भर्खरै :

ट्रम्प स्वाभिमानी जनताका साझा शत्रु

अमेरिकी आक्रामक नीतिको संसारको झन्डै सबैजसो मुलुकले विरोध गरिरहेका छन् । आक्रामक नीतिको अन्ध समर्थन गर्ने मुलुकबाहेकका देशलाई संयुक्त राज्य अमेरिकाले कहिले आक्रमण गर्ने, कहिले नाकाबन्दी गर्ने, कहिले आक्रमणको धम्की दिने त कहिले कर लगाउने निर्णय गरेर संसारका स्वाधीन र सार्वभौम देशलाई आतङ्कित, असुरक्षित, विध्वंस पार्ने र नरसंहार गर्ने काम गरिरहेको छ । उनले एक समयमा बाह्य देशका कुनै पनि कम्युनिस्ट पार्टीका सदस्यलाई नभित्याउने उद्घोष गरेका थिए । आफ्नो पक्षमा नउभेका स्वदेशी या विदेशीलाई सताउने† देश निकाला गर्ने, नागरिकता खोस्ने धम्कीसमेत दिन उनी पछि परेनन् । उनको यस्तै अभिमानी, धम्की र महत्वाकाङ्क्षाको कारण निर्वाचनमा पैसाको जोहो गरेका इलन मस्कसमेत चिढिए । उनले ट्रम्पको विरोध स्वरूप ‘अमेरिका पार्टी’ खोले । गोरा र काला जातिबिच विभेद गर्ने, काला जातिलाई दमन गर्ने, सुविधा नदिने ट्रम्प वास्तवमा संसारका स्वाभिमानी जनताका साझा शत्रु हुन्† उनको क्रियाकलाप सत्य र न्यायप्रेमी जनताको पक्षमा छैन । संसारका स्वाधीनताप्रेमी र देशभक्त जनताको यही भनाइ छ ।
ब्राजिलको रियो दि जेनेरियोमा आइतबार विकासशील देशहरूको समूह ब्रिक्सको १७ औँ शिखर सम्मेलन भयो । उक्त सम्मेलनले इरानमाथिको सैन्य हमला अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको घोषणा ग¥यो । त्यस्तै, इजरायलद्वारा गाजामा भइरहेको आक्रमणको पनि ब्रिक्सले निन्दा ग¥यो । अमेरिकी नीतिको कारण विश्व व्यापार अस्थिर भएको बेला ब्रिक्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक आर्थिक नीतिको आलोचना गरेपछि ट्रम्पले ब्रिक्स नीतिको समर्थन गर्ने देशलाई १० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने चेतावनी दिए । हरेक देश र देशका शासक या राजनीतिक दलहरूले आस्थाको राजनीति गर्न पाउँछन् । आस्थाको राजनीति गरेको र कुनै देशको आक्रामक नीतिलाई अन्ध समर्थन नगरेको निहुँमा मनपरी ढङ्गले भन्सार शुल्क लगाउने ट्रम्पको नीति र निर्णय निन्दनीय छ ।
आफूले अरु देशमा आक्रमण गर्न पाउने, आक्रमणमा सहयोग गर्ने, हातहतियार बेच्ने, दशकौँदेखि नाकाबन्दी गर्ने तर त्यसको विरोध गर्न नपाउने ट्रम्पको नीति र कार्यशैली शक्ति राष्ट्रको अहङ्कार हो† अभिमानी हो । आफूले भएभरको शक्ति प्रयोग गरेर अरु देशमा आक्रमण गर्ने, देश ध्वस्त पार्ने, आणविक क्षमता बढाउने तर अरु देशले प्रतिरक्षा गर्न नपाउने, प्रतिरक्षाको निम्ति आणविक क्षमता विकास गर्न नपाउने यो अमेरिकी प्रशासनको कस्तो भेद ! संसारका स्वाधीन मुलुकहरू अमेरिका र अमेरिकी जनताका विरोधी होइनन्; बरु ती मुलुकहरू आक्रामक अमेरिकी नीतिका विरोधी हुन् । अमेरिकी साम्राज्यवादले इराक, इरान, अफगानिस्तान, लिविया, सिरियामा आक्रमण गरेर, सहयोग गरेर राष्ट्रप्रमुखहरूको हत्या गरायो† फाँसी दिलायो; देश ध्वस्त पा¥यो । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र समाजवादी देश क्युवामा लामो समयदेखि लागु गरेको आर्थिक नाकाबन्दी अमेरिकाले फिर्ता लिएको छैन । के यो प्रजातन्त्रविरोधी कदम होइन ? शान्ति, सुरक्षा र प्रजातन्त्रको नाउँमा अमर्यादित, अमानवीय, अप्रजातान्त्रिक र हस्तक्षेपकारी नीति अँगाल्ने अमेरिकाको साम्राज्यवादी नीति एकदिन असफल हुनेछ; पतन हुनेछ र शान्ति बिथोल्ने आक्रामक देश अमेरिका विश्वसामु नाङ्गिने छ । संयुक्त राष्ट्र सङ्घलाई तिर्नुपर्ने अनिवार्य वार्षिक बक्यौता अमेरिकाले अहिलेसम्म तिरेको छैन । वार्षिक बक्यौता रकम नपाएपछि संयुक्त राष्ट्र सङ्घले संसारमा शान्ति सुरक्षा दिन नसक्ने; आपत्विपत्मा सहयोग गर्न नसक्ने भनी चिन्ता व्यक्त गरेको छ । सम्भवतः अमेरिकी सहयोगमा चलेकै कारण अमेरिकाले राष्ट्र सङ्घलाई आफूले प्रयोग गरिरहेको हो; कठपुतली बनाइरहेको हो । अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको खुलमखुला उल्लङ्घन गरे पनि अमेरिकी त्यो नीति र कार्यविरुद्ध संयुक्त राष्ट्र सङ्घले चुइँक्क बोल्न सकेको छैन; खबरदारी गर्न सकेको छैन । अमेरिकी खर्बपति इलन मस्कले अमेरिकामा तेस्रो राजनीतिक दलको आवश्यकता भएको भन्दै ‘द अमेरिका पार्टी’ खोल्नु ट्रम्पकै विरोधमा हो । अमेरिकामा दुई पार्टीले भ्रष्टाचार र अनियमितता गरेको भन्दै मस्कले अर्को पार्टी खोलेका छन् । ट्रम्पको राष्ट्रपतीय चुनावमा सबभन्दा बढी आर्थिक सहयोग गर्ने मस्क नै अहिले उनकै विरोधमा अघि सरे । ट्रम्पले अघिल्लो साता मस्क राजनीतिमा आए उनका सारा सरकारी ठेक्का बदर गर्ने धम्की दिएका थिए । ट्रम्पको यो अभिव्यक्तिले पनि इलन मस्क राजनीतिमा प्रदेश गर्न लागेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ ।
पैसाको भरमा राजनीति सही ढङ्गले अघि बढ्छ भन्ने होइन; इलन मस्कको पार्टीले ट्रम्पभन्दा राम्रो काम गर्छ भन्ने विश्वास अमेरिकी जनतालाई छैन । ट्रम्पले न्युयोर्क सहरको मेयर पदका लागि हुने निर्वाचनमा डेमोक्राय्ट उम्मेदवार बने ममदानीलाई उनको अमेरिकी नागरिकता खारेज गर्ने चेतावनी दिए । उनले ‘देशमा हामीलाई कम्युनिस्ट चाहिँदैन; हामीमाझ कोही कम्युनिस्ट छ भने म राष्ट्रको तर्फबाट निगरानी राख्नेछु भनी तर्साउने काम गरे । आफूलाई प्रजातान्त्रिक समाजवादी भन्ने ममदानीलाई ट्रम्पले बारम्बार ‘कम्युनिस्ट’ भन्दै आएका छन् । सहरलाई ‘आतङ्कित बनाउन दिन्न’ भनेको आधारमा आफूलाई पक्राउ गर्ने, नागरिकता खोस्ने र हिरासत शिविरमा राख्ने धम्की दिएको ममदानीको भनाइ छ । यसलाई अमेरिकी राजनीतिक विश्लेषकहरू विरोधीलाई धम्की दिन प्रयोगमा ल्याइएको गैर जिम्मेवारपूर्ण बयानबाजी भएको दाबी गर्छन् । कसैलाई धम्की दिएर, शक्तिको बलमा दबाएर गरिने राजनीति कहिल्यै सद्दे हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *