भर्खरै :

१२ दिने फोटोग्राफी तालिम सम्पन्न

१२ दिने फोटोग्राफी तालिम सम्पन्न

भक्तपुर, १ साउन । नेपाल कर्मचारी समाज ख्वप एकाइ समितिको आयोजनामा भएको ‘१२ दिने फोटोग्राफी तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम’ बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा ख्वप मा.वि., ख्वप कलेज र ख्वप कलेज अफ ल सञ्चालक समितिका सदस्य एवं भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सीपले जीवनलाई सहज बनाउन मद्दत पुग्ने भएकोले सीप सिकाइलाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो ।
हामीमा रहेको कला, सीप र अनुभवलाई उजागर गर्न सके समाज र देशलाई योगदान गर्न सकिने धारणा उहाँले व्यक्त गर्नुभयो ।
फोटोले इतिहासलाई ब्युँताउन सकिने धारणा राख्दै उहाँले तालिमबाट सिकेको ज्ञानले भविष्यको योगदान गर्न सकिन्छ भन्ने हेतुले फोटोग्राफी तालिमलाई सदुयोग गर्नुपर्ने बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले हामीले गर्ने हरेक कामले हामीलाई नै जीवन्तता दिने बताउनुभयो ।
“सिक्ने चाहना भएको मान्छेलाई उमेर हदले नछेक्ने भएकोले सिकाइलाई जीवन पर्यन्त चालु राख्नु जरुरी छ”, उहाँले भन्नुभयो ।
ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले तालिमबाट सिकेको ज्ञान अरुलाई बाँड्नु जरुरी छ भन्नुभयो ।
अहिलेको युग प्रविधि मैत्री भएकोले फोटोग्राफी तालिम समय सापेक्ष हुनुको साथै तालिमले कलेज/विद्यालयलाई सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
प्रशिक्षक शरद राईले फोटोग्राफीबारे जानकारी दिँदै फोटोग्राफी एक प्रकारको ‘क्रियटिभ आर्ट’ हो भन्नुभयो ।
फोटोग्राफीमा आफ्नो कला र सृजनशीलता देखाउन सक्नुपर्ने उहाँले बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष तुल्सीराम सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा ई. विनोदबहादुर शाही र कृष्णश्वरी सुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा अतिथि ज्याख्वले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
तालिममा शरद राई र कृष्णश्वरी दुवालले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *