भर्खरै :

थोमस मोरको कल्पनालोक (युटोपिया) – ९

थोमस मोरको कल्पनालोक (युटोपिया) – ९

तिनीहरूसँग (Plutarch) का पुस्तकहरू छन्, लुसी (Lucy) का चुट्किलाहरूबाट तिनीहरू खुसी हुन्छन् । कविहरूमा तिनीहरूसँग एरिस्टोफेन्स (Aristophanes), होमर (Homer), युरिपाइडस् (Euripides), सोफोक्लस् (Sophocles) र एलडस (Aldus) का ग्रन्थहरू छन् । इतिहासकारका तिनीहरूसँग थुसिडाइडस् (Thucydides), हेरोडोटस् (Herodotus) र हेरोडियन (Herodian) का ग्रन्थहरू तिनीहरूसँग छन् । मेरो साथी ट्रीसियस एपिनाटस् (Tricius Apinatos) ले भौतिकशास्त्रका पुस्तकहरू, हिप्पोक्रेटस (Hippocrates) का केही पुस्तकहरू र गोलेन (Golen) को माइक्रोटेक्नी (Microtechne) आफ्नो साथमा राखेका थिए । भौतिकशास्त्रको आवश्यकता सबै देशलाई उत्तिकै भए तापनि तिनीहरू त्यसलाई बढी महत्व दिन्छन् किनभने तिनीहरू यसलाई दर्शनशास्त्रको सबभन्दा फाइदाजनक भाग ठान्छन् । दर्शनशास्त्रको यो भागको मद्दतबाट तिनीहरू प्रकृतिका गुप्त रहस्यहरू सुल्झाउँछन्, यसबाट खुसीमात्र प्राप्त नभई पुस्तकका लेखकहरूको धन्यवाद पनि पाउन सकिने तिनीहरूको धारणा छ । यसले विश्वलाई राम्रो बनाउन मद्दत गरेको तिनीहरूको विचार छ । यस्तो ठुलो कामलाई बुझ्ने क्षमता उनले बनाएका छन् । तसर्थ, आफ्नो कामलाई ध्यान दिएर हेर्ने इच्छुक दर्शकलाई उनीहरू बढी सद्भावना राख्छन् । तर, यस्तो महान् र राम्रो उपलब्धिलाई महत्व नदिनेको उपेक्षा गर्छन् । सिकाइमा युटोपियालीहरूले गरेको अभ्यासको कारण तिनीहरूले धेरै क्षेत्रमा उपलब्धि हासिल गरेका छन् । तथापि, दुईवटा उपलब्धिको लागि तिनीहरू हामीलाई धन्यवाद दिन्छन् छापाखाना र कागत बनाउने प्रविधि । यो हाम्रो लागि मात्र नभई तिनीहरूको लागि बढी फाइदाजनक छ ।
हामीले तिनीहरूलाई एल्डसको छापिएको पुस्तक देखायौँ, कागज कसरी बन्छ र अक्षर कसरी कुँडिन्छ भन्ने विषयमा बतायौँ । त्योभन्दा पहिले तिनीहरू छाला, रुखका बोक्रा र घाँसहरूमा लेख्ने गर्थे, अहिले तिनीहरूले कागज बनाएर अक्षर छाप्ने प्रयास गरेका छन् । पहिले तिनीहरूसँग ग्रीसेली लेखकहरूको लेखको प्रतिलिपि भए तिनीहरूसँग पुस्तकको अभाव नहुने प्रमाणित भयो । तर, अहिले तिनीहरूसँग धेरै पुस्तक छन् तर अहिले पुस्तकहरू छापेर तिनीहरूले एउटै पुस्तकको हजारौँ प्रति निकालेका छन् । त्यहाँ आउने जो कोही पनि धेरै देशहरूको भ्रमण गरेर, धेरै कुरा सिकेर आएकाहरूलाई त्यहाँ स्नेहपूर्वक स्वागत गरिन्छ । त्यहाँ थोरै व्यापारीमात्र आउने भए तापनि हरेक देशमा के भइरहेछ भन्ने कुरा सुन्नमा तिनीहरू खुसी मान्छन् । सुन, चाँदी वा फलामबाहेक तिनीहरूले त्यहाँ के ल्याउँछन् ? आफ्नो देशबाट केही कुरा बाहिर लानुपर्यो भने तिनीहरू त्यो कुरा बाहिर लानु बुद्धिमानी ठान्छन् जसको लागि अरुहरू त्यहाँ आउँछन् । यसबाट तिनीहरूले आफ्नो वरपरको विदेशी भूमिहरूबारे जान्ने मौका पाउँछन् तथा जहाज चलाउने कला र ज्ञान प्रयोग गर्नेछन् ।
बँधुवा मजदुर, बिरामी, विवाह र अन्य विविध विषय
तिनीहरू युद्धबन्दीहरूलाई बँधुवा मजदुर बनाउँदैनन् न त बँधुवा मजदुरका छोराछोरीहरूलाई नै । गम्भीर अपराध गर्नेहरू जसलाई अन्य देशमा मृत्युदण्डको सजाय दिइन्छ, त्यस्ता अपराधीहरूलाई बँधुवा मजदुर बनाइन्छ । यस्ता बँधुवा मजदुरहरू त्यहाँ धेरै छन् ।
तिनीहरूमध्ये धेरैलाई थोरै पैसा तिरेर वा क्षमादान दिई घरमा ल्याइएको हुन्छ । यस्ता मजदुरहरूलाई तिनीहरू काम गराउँछन् । तर, आफ्नो देशका मजदुरहरूसँग तिनीहरूको व्यवहार कठोर हुन्छ कि भने त्यस्तो राम्रो राज्यमा बसेर पनि गलत कामप्रति आकृष्ट हुनेहरू सजायको बढी हकदार भएको तिनीहरू सोच्छन् । त्यसबाहेक अन्य देशमा एउटै प्रकारको काम गरेर वाक्क भइसकेपछि आफ्नो इच्छाले त्यहाँ बँधुवा मजदुर बन्न चाहनेहरू पनि छन् । तिनीहरूसँग युटोपियालीहरूको व्यवहार नरम छ तथापि तिनीहरूले केही धेरै काम गर्नुपर्दछ । त्यस्ताहरूमध्ये कोही फर्कन चाहन्छन् भने तिनीहरूलाई इच्छाविपरीत जबरजस्ती राखिँदैन र खाली हात पनि पठाइँदैन ।
बिरामीहरूप्रति तिनीहरू धेरै स्नेह गर्छन् । तिनीहरूको स्वास्थ्यमा पुनः सुधार ल्याउन तिनीहरू हरेक उपाय गर्छन् । निको नहुने रोगबाट पीडितसँग बसेर, तिनीहरूसँग कुरा गरेर सेवा गर्छन् । तर, रोग निको नहुनेमात्र नभई, पीडादायी पनि छ भने पुजारीहरू र न्यायाधीशहरूले (बिरामीले आफ्नो जीवनको कुनै पनि काम गर्न नसकेको देखेर, रोग र अरुको लागि मात्र नभई बिरामीकै लागि पीडादायी भएको देखेर) आफू त्यो पीडादायी रोग सहेर बस्ने वा नबस्ने निर्णय गर्न प्रोत्साहित गर्छन् । बिरामीको लागि आफ्नो जीवन एउटा पीडा भएको तथा बिरामी आफै पनि मृत्यु टार्न अनिच्छुक भएको देखेपछि त्यस पीडाबाट मुक्त गर्ने प्रयास गरिन्छ । उनको मृत्युले कुनै भौतिक क्षति नहुने, पीडा अन्त्य हुने कुरा बिरामीलाई बताउँछन् तथा आफ्नो जीवन अन्त्य गर्न प्रेरित गर्छन् – या त भोकै बसेर वा सुतेको अवस्थामा मरेको चाल नदिई । तर, यस्तो इच्छा मृत्यु कसैको पनि इच्छाविपरीत दिइँदैन । यसको अर्थ के होइन भने त्यस्ता बिरामीको राम्रो स्याहार गरिँदैन । पादरी र न्यायाधीशहरूले अनुमति दिनुपूर्व आफ्नो ज्यान आफै लिनेहरूलाई गाड्न वा जलाउन लायक मानिँदैन तथा त्यतिकै गन्हाउने ठाउँमा फ्याकिन्छ ।
१८ वर्षभन्दा पहिले महिलाले बिहे गर्न पाउँदिनन् । पुरुषले २२ वर्षपछि मात्र विवाह गर्न पाउँछन् । विवाहभन्दा पूर्व पुरुष वा महिलाले शारीरिक सम्बन्ध राखेको प्रमाणित भएमा दोषी पक्षलाई सजाय दिइन्छ र जीवनभर तिनीहरूले विवाह गर्न पाउँदैनन् । राजकुमारबाट माफी पाए भने तिनीहरूले विवाह गर्न सक्छन् । तर, जुन घरमा त्यस्तो घटना घटेको छ त्यहाँको घरमुली पुरुष र महिलाको बदनामी हुने डर रहन्छ । विवाहपूर्वको सम्बन्धलाई त्यहाँ कडा सजाय दिइन्छ किनभने यस्तो सम्बन्ध राख्नमा स्वतन्त्रता पाए थोरैले मात्र विवाह र विवाहपछिको प्रेममा विश्वास राख्ने तिनीहरूको सोचाइ छ । आफ्नो जीवन एउटैसँग बिताउनुपर्ने तिनीहरूको मान्यता छ ।
त्यसबाहेक पति र पत्नी रोज्ने क्रममा तिनीहरूको चलन हाम्रो लागि अनौठो र मूर्खतापूर्ण लाग्नसक्छ । एक इमानदार र वृद्ध विवाहित महिलाले जुन महिला (बिधुवा वा कुमारी) को विवाह हुने हो त्यसलाई नाङ्गै भावी पतिकहाँ लग्छन् । त्यस्तैगरी एक बुद्धिमान व्यक्तिले भावी पतिलाई महिला कहाँ नाङ्गै लग्छन् । हामी यस्तो प्रचलनको उपहास गर्छौँ । तर, यसको विपरीत तिनीहरू अरु राष्ट्रको हाँसो उडाउँछन् किनभने अन्य देशमा एउटा युवा घोडा किन्न (जहाँ थोरैमात्र पैसा खर्च हुन्छ) मानिसहरू धेरै सावधानी अपनाउँछन्, हरेक कुराको निरीक्षण गर्छन् तर जीवनभरको खुसी वा दुःख निर्धारण गर्ने पत्नी छान्नमा तिनीहरू होसियारी देखाउँदैनन् । पूरै कपडामा ढाकिएकी महिलाको अनुहारमात्र हेरेर बिहा गर्छन् तथा विवाहपछि शरीरमा कुनै खराबी भेटिए दुवैको लागि त्यो खतरनाक हुन्छ । सबै मानिसहरूसँग जस्तोसुकै अवस्थालाई पनि सम्मान गर्ने बुद्धि हुँदैन । शारीरिक क्षमताले मानसिक क्षमतालाई पनि प्रभाव पार्छ । लुगाभित्र लुकेको खराबी विवाहपछि भेटिए यसबाट पतिपत्नीको सम्बन्धमा चीसोपना आउन सक्छ । विवाहपछि त्यस्तो कुनै खराबी भेट्टिए धैर्य गर्नुबाहेक अर्को कुनै उपचार छैन । हरेक मानिसले आफ्नो भाग्य अपनाउनुपर्दछ । यस्तो नियमले कुनै पनि छल वा खराबी भए पहिल्यै पत्ता लाउन सकिन्छ ।
यसप्रति तिनीहरू गम्भीर छन् किनभने त्यहाँमात्र एकल विवाहको चलन छ । आपसी सहमतिमा पारपाचुके वा दुई पक्षमध्ये एक दुःखको व्यवहार असक्षम नभएसम्म विवाहबन्धन तोडिँदैन । दुई पक्षमध्ये एक कारण भए परिषद्को अनुमतिबाट पारपाचुके लिन सक्छ । तर, अर्को पक्ष पारपाचुकेपछि बदनामीमा बाँच्छन् । कुनै शारीरिक कमीकै आधारमा पत्नीलाई छाड्ने काम गर्न पाउँदैन । कसैलाई मद्दतको आवश्यकता परेको बेला बेसहारा छाड्नु क्रूरता ठान्छन्, वृद्धावस्थामा शारीरिक कमजोरीको कारण आफ्नो पत्नीलाई छाड्नु पनि निर्दयता हो ।
तर, पुरुष र महिला दुवै एक अर्कासँग सहमत हुन सक्दैनन् तथा दुवैले अर्कै कुनै व्यक्तिसँग (खुसीसाथ रहन सकिन्छ) भेट्टाए आपसी सहमतिमा सम्बन्ध विच्छेद गरेर अर्कोसँग बिहा गर्न सक्छन् । तर, परिषद्को सहमतिबिना सम्बन्ध विच्छेद हुन सक्दैन । विषयमाथि राम्रो छानबिन नभएसम्म परिषद्ले फैसला गर्दैन किनभने यो नयाँ विवाहको आशामा एउटा सम्बन्ध तोड्ने प्रक्रिया बन्नेछ ।
विवाह बन्धन तोड्नेलाई गम्भीर सजाय दिइन्छ, बन्धन तोड्नेहरू दुवै विवाहित छन् भने त्यसबाट पीडित दुवै पक्ष, आफ्नो पति वा पत्नीको अर्को सम्बन्धको कारण सम्बन्ध विच्छेद भएकाहरू विवाह बन्धनमा बाँधिन सक्छन् वा आफूले मनपराएकोसँग विवाह गर्नसक्छन् । तर, कोही आफ्नो बेइमान जीवनसाथीसँग सम्बन्ध कायम राख्न चाहन्छ भने त्यसलाई मनाही गरिँदैन । यदि कसैलाई आफ्नो सो कामप्रति साँच्चिकै पछुतो लागे तथा अर्को पक्षले पनि सावधानी अपनाए राजकुमारले सो गल्तीलाई माफ गर्न सक्नेछन् तथा बँधुवा मजदुरलाई मुक्त गर्नसक्ने छैन । तर, यसरी माफी पाएर पनि पुनः सोही गल्ती दोहो¥याएमा मृत्युको सजाय दिइनेछ । अन्य अपराधको लागि कानुनले कुनै सजाय तोकेको छैन । पतिले आफ्नो पत्नीलाई र अभिभावकहरूले आफ्ना सन्तानहरूलाई गम्भीर गल्ती नगरेसम्म साधारण सजाय दिन सक्छन् । तर, गम्भीर अपराधीहरूलाई बँधुवा मजदुरको सजाय दिइन्छ । तिनीहरूलाई मृत्युदण्ड दिनुभन्दा तिनीहरूको मृत्युबाट भन्दा श्रमबाट बढी फाइदा हुन्छ तथा तिनीहरूको उदाहरणले अरुलाई अपराध गर्नबाट रोक्छ । यसबाट पनि तिनीहरू विद्रोह गर्छन् भने जङ्गली जनावरलाई जस्तै गरी ज्यान सजाय दिइन्छ । तर, आफ्नो बन्धनलाई धैर्यतापूर्वक स्वीकार्नेहरू आशाहीन हुँदैनन् । लामो समयको बन्धनबाट तिनीहरू शान्त भएपछि यदि तिनीहरूले आफ्नो अपराधप्रति पछुतो व्यक्त गर्छन् भने राजकुमारको आदेशबाट वा जनताको सहमतिबाट तिनीहरूको सजायलाई कम गरिन्छ वा माफी दिइन्छ । अवैध सम्बन्ध राख्ने सरह नै सम्बन्ध राख्न खोज्नेलाई पनि सजाय दिइन्छ । सबै अपराधहरूमा तिनीहरूले अपराधसँगसँगै अपराधको उद्देश्यलाई पनि ध्यान दिन्छन् ।
तिनीहरू मुर्खहरूबाट मनोरञ्जन लिन्छन् । तर, तिनीहरूलाई केही नोक्सान पु¥याउनुलाई राम्रो मानिँदैन । तसर्थ, तिनीहरू राम्रो व्यवहार गर्छन् । कोही गम्भीर मानिस तिनीहरूको बोली वा कामप्रति घस्न सक्दैनन् भने तिनीहरूलाई त्यसको रेखदेखमा राखिँदैन । तिनीहरूले जसलाई मनोरञ्जन दिलाउन सक्दैनन् त्यसले तिनीहरूसँग राम्रो व्यवहार गर्न नसक्ने तिनीहरू सोच्छन् । कसैको अशक्तता वा शरीरमा कुनै अङ्ग नभएकोमा गिज्याउनुलाई नराम्रो मान्छन् ।
प्राकृतिक सुन्दरता र कोमलतालाई महत्व नदिई बाहिरी श्रृङ्गारलाई महत्व दिनेलाई तिनीहरू अर्थहीन मान्छन् । लोग्नेहरू आफ्नो स्वास्नीको सुन्दरताभन्दा पनि राम्रो व्यवहार र नम्रताबाट प्रभावित हुने कुरा तिनीहरूले आफ्नो अनुभवबाट बुझेका छन् । प्रेम सुन्दरताबाट सुरु भए पनि त्यसलाई कायम राख्न राम्रो गुण र सहनशीलत हुनुपर्दछ । सजाय दिएर तिनीहरू आफ्नो जनतालाई खराब काम गर्नबाट रोक्छन् । त्यसका साथै विभिन्न सम्मान र पुरस्कार दिएर सदाचारतर्फ प्रेरित गर्छन् । राज्यको लागि राम्रो काम गर्नेहरूको कामलाई स्मरणीय राख्न तथा भावी पुस्ता आफ्ना पुर्वजहरूको सदाचारबाट प्रेरित होस् भन्ने हेतुले तिनीहरूले बजारमा उल्लेख्य व्यक्तिहरूको प्रतिमा स्थापित गरेका छन् । तर, आफ्नो पदोन्नति चाहनेहरूलाई आशाहीन छाडिन्छ र उनको जीवनरहेसम्म पदोन्नति पाउने कुनै आशा रहँदैन ।
तिनीहरू प्रेमपूर्वक बस्छन्, न्यायाधीशहरूलाई पिता भन्छन् तथा तिनीहरूको व्यवहार पनि त्यस्तै हुन्छ । नागरिकहरूले विना कुनै दबाब तिनीहरूलाई सम्मान गर्छन् । राजकुमार आफ्नो पनि अरुले भन्दा छुट्टै लुगा, रवाफ, मुकुट वा शाही रुमाल आदि प्रयोग गर्दैनन्† मकैको सानो डाँठ प्रयोग गर्छन् । पादरीको अगाडि मकैको सानो धागो बोक्छन् र यसैबाट उनी चिनिन्छन् ।
तिनीहरूको कानुन थोरै छ । जनता राम्ररी निर्देशित भएको हुनाले थोरै कानुन पनि पर्याप्त छ । अन्य देशमा कानुनका असङ्ख्य पुस्तकहरू पनि पर्याप्त नभएकोमा तिनीहरू खिस्सी गर्छन् । मान्छेले पढ्नसक्ने वा बुझ्नसक्ने भन्दा बढी र कठीन कानुनहरू बनाउनु अधिकार र न्यायविरुद्ध रहेको तिनीहरू सोच्छन् । त्यहाँ कुनै न्यायाधिवक्ता, कानुनविद्हरू छैनन्, जसले यस्ता कुराहरूलाई बङ्ग्याउछन् । हरेक व्यक्तिले न्यायाधीश अगाडि आफ्नो कुरा आफै राख्नुपर्ने तिनीहरू सोच्छन् । यसबाट शब्दजालहरूमा अल्झिनु नपर्ने, सत्य चाँडै प्रकाशमा आउने, वकिलहरूको दाउपेचरहित व्यक्तिहरूको भनाइबाट निर्णय गर्न सजिलो हुने तिनीहरूको धारणा छ । धेरै कानुन भएको देशमा यस्तो दृश्य देखिनु असम्भव छ । युटोपियामा हरेक व्यक्ति आफै वकिल हुन्, त्यहाँ थोरै कानुन छ र बुझ्न सजिलो छ । सबै कानुन मानिसले आफ्नो कर्तव्य नबिर्सिऊन् भन्नाको लागि बनाइएको हो । ती कानुनको कठीन र धुत्र्याइँपूर्ण व्याख्यालाई थोरैले मात्र बुझ्छन्, जब कि कानुनको सरल अर्थलाई सबैले बुझ्छन् । आफ्नो कर्तव्य बुझ्नुपर्ने व्यक्तिहरूको लागि विभिन्न अर्थहरू लाग्नसक्ने र धेरै तर्क तथा बहस गर्नुपर्ने कानुनहरू बनाउनुभन्दा नबनाउनु नै राम्रो हुँदैन र ?
युटोपियालीहरूको यस्तो गुणको कारण तिनीहरूका स्वतन्त्र छिमेकीहरूले (युटोपियाले लामो समय अगाडि तिनीहरूलाई तानाशाहीबाट मुक्त गराएका थिए) त्यहाँका न्यायाधीशहरूलाई एक वर्ष वा कसैलाई ५ वर्षको लागि आफ्नो देशमा लान्छन् । तिनीहरूको कार्यकाल सकिएपछि तिनीहरूलाई सम्मान र प्रशंसाका साथ फर्काइन्छ र नयाँलाई लगिन्छ । ती राष्ट्रहरूले आफ्नो राज्यको लागि राम्रो व्यवस्था गरेका छन् । राज्यको सुव्यवस्था बनाउने र कायम राख्ने काम शासक र न्यायाधीशहरूको आचरणमा भरपर्ने कुरा देखेपछि घुस खाएर आफ्नो इमानदारी नबेच्ने तथा कुनै एक व्यक्तिप्रति पक्षपात नगर्ने व्यक्तिहरूबाहेक अरुलाई तिनीहरूले किन रोज्छन् ? अनुराग र लोभको कारण नै राज्यको सबभन्दा ठुलो बन्धन असंयमितता र न्याय तोडिन्छ । युटोपियाको अधिकारी र शासकहरू माग्ने देशलाई तिनीहरू सहपाठी भन्छन् तथा आफ्नो कारणले जसलाई फाइदा पुगेको छ तिनीहरूलाई साथी ।
अन्य देशहरूबिच बारम्बार सन्धि हुने, तोडिने, पुनः नवीकरण हुने देखिसकेकोले युटोपियालीहरू कुनै पनि राष्ट्रसँग सन्धि गर्दैनन् । प्रकृतिले नै मानिस मानिसबिच पर्याप्त प्रेमभाव पैदा नगरेको अवस्थामा यस्तो सन्धिको के अर्थ छ ? प्रकृतिलाई नमान्ने व्यक्तिले केही शब्दलाई किन मान्छ ? विश्वका अन्य देशहरू जहाँ सन्धि सम्झौता हुन्छन्, त्यस्ता सन्धिहरू राम्ररी पालना नभएको कारण तिनीहरूले त्यस्तो धारणा राखेका हुन् । युरोपमा इसाई धर्मप्रति आस्था रहेको ठाउँमा दुई देशबिचको सन्धिलाई पवित्र र उल्लङ्घन गर्न नमिल्ने मानिन्छ । यसको मुख्य कारण राजकुमारहरूको न्याय र असलपन तथा पादरीहरूप्रतिको सम्मान हो । तिनीहरू आफैले कुनै वाचा नगरे तापनि धार्मिकरूपमा पूरा गर्छन् तथा सबै राजकुमारलाई आफ्नो वाचा निभाउन आग्रह गर्छन्, जसले अस्वीकार गर्छ, त्यसलाई आफ्नो अधिकारको प्रयोग गरी स्वीकार्न बाध्य पारिन्छ । दुई देशबिचको सन्धिलाई विश्वासिलो भनिए तापनि त्यहाँ विश्वास नभए त्यो अपमानजनक हुने तिनीहरूको विचार छ । तर, भर्खरै भेटिएको विश्वको त्यो ठाउँमा हामीभन्दा धेरै टाढा, भू–मध्य रेखाभन्दा पनि पर, हाम्रो जीवन र व्यवहारभन्दा पृथक व्यवहार रहेको देशमा दुई देशबिचको सम्बन्धप्रति कुनै विश्वास छैन । दुई देशबिचको सम्बन्धलाई जति पवित्र मानिन्छ त्यति नै विभिन्न निहुँमा चाँडै तोडिन्छ । दुई देशबिचको सन्धिमा तिनीहरूले केही कमजोर बिन्दु भेटाउँछन्, जहाँबाट त्यो सन्धि तोड्न सकिन्छ । आफ्नो ठेक्कापट्टा र मोलमोलाइमा व्यक्ति–व्यक्तिले छलकपट र धुत्र्याइँ गरेको थाहा पाए तिनीहरू त्यसप्रति विरोध गर्छन् । यस्तो अपराध तिनीहरूको दृष्टिकोणमा घृणित छ र लज्जास्पद मृत्युको हकदार छ । सबै न्याय तल्लोस्तरको छ तथा राजाहरूको उच्च सम्मानमुनि झन् तल झरेको छ । तसर्थ, त्यहाँ दुईवटा न्याय हुन्छ । एउटा तल्लोस्तरका जनताको लागि सुनियोजित किनभने त्यो जङ्गली नहोस् । अर्को उच्चस्तरको हो । यसमा बढी स्वतन्त्रता हुन्छ र केही पनि अवैध हुँदैन । राजकुमारहरूको यस्तो व्यवहारको कारण युटोपियालीहरू सन्धि नै गर्दैनन् । सन्धिहरूलाई विश्वासपूर्वक लागु नगरिने तिनीहरूको विचार छ र यसको सुरुआत नै खराब रहेको तिनीहरू सोच्छन् । यसबाट (सानो पहाड वा नदीबाट छुटिएको राष्ट्र प्रकृति वा समाजको बन्धनबिना नै एक आपसमा जोडिने) मानिसहरू एक–अर्काको शत्रु र प्रतिद्वन्द्वीको रूपमा जन्मिएको सोच्न पुग्छन् । तथा सन्धिहरू नभए एकले अर्काको मृत्यु र विनाश खोज्नु वैध भएको सोच्छन् । सन्धिका विभिन्न बुँदाहरू लेख्ने क्रममा दूरदर्शिता नभएको कारण सन्धि भइसकेपछि पनि मित्रता बढ्दैन तर लुटपाट र चोरी जारी रहन्छ । तर, युटोपियालीहरू यसको विपरीत विचारधारा राख्छन्, आफूलाई नोक्सान नपु¥याएको कुनै पनि व्यक्तिलाई शत्रु मान्नुहुँदैन तथा प्रकृतिसँगको मित्रता नै सुद्ध सन्धि भएको, मानिस–मानिसबिचको सम्बन्ध सन्धिबाट भन्दा माया र स्नेहबाट, शब्दबाट भन्दा विचार र मनबाट सुदृढ हुने तिनीहरू सोच्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *