भर्खरै :

नगर प्रमुख सुनिल प्रजापतिसँग बासुका कक्षा ८ का विद्यार्थीहरूको भेटघाट तथा अन्तरक्रिया

नगर प्रमुख सुनिल प्रजापतिसँग बासुका कक्षा ८ का विद्यार्थीहरूको भेटघाट तथा अन्तरक्रिया

भक्तपुर, ३० असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बासु माध्यमिक विद्यालयमा कक्षा ८ ख्वपको पहिचान विषय अध्ययनरत विद्यार्थीहरूको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले स्थानीय पाठ्यक्रम निर्माण गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै भक्तपुरको भाषा, लिपि, सम्पदा, भूगोल, राजनीति आदिबारे विद्यार्थीहरूलाई सानैदेखि अध्ययन गराएर अरूसँग नभएको ज्ञान प्रदान गर्ने उद्देश्यले पाठ्यक्रम निर्माण गरेको बताउनुभयो ।
विद्यार्थीहरूलाई आफ्नो शैक्षिक जग मजबुत बनाउन आफूले रोजेको विषयमा ध्यान केन्द्रित भएर अध्ययन गर्न प्रेरित गर्दै उहाँले घोकन्त्ते शिक्षालाई निरुत्साहित गर्दै लानुपर्ने बताउनुभयो ।
आफू अध्ययनरत विद्यालय र शिक्षकप्रति जहिल्यै सम्मान भाव राख्नुपर्ने बताउँदै उहाँले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगसँगै व्यवहारिक ज्ञान हासिल गर्न अनुरोध गर्नुभयो ।
भक्तपुर नपाले देकोचामा अरनिको सभाभवन निर्माण कार्य अगाडि बढाइरहेको बताउँदै उहाँले विद्यार्थीको कल्पनाशीलताले नयाँ नयाँ प्रविधिको विकास हुने बताउनुभयो ।
सफलता र असफलता दुवैबाट पाठ सिक्दै अगाडि बढ्न मार्गनिर्देश गर्दै आफ्नो समाज र देशप्रतिको माया र जिम्मेवारीबोधलाई सधैँ मनन गरेर अगाडि बढ्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा उपस्थित विद्यार्थीहरूले भक्तपुर नपाले भक्तपुर नपाको वातावरण सुधारमा नपाको पहल, फोहोर व्यवस्थापनको नीति, सहरी विकास योजना, ख्वप अस्पतालको सेवा प्रवाह, तरकारी बजार व्यवस्थापन, समाजवादी र पुँजीवादी व्यवस्थाबिचको भिन्नता, मल कारखाना सञ्चालन, भक्तपुरको साँढे धपाउने र बाली काट्ने आन्दोलन आदिबारे आफ्नो जिज्ञासा राखेका थिए ।
कार्यक्रममा बासुका शिक्षक विष्णुप्रसाद दुमरुले पनि बोल्नुभएको थियो भने नगर प्रमुख प्रजापतिले बासु माविका सहायक प्रअ राजकुमार ह्यौंमिखालाई नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *