भर्खरै :

‘सपना–सुन्दरी’ बेथितिविरुद्ध घोचपेच गरिएको खण्डकाव्यसङ्ग्रह

‘सपना–सुन्दरी’ बेथितिविरुद्ध घोचपेच गरिएको खण्डकाव्यसङ्ग्रह

नेपाली साहित्यको काव्याकाशमा कवि श्रीराम पौडेल ‘उदासी’ को खण्डकाव्यसङ्ग्रह ‘सपना–सुन्दरी’ अन्याय, असमानता, मनपरीतन्त्रको विरोधमा लेखिएको कृति हो । ‘सपना–सुन्दरी’ कृतिभित्र जीवनजगत्को दर्शन छ† दृष्टिकोण छ । सामाजिक, आर्थिक र राजनीतिक बेथितिविरुद्ध प्रहार गरिएको यो कृति सरल, सरस भएर पनि बोझिलो छ । काव्यमा डुवेपछि जो कोही पाठकलाई पनि जागरुक, सिर्जनशील र संवेदनशील बनाउँछ । सर्जकले काव्य सिर्जनाबाट नवीन मार्ग तयार गर्छ† नवीन प्रयोग र नवीन चिन्तनले नै काव्य यात्राको मार्गलाई यो कृतिले चौडा बनाएको छ । सही विचारले समाजको गतिलाई अघि बढाउँछ । समाजले नै व्यक्ति व्यक्तिलाई सत्मार्गमा हिडाउँछ । ‘सपना सुन्दरी’ खण्डकाव्यसङ्ग्रह समाजमा देखिएका, भोगिएका तीता–मीठा यथार्थ अनुभवलाई नढाँटिकन लेखिएको कृति हो ।
कवि पौडेलको यो काव्य कृति सन्देशमूलक, दिशा निर्देश गरिएको ज्योतिपुञ्ज भने पनि फरक पर्दैन । कृतिमा ‘आह्वान’ ‘सपना–सुन्दरी’, ‘नेतामहात्म्य’, ‘मार्ग चिन्तन’, ‘पुत्रलाई पत्र’ र ‘साथी’ गरी ६ वटा खण्डकाव्य सङ्ग्रहित छन् । ‘आह्वान’ मा राजनीति, अर्थ नीति, शिक्षा नीति र धार्मिक नीतिका सन्देशमूलक काव्य छन् । करुणै करुणाले भरिएको ‘सपना–सुन्दरी’ खण्डकाव्यमा एक अवला नारीप्रति एक उदारमनका युवकले देखाएको आदर्श माया ममताको तस्बिर छ । ‘नेतामहात्म्य’ मा नेता या शासकहरूप्रति घोचपेच गरिएको छ भने ‘मार्ग चिन्तन’ मा जीवन र जगत्बारे चर्चा गरिएको छ । ‘पुत्रलाई पत्र’ मा देश पे्रमको भावना उजागर गरिएको छ । ‘साथी’ मा साथीहरू आदर्शाेन्मुख हुनुपर्छ भन्ने भावको सचित्र छ ।
‘सपना–सुन्दरी’ कृति २०६४ सालमा प्रकाशित भएको हो । सङ्ग्रहभित्रका शीर्षकहरूमध्येको एउटा खण्डकाव्य ‘सपना–सुन्दरी’ हो । एक सय श्लोकमा रचिएको ‘आह्वान’ कृतिको पहिलो खण्डकाव्य हो ।
‘आह्वान’ काव्यमा देशको ढुकुटी ऐøयासी जीवन बिताएर खर्च नगर्न, कपटी राजनीति नगर्न, धर्मको नाउँमा जातीय द्वन्द्व ननिम्त्याउन, देश निर्माणलाई आफ्नो कर्तव्य ठान्न, कुनै जालसाजी र षड्यन्त्र नगर्न, अपराधीहरूलाई कारबाही गर्न, द्वैधचरित्र नअँगाल्न, शिक्षा, स्वास्थ्यको राम्रो व्यवस्था गर्न आग्रह गरिएको छ । गाँस–बासको व्यवस्था भएन भने जनता विद्रोह गर्न पछि नपर्ने खबरदारी गरिएको छ ।
‘आह्वान’ खण्डकाव्यमा लेखिएको छ –
स्वार्थलाई सबै त्यागे हुन्छ, आनन्द यो मन
त्यागभन्दा ठुलो केही छैन है अरु क्यै धन
स्वार्थीहरूको यो समाजमा व्यक्तिगत स्वार्थ नत्यागेसम्म समाजको विश्वास जित्न सक्दैन । स्वार्थ नै झगडा र अशान्तिको जग हो । जनमुखी नीति बनाउनु पहिलो आफ्नो कर्तव्य हो । हरेक युवाहरू जिम्मेवारीका साथ देश निर्माणमा जुट्नुपर्ने आग्रह गरिएको छ ।
जालसाजी र षड्यन्त्रको चिरफार गरी अपराधीहरूलाई सजाय दिनुपर्ने भावनाको एउटा अर्को कवितांश छ –
जालसाजी र षड्यन्त्र दुवैलाई चिरीकन
अपराधीहरूलाई दिऊँ दण्ड मिलिकन ।
भ्रष्टाचारीहरूलाई सर्वश्वहरण गरी
देश बाहिर फ्याँकेमा हुनेछ न्याय त्यो घडी ।
कविमा सम्पदा संरक्षणका चेत भएको देखिन्छ ।
जति छन् देशमा हाम्रा धर्म औ मठ मन्दिर
संरक्षण गरौँ हामीले मिलेर एक आपस ।
देशको एउटा दुर्दशा आर्थिक पारदर्शी नहुनु पनि हो । विदेशी शक्ति राष्ट्रले देशको निम्ति कहिले कति केको निम्ति सहयोग गरेको हो सोको लेखाजोखा हुँदैन ।
पारदर्शी जहाँ छैन भ्रष्टाचार छ व्यापक
कपटी राजनीतिज्ञले देश खोक्रो बनाउँछ ।
देशको ढुकुटीबाट तलब, लिएर सर्वश्व स्वाहा गर्ने र पदको दायित्व भुल्नेहरूलाई भनिएको छ –
देशको ढुकुटीबाट तलब भत्ता लिइकन,
खाएको नुनको सोझा गर्नु कर्तव्य
होइन ?
दोस्रो खण्डकाव्य हो – ‘सपना–सुन्दरी’
गाउँबस्ती, प्राकृतिक छटा, नारी चरित्र, धर्म संस्कृति, सभ्यता, विकृति र उच्छ्ङ्खल क्रियाकलापको चर्चा गरिएको यो कृतिमा १४६ श्लोक रहेका छन् ।
कसैमाथि कुनै बेला आपत्विपत् पर्दा सहयोग गर्नुपर्ने मानवीय धर्म भुल्न नहुने, वास्तवमै मान्छेको मन, हृदय पवित्र हुनुपर्ने, पच्छिमेली समाजमा स्वतन्त्रताको नाउँमा छिनछिनमा पति फेर्ने प्रवृतिको निन्दा गरिएको छ । कवितामा लेखिएको छ –
मानव धर्म हो, मेरो प्रभुसामु खडा हुनु
सुख औ दुःखको बेला हाँस्नु हो अथवा रुनु
पच्छिमी विश्वमा हेर नारी स्वतन्त्रता कति ।
स्वेच्छाले फेर्ने गर्छन् नारीले आफ्ना पति ।
कवितामा बहुविवाह गर्ने लोग्नेहरूप्रति छेड हान्दै नारीहरू बहुविवाहप्रति सचेत हुन आग्रह गरिएको छ । समाजमा तुच्छ काम गरेर अपहेलित हुने होइन परिवर्तनको निम्ति सबैले काम गर्नुपर्ने र समाज परिवर्तनमा जागृत हुन जोड दिइएको छ ।
काम नगरिकन जुवा तास खेल्ने युवाहरूप्रति कटाक्ष गरिएको यस काव्यमा काम गरेर जिउनुपर्ने पाठको चर्चा छ । जाँड रक्सीमा पल्केर भोकै सुत्ने जँडयाहा, आवारा जीवन बिताउने फिरन्ते, मुखले ठिक्क पारेर व्यवहारले अरुलाई पीडा दिने नकच्चराहरूको प्रवृत्तिप्रति व्यङग्य गरिएको छ । नारी सक्षम, सबल र चनाखो भएमा समाजका विसङ्गति र विकृतिबाट मुक्त हुने शङ्खघोष गरिएको छ ।
सक्षम नारी भए त्यस्ता धोक्रेठ्याक लगाउँदै
घर बाहिर फ्याकिन्थे स्यालझैँ नै भगाइँदै
अन्यायविरुद्ध आवाज बुलन्द नगरी हुन्न भने सन्देश कवितामा चित्रण गरिएको छ । माया, प्रेम, मृत्यु घरी घरी किन्न पाइँदैन† हरेकले आ–आफ्नो कर्तव्य पूरा गर्नुपर्छ† समाजमा भिजेर काम गर्दा सबैको साथ र सहयोग पाइन्छ । अँध्यारो हटाउन उज्यालो छर्नुपर्छ† गलत काम नगराउन पनि सही काम गर्नुपर्छ ।
‘नेतामहात्म्य’ अर्को खण्डकाव्य हो । यस काव्यमा हरेक नागरिक कर्तव्यपरायण बन्न, आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पालना गर्न, सत्तामा रहँदा प्रजातन्त्र र स्वतन्त्रता देख्ने र नहुँदा नदेख्ने द्वैधचरित्रको सत्तामुखी राजनीति गर्ने शासकहरूप्रति व्यङ्ग्य गरिएको छ ।
आदर्श छाँटेर अविवेकी र स्वार्थी नेताहरू, मानव धर्म भुलेर लोभलालचमा फस्नेहरू, ढाँटी र घुस खाएर पैसा असुल्नेहरू, न्याय, नैतिकतालाई कुल्चेर पालैपालो, बाँडीचुँडी गर्नेहरू, गरिबको मत लिई गरिबमाथि नै कुल्ची शक्तिशाली बनेका अधर्मीहरूको कुकर्मको निन्दा र भत्र्सना गरिएको छ । कवितामा लेखिएको छ –
शक्तिशाली बनेकै छौ मत पाई गरीबको
हाम्रै भान्सा भइहाल्यो वर्षौँ वर्ष करीबको
सत्ता प्राप्त भएमात्र प्रजातन्त्र हुनेछ यो
सत्ताबाहिर बस्तामा प्रजातन्त्र हराइ गो ।
बहुमत छँदै छ, कसले के गर्नसक्छ र, मौकामा हीरा फोर्ने यस्तै बेला हो भनी सामन्त चरित्रका नेताहरूको चरित्रप्रति काव्यमा यसरी भनिएको छ –
बहुमत छँदै हाम्रो कसले के गर्न सक्छ
पाएका छौँ अधिकार सकेको लुट्नुपर्दछ ।
बहुमतको अगाडि जतिसुकै विरोध गरे पनि कदर नगर्ने, सपना र आशा बाँडेर झूटको खेती गर्ने, डर, धम्की र त्रासमा शक्तिशाली बनेका शासकहरूमा विश्वास गर्ने, देशमा परिवर्तन गरिहाल्ला भने आशाको किरण नदेखिएकोमा कवि पौडेल देशले ठुलो दुर्गति भोग्ने हो कि भन्नेमा चिन्तित छन् ।
भ्रष्टाचार गरेर धनदौलत जम्मा गर्न पल्केका नेताहरूप्रति उनी प्रतिप्रश्न गर्छन् – धनी सधैँ धनी हुने कस्तो समानता हो ? गरिबमात्र होइन देशै ऋणमा डुवाउने कस्तो प्रजातान्त्रिक सरकार हो ?
विकासको नाउँमा लाज पचाई माग्ने प्रवृत्तिको निन्दा गरिएको काव्यमा ठुलाबडालाई ऐन कानुन नलाग्ने, बजेट आ–आफ्नो क्षेत्रमा लाने, चाकरी चुकडी गरेर पदमा पुग्ने, आ–आफ्नै दलगत र व्यक्तिगत स्वार्थको डम्फु बजाउने, हक अधिकार र परिवर्तनको निम्ति ज्यानको बाजि राख्ने सहिदहरूको रगतमा होलि खेल्ने, देशको डरले विदेशमा सम्पत्ति थुपार्ने, गरिबलाई पाताले र धनीलाई माथि उठाउने शिक्षा नीति, देशको जलस्रोत अरु देशलाई सुम्पने, देशको सम्पदा विदेशीको हातमा दिएर राज्यकोषमा रजाइँ र दाइँ गर्ने नेताहरूको प्रवृत्तिको चिरफार गरिएको छ ।
जलस्रोतमा पनि हाम्रो यही नीति अमूल्य छ
विदेशी कम्पनीसँग सम्झौता गर्नुपर्दछ ।
देशको सम्पदा जम्मै विदेशीको छ हातमा
नेपाली जनता बस्छन् टुकी बालेर रातमा
देशको शान्ति खस्किरहेको, दुःख गर्ने किसानकै बेहाल रहेको, जताततै कमिसन चलेको, पद पैसा भएपछि मूर्ख विद्वान् बन्ने, कुर्सीको रोगले देश भत्ताभुङ्ग भएको, भोलिको भविष्यबारे चिन्तित नभएको नेताहरूको कहालीलाग्दो स्थिति देखेर चिन्तित कवि पौडेल देशको स्वाभीमान जोगाउन जनता नै काँधमा काँध, हातमा हात मिलाएर अघि बढ्नुपर्ने देशभक्तिको भावना पोखिएको छ ।
‘मार्गचिन्तन’ कविता पनि सन्देशमूलक नै छ । बाल्यकाल, युवा काल र प्रौढ कालको जनजीवनबारे उजागर गरिएको यो कवितामा प्राकृतिक प्रकोप, बाढी पहिरो, भूकम्पले जनजीवन अस्तव्यस्त पारेको, मिथ्या भावना बोकी भौतिक सुख सयलमा जीवन बिताएको, विवेक र ज्ञानलाई बन्धक राखेर न्याय खोज्नेहरूमाथि व्यङ्ग्य गरिएको छ ।
शुद्ध मनले समाजको सेवा गर्नुको सट्टा स्वार्थ र जालझेलले सेवा भावना मृततुल्य हुन पुगेकोमा चिन्ता व्यक्त गर्दै कवि पौडेलले अर्काको आश्रित भएर आशामुखी बन्ने, उद्योग, व्यवसाय या काम नगरी प्राण धान्ने, नीच कर्म, उँचो कर्म र कर्तव्य कर्मको भेद नदेख्नेहरूप्रति पनि कवितामा घोचपेच गरिएको छ ।
यसैले काव्यमा कवि पौडेलले मार्गनिर्देशन गर्दै अरुलाई खुवाउन र बचाउन श्रम गर्नुपर्छ, मानवको पीडा हर्ने औषधि पनि मानव नै हो† सबैको उत्थान गरी धर्ती जोगाउनुपर्छ† बाचुञ्जेल देश र जनताप्रति समर्पित र जिम्मेवारीबोध हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेका छन् ।
‘पुत्रलाई पत्र’, ‘सपना–सुन्दरी’ खण्डकाव्यको अर्काे लामो कविता हो ।
देशका सन्तानलाई आफ्नै सन्तान सम्झी कवि पौडेल देशभक्त बन्न आग्रह गर्दै काव्यमार्फत भन्छन्, धनको लोभमा अर्काको देशमा किन जान्छौ ? अर्काको दास भई परिश्रम किन गर्छाै ?, तिम्रै परिश्रम, सीप र मेहनतले दलालहरू मोटाउँछन्, श्रम शोषण गर्छन् । तिमी विदेशमा अलपत्र पर्छाै । अनेक ठगबाट ठगिएको हुन्छ । घरबास बेचेर, बन्धक राखेर युवाहरू बिदेसिएका छन्† देशमा युवाहरू कसरी बेरोजगार भए ? धनसम्पत्तिको प्रलोभनमा फसेर युवाहरू ठगीमा परे, फसे । म्यानपावरको विश्वासघातमा बदलेर घरबास चौपट भएको देशको यथार्थ तस्बिर काव्यमा चर्चा गरिएको छ । कवि पौडेल सुझाव दिँदै भन्छन्, विदेशीको अगाडि नझुक्ने नेपालीहरू देशको स्वाभिमान र स्वाधीनता उँच पार्न, देशमै विकासको ढोका खोल्न फर्कनुपर्छ । ज्ञान विज्ञानको सीप स्वदेशमै लगाउनुपर्छ । अँध्यारो गाउँ बस्तीलाई उजाड होइन हराभरा पार्नुपर्छ । गाउँ बस्तीमा आमाबाबु सन्तानको सन्तापमा रुँदै छन् । बिहान–बेलुका छाक टार्न उनीहरूलाई मुस्किल छ । आफ्नो पसिना देशको निम्ति बगाउन सकियो भने मान, इज्जत, मर्यादा पाउँछ । यही उद्योग, व्यापार, कारखाना खोलेर देशको गरिबी हटाउनुपर्छ ।
जनताको पीर मर्का बुझी लाग्न, दुर्गन्धी भ्रष्टको गन्ध हटाउन सबै नेपालीको छातीमा राष्ट्रिय भाव हुनुपर्छ, नेपालको माया सबैले गर्नुपर्छ, विदेशीको दासभन्दा स्वदेशको सेवा नै ठुलो हुन्छ, अहिले विश्वमा जताततै गडबडी छ, शान्ति खोज्नुपर्ने बेला आएको छ । अतः सबै सन्तानले देशको प्रिय झन्डा फरफराइरहनुपर्छ ।
‘सपना–सुन्दरी’ खण्डकाव्यको अन्तिम कविता ‘साथी’ हो । यो कविता खण्डकाव्यको छोटो कविता हो । ‘साथी’ कवितामा बिनास्वार्थ दुःखमा साथ दिने व्यक्ति अमर (पूजनीय) हुन्छ† सबैको हित गर्दै आफ्नो कीर्ति फिजाउनुपर्छ† मित्रले मित्रलाई विश्वासमा घात गरे मित्रता तोडिन्छ† आफ्नो स्वार्थ पूरा गर्न बनेको साथी पछि टाढिन्छ† विवेकहीन व्यक्तिको मान पछाडि पर्छ† बोलीमा अहङ्कार होइन शिष्टता र नम्रता चाहिन्छ भनिएको छ । ५१ श्लोकमा रचित यो काव्यमा साथीको कर्तव्यबारे बोध गराइएको छ ।
यसभित्रका प्रत्येक काव्यलाई खण्डकाव्त्न्दा लामो कविता भन्न सकिन्छ । अनुष्टुप र मालिनी छन्दमा लेखिएको यो कृतिमा युवा कविको सौन्दर्य चेत भएको पाइन्छ । भाव सौन्दर्य र शब्द सौन्दर्य भेटिन्छ । काव्यमा कहीँकतै भक्तिभाव र ईश्वर भक्तिको भावना भए पनि परिवर्तनकै स्वर पाइन्छ† परिवर्तनको आवश्यकताबोध गरिएको छ । काव्य सर्जक पौडेलको अर्काे त्यस्तै परिवर्तनको चाहना बोकेको कृति प्रकाशन गर्ने विश्वास एक साहित्यानुरागीले गर्नु स्वाभाविक हो । कविता सन्देशमूलक, मार्गनिर्देशमूलक, शिक्षाप्रद र देश र समाजप्रति समर्पित छ । लेखकको काव्यले कवि पौडेललाई प्रगतिशील या परिवर्तनकारी कविको रूपमा चिन्न सकिन्छ ।
महाकाव्यपछि काव्यको अर्को रूप खण्डकाव्य हो । महाकाव्यमा जीवन र जगत्को विराट रूप प्रस्तुत गरिएको हुन्छ भने खण्डकाव्यमा जीवन र जगत्को कुनै एक पक्षको चित्रण र विश्लेषण गरिएको हुन्छ । कथा, पात्र वा भाषा शैली, वातावरण र जीवनदृष्टि खण्डकाव्यका तत्व हुन् । खण्डकाव्यमा कथात्मक गठन र गुम्फन हुन्छ । काव्यमा प्रयुक्त कथातत्वले समष्टि प्रभावको आविर्भाव हुन्छ ।
खण्डकाव्यलाई काव्यत्व प्रदान गर्ने अर्को आवश्यक तत्व पात्रको व्यक्तित्व हो । खण्डकाव्यमा कथा तत्व पात्रको व्यक्तित्व हो । खण्डकाव्यमा कथा तत्वको सूत्रपात गर्ने आवश्यक भूमिका चरित्रको हुन्छ । काव्यको पात्र सशक्त, जीवन र संवेद्य हुनु आवश्यक छ ।
खण्डकाव्यमा प्रयोग भएको भाषा शैली सहज, सरल र सरस छ । खण्डकाव्यको आफ्नो सीमा र परिवेश सुहाउँदो भाषा शैली हुन्छ । वाक्य र शब्द विन्यासमा कलाकारिता र प्रभावकारिता देखिन्छ । खण्डकाव्यमा छन्दको प्रयोग अनिवार्य मानिँदैन तर, छन्दमा पनि लेखिएको हुन्छ ।
कथा तत्वलाई कलात्मक र प्रभावात्मक बनाउन वातावरणको प्रमुख भूमिका हुन्छ । वातावरणको बाह्य र आन्तरिक पक्षको प्रस्तुतिले काव्य सजीव र संवेद्य हुन्छ ।
जीवन दृष्टि साहित्य जीवनकै अभिव्यक्ति हो । काव्यका घटना, कथा, चरित्र र वातावरणमा घोलेर नै जीवन दृष्टि अभिव्यक्ति हुन्छ ।
खण्डकाव्यको पनि उद्देश्य हुन्छ । खण्डकाव्यले कुन वर्ग या समाजको प्रतिनिधित्व गरिरहेको छ भन्ने थाहा हुन्छ । समग्रमा खण्डकाव्यकारको विचार कुन वर्गप्रति लक्षित छ भन्ने कुरा व्काव्यमा व्यक्त विचारले थाहा हुन्छ । कुनै न कुनै विचारप्रति लक्षित भएरै खण्डकाव्य लखिएको हुन्छ ।
‘सपना – सुन्दरी’ खण्डकाव्यसङ्ग्रह विचारबाट प्रभावित भएको प्रगतिशील देखिन्छ । विचारअनुसारको उद्देश्य जनतासमक्ष पु¥याउन नै साहित्यकारहरूले काव्य रचना गरेका हुन्छन् । ‘सपना– सुन्दरी’ खण्डकाव्यसङ्ग्रह जनताको विचार बोकेको कृति हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *