लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
देशको राजनीति स्वच्छ नभएसम्म, राजनीति गर्ने नेता र शासकहरू इमानदार, देशभक्त, दूरदर्शी नभएसम्म देशमा सुशासन सम्भव छैन । शासक दलका नेताहरूको अकर्मण्यताले नै देशको स्थिति बेहाल भएको हो; झूटको राजनीतिले गर्दा, मानव कर्तव्य बिर्सिदिँदा देशमा उच्छृङ्खल र छाडा बढेको हो । जता हेर्यो त्यतै देशको स्थिति भताभुङ्ग छ । यही कारण सरकारले सुशासन र जनउत्तरदायी शासनको प्रत्याभूति दिन नसकेको हो; जीवन कष्टकरमात्र, होइन बेरोजगारी वृद्धिसँगै शिक्षा र स्वास्थ्य स्थिति पनि सङ्कटमा पर्दै गएको हो । सरकारले जनभावनालाई आत्मसात गर्न सकेन । शासक दलका नेता र मन्त्रीहरूले बहुमतको सरकार शक्तिशाली छ; कुनै शक्तिले लडाउन सक्दैन भन्नेबाहेक अरू मौलिक परिवर्तन गर्न सकेका छैनन् । गरिब जनताकै मतबाट ‘शक्तिशाली’ या ठुलो दल बनेका नेताहरूले पालैपालो बाँडीचुँडी लिने कसरतमा बाहेक के गरेका छन् ? सरकारमा रहुञ्जेल सबै ठीक देख्ने कति नेताहरू सरकारमा नभएपछि सबै बेठीक भन्न थाल्छन् । सरकारमा छँदा एक थरी मत र नहुँदा अर्को मत राख्ने द्वैधचरित्रका नेताहरू सरकारमा नरहेपछि जनताको बिचमा गएर काम गर्ने बाचा खान्छन् । जनतामाझ गएर जनताको सेवा गर्ने बाचा खाएका ती नै नेताहरू सरकारको चलखेलमा फस्छन्; सरकार ढाल्ने चेष्टा गर्छन् र सत्तामुखी राजनीतिमा हाम्फाल्छन् ।
प्रतिगामी शक्ति कहिले मित्र र कहिले शत्रु हुँदैन । सरकारमा बहुमत पु¥याउन प्रतिगामी शक्तिसँग पनि मिल्न पछि नपर्ने प्रजातान्त्रिक र कम्युनिस्ट भनिने नेताहरू कसरी प्रजातान्त्रिक र प्रगतिशील हुनसक्छन् ? स्वाधीन नेपालमाथि कुनै देशले आँखा गाडेमा, आक्रमण गरेमा ठुलो शत्रुविरूद्ध लड्न देशका अन्य शत्रुहरूसँग मिल्न सकिन्छ । देश जोगाउने काममा देशका सबै शक्तिहरू एक ठाउँमा उभिनुपर्छ† देश प्रेमको भावना देखाउनुपर्छ† त्यसबेला एकताको खाँचो पनि हुन्छ । समाजवादी क्रान्तिको कुरा गर्ने तर सत्ता छोड्न नचाहने पार्टीले कसरी देशमा क्रान्ति गर्छ ? एउटा पार्टीले अर्को पार्टीलाई सत्ताबाट हटाउनु नै मौलिक परिवर्तन होइन; मुख्य कुरा कुनै दलको सरकारको हरेफेर होइन व्यवस्थाको हेरफेर हो । व्यवस्था पुँजीवादी नै छ भने एमालेको सट्टा नेका र नेकाको सट्टा माओवादी केन्द्रको नेतृत्वमा सरकार बने पनि कुनै फरक पर्दैन । पुँजीवादी व्यवस्थाभित्र रहेर क्रान्तिको कुरा गर्नु, व्यवस्था बदल्ने कुरा गर्नु या समाजवादी क्रान्तिको कुरा गर्नु कल्पनाको धुनमा नाच्ने नाचबाहेक अरू हुँदैन ।
शासक दलका नेताहरूले बहुमतको धाक लगाउने होइन† देश र जनताको निम्ति काम गरेर देखाउने हो । डर, धम्की दिएर, निर्वाचनमा फैसाको खोलो बगाएर, लोभलालच देखाएर, सामान बाँडेर, झूटको राजनीति गरेर, भागबन्डा गरेर, चुनावी गठबन्धन गरेर ठुलो दल हुनुको के अर्थ ? देशमा ठुलो परिवर्तन ल्याए पो ठुलो दलको मान हुन्छ; आस्था हुन्छ । शासक दलको काममा शासक दलका नेताहरू नै सन्तुष्ट छैनन्; चित्त बुझेका छैनन् । शासक दलका नेताहरू समानता, न्याय र स्वतन्त्रताको कुरा गर्छन् र देशको मामिलामा कुनै सन्धि सम्झौता नगर्ने फुक्छन् । तर, यस्तो बाचा गर्ने शासकहरूले देशको स्रोत र साधन विदेशीको हातमा सुम्पेका छन् । धनी झन् धनी हुने, ठुलठुला उद्योगी, व्यापारी, व्यवसायीलाई कर छुट दिने तर जनतालाई छुट होइन कर नतिरे जरिवाना गर्ने सरकारको कस्तो समानता ? धनी र गरिबको खाल्डो झन्झन् गहिराइमा पु¥याउने; सामन्त, जमिनदार र पुँजीपतिवर्गको पक्षपोषण र गरिबमाथि शोषण गर्ने, किसानको अहितमा काम गर्ने शासकहरूको कस्तो न्याय ¤
नेका सम्मिलित एमालेको नेतृत्वमा सरकार गठन गरेर देशमा के उपलब्धि भयो ? आ–आफ्नै दलगत स्वार्थको डम्फु बजाएर, आ–आफ्नो जिल्ला या स्थानमा बजेटको पोको लगेर देशमा सन्तुलित विकास कसरी हुन्छ ? भ्रष्टाचारी, कमिसनखोरहरू जोगाउने कानुन बनाएर, सम्भ्रान्तवर्गको रक्षा गर्ने कानुन बनाएर देशमा कसरी सुशासन हुन्छ ? जनतामाथि रजाइँ गर्ने कानुन, मानव तस्कर जोगाउने कानुन च्यात्नुपर्ने आवाज कानुन पढ्ने विद्यार्थीहरूले गर्न थालेका छन् । भुटानी शरणार्थी प्रकरणको मुद्दा कहाँ थन्किएको छ ? सुन तस्करहरू कहाँ थन्किएका छन् । जेलमा कोच्नुपर्ने मन्त्रीहरूलाई धरौटीमा छोडेर देशमा कसरी विधिको शासन हुन्छ ? देशको जलस्रोतमा आँखा गाड्ने, देशको सम्पदा र खनिज विदेशीको हातमा सुम्पिने शासकहरू कसरी प्रजातन्त्रवादी हुन्छन् ? देशको गरिमा नबुझ्ने, देशको अस्तित्वमा आँच पु¥याउने काम कहिले पनि देश र जनताको पक्षमा रहने छैन । यसमा शासकहरू संवेदनशील भएनन्† गम्भीर भएनन् । यो देशको दुर्दशा र विडम्बना हो । परिणामतः देशमा भताभुङ्ग भइरहेको छ ।
Leave a Reply