलाई सफा राख्न फोहरलाई खोलामा बगाउने कल्पना गरेका थिए । अर्थात्, उनले ‘उपचार पोखरी’ को कल्पना गरेका थिएनन् ।
त्यस्तै, त्यस समाजमा उनले ‘पशु वधशाला’ को पनि कल्पना गरेका थिएनन् ।
कम्पासको आविष्कारले समुद्री यात्रामा सहयोग पुगेको, त्यसबेलाका जहाज र पत्ता लगाएका देशहरू, यात्रा वर्णनहरू र त्यसबेलाका लोकका मिश्रित वर्णहरू, राजा–महाराजा, राजाका सल्लाहकारहरू तथा दरबारको चाटुकारी, चोरलाई कडा सजाय दिनुभन्दा काममामको बन्दोबस्त गर्नुपर्नेजस्ता विषयमा ‘कल्पनालोक’ अगाडि बढ्छ । सिपाही र डाकुमा फरक छैन ।
Leave a Reply