भर्खरै :

देशको हितको लागि उद्योग–व्यापारमा राज्य लाग्नुपर्ने

देशको हितको लागि उद्योग–व्यापारमा राज्य लाग्नुपर्ने

भक्तपुर, २ साउन । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सहकारी संस्थाको विगत र वर्तमान अवस्थाबारे सहकारी संस्थाका पदाधिकारीहरूको भेला कार्यक्रम शुक्रबार सम्पन्न भयो । भक्तपुर नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा भक्तपुरको ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलन २०२५ साउन २ र २०२६ असार १९ को स्मरण ग¥यो ।
कार्यक्रममा सांसद सुवालले सहकारी संस्थाका व्यवस्थापन समितिका पदाधिकारी र सदस्यहरूले पुँजीवादी र समाजवादी अर्थव्यवस्थाको भिन्नताबारे अध्ययन गर्नु आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले उद्योग–व्यापार गर्नु लोककल्याणकारी काम हो, निजी क्षेत्रलाई छोड्नु सीमित व्यक्तिको स्वार्थ हेर्नु हो भने सामाजिकीकरणले व्यापक जनताको सेवा हुनेछ ।”
“सरकारले बुटवल धागो कारखाना, नेपाल मेटल उद्योग, ओरियन्टल म्याग्नेसाइट, जनकपुर चुरोट कारखाना निजीकरण गर्दै छ । जनताको स्वास्थ्यमा हानि पु¥याउने सुर्ती र मदिरा उत्पादन र बिक्री बन्द गर्नु जरूरी छ । अन्य ठुल–ठुला उद्योग र व्यापार सरकार आफैले सञ्चालन गर्नुपर्दछ । ठुल्ठुला भ्रष्टाचारीहरूलाई मृत्युदण्ड हुने कानुनी व्यवस्था जरूरी छ”, सांसद सुवालले थप्नुभयो ।
“लमजुङ मालपोत अधिकारीमार्फत घुस खाने सङ्घीय मामिला मन्त्री राजकुमार गुप्ताको पद खुस्कियो भने कास्कीका भूमि आयोग अध्यक्ष नियुक्तिको भ्रष्टाचारमा जोडिएका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको पद हल्लिरहेको छ”, उहाँले भन्नुभयो ।
“सहकारी संस्थाहरू बैङ्कजस्तै सञ्चालन हुनु भएन, सबै सदस्यको हितमा उत्पादनमूलक सेवामा सहकारी लाग्नु जरूरी छ । कतिपय सहकारी संस्थाले व्याजको लोभ देखाएर जनताको बचत ठगी गरेका छन् । समुदायमा आधारित सहकारी संस्थाले ब्याजको लोभ देखाएर बचत तान्न नमिल्ने हुँदा सदस्यको हितमा कानुन संशोधन गर्नुपर्ने सुझाव दिनु उपयुक्त हुन्छ, सांसद सुवालले भन्नुभयो ।
“इमेज सहकारी संस्थाले बचतकर्ताको डेढ अर्ब फिर्ता दिने कबुल गरेको आज सार्वजनिक भयो । व्यक्तिगत स्वार्थमा लाग्नेहरूबाट सहकारी संस्थालाई सदस्यको हितमा चलाउन सक्दैनन् । ओरियन्टल, शिवशिखरलगायतले भक्तपुरका जनताको बचत ठगी गरे । कूल ३२ हजार सहकारी संस्थामध्ये १७ हजार खारेज हुने सार्वजनिक भयो । यसतर्फ सबै सचेत हुनुपर्दछ । चीन र प्रजग कोरियाको सहकारी संस्थाबाट नेपालका सहकारी संस्थाहरूले सिक्नु जरूरी छ”, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “भक्तपुरमा २०१९ सालबाट सुरू भएको भ्रष्टाचारविरोधी आन्दोलनलाई अहिले पनि निरन्तरता दिनु आवश्यक छ । वाइडबडी, नक्कली भुटानी शरणार्थी, ललिता निकास, पतञ्जली, गिरीबन्धु, शेरा दरबार, सुन तस्करी, तारागाउँ विकास समितिको शेयर र जग्गा अपचलन, टिकापुर र बासवारीको जग्गा अपचलन, भिजिट भिसालगायत भ्रष्टाचारका ठूलाठूला काण्ड सार्वजनिक भइरहेको छ । आर्थिक र वैदेशिक मामिला फरक नभएका सरकारमा गएका दलहरूको नाम फरक भएपनि काम एउटै हो । नेपाली जनता भ्रममा पर्नु हुँदैन ।”
उहाँले भन्नुभयो, “सङ्घ र प्रदेश राजधानीमा बसाइँसराई हुनुनपर्ने गरी देशको सन्तुलित विकास गरिएमा भ्रष्टाचारका काण्डहरू पनि घट्ने छ । रासायनिक मल आयातमा पनि भ्रष्टाचार भइरहेको सार्वजनिक भयो । वीरगञ्जको गोदाममा रासायनिक मल कुहाएर राखिएको पनि सार्वजनिक भयो ।”
सांसद सुवालले भन्नुभयो, “संरा अमेरिकी सरकारको हतियार सहयोगमा इजरायली फासिवादले प्यालेस्टिन र इरानमा बमवारी ग¥यो भने युक्रेनले रुसविरुद्ध बमवारी ग¥यो । अमेरिकी सरकारले मध्यपूर्वको तेल खानी कब्जा गर्न युद्ध गराउँंदै छ । संसारका न्यायपे्रमी जनतासँगै नेपाली जनताले पनि युद्धको विरोध एवम् निन्दा गर्दै छन् । सहकारी संस्थाका सदस्यहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जानकारी राख्नु जरूरी छ ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको किसान आन्दोलनको जगमा उभिएर भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइ, खेलकुदको विकासलगायतका क्षेत्रहरूमा उल्लेखनीय काम गर्न सफल भएको बताउँदै सहकारी संस्थाहरूले सहकारीको सिद्धान्त, मूल्य मान्यताअनुसार गरिब जनताको हितमा काम गरी उनीहरूको जीवनस्तर उत्थानमा सहयोगी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
उहाँले भ्रष्टाचारविरोधी आन्दोलनबारे जानकारी गराउँदै सहकारी संस्थामा भएको भ्रष्टाचारको विरोधमा संस्थाका अध्यक्षलाई उल्टो टोपी लगाई भक्तपुर नगर घुमाई जनतालाई दण्ड दिएको घटनाबारे स्मरण गर्नुभयो ।
प्रमुख प्रजापतिले चीनको हुनान किसान आन्दोलनको प्रभावमा भक्तपुरमा पनि किसान आन्दोलन भएको बताउँदै नेमकिपाले शोषित पीडित किसानहरूलाई राजनीतिक र साङ्गठनिक रूपले सङ्गठित बनाई उनीहरूको हकहित सुनिश्चित गर्ने काम पनि गरेको बताउनुभयो ।
कार्यक्रमका सभापति भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले आर्थिक वर्ष २०८१/८२ मा भक्तपुर नपाको सहकारी समितिले सहकारी अनुगमन र नियमनलाई प्राथमिकतामा राखी अगाडि बढेको बताउँदै संस्थामा देखिएका समस्या र विकृति नियन्त्रणमा सुधार गर्न समितिले निरन्तर पहल गर्दै आएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका उपाध्यक्ष गोविन्द दुवालले भ्रष्टाचारविरोधी आन्दोलन अहिले पनि सान्दर्भिक भएको बताउँदै बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, भ्रष्टाचारविरोधी सङ्घर्षजस्ता क्रान्तिकारी गतिविधिमार्फत वर्गसङ्घर्षलाई तीव्र गति दिन नेपाल मजदुर किसान पार्टी सफल भएको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत सङ्घका सचिव जगन्नाथ प्रजापतिले सहकारी संस्थालाई अप्ठेरो अवस्थामा पार्ने काम सहकारी संस्थाका सञ्चालकहरूबाट नै हुने गरेको बताउँदै सहकारी स्थापनाको उद्देश्यअनुसार सहकारी सञ्चालन नहुँदा समस्या निम्तिएको हो भन्नुभयो ।
सहकारीको विकृति सरकारले नै नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै उहाँले सहकारी पूर्ण रूपमा वित्तीय संस्थामा रूपान्तरण गर्न नहुने धारणा राख्नुभयो ।
कार्यक्रममा भनपा सहकारी समितिका सदस्य सरिना द्योलाले भ्रष्टाचारविरोधी आन्दोलनको इतिहासबारे प्रष्ट पार्नुभयो भने सदस्य नारायणप्रसाद त्वानाबासुले पनि बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *