भर्खरै :

सङ्गठित किसान सङ्घर्ष नेपाल मजदुर किसान पार्टीको जग

सङ्गठित किसान सङ्घर्ष नेपाल मजदुर किसान पार्टीको जग

भक्तपुर, २ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा २०२५ साल साउन २ गतेको भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
उक्त प्रवचन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपा स्थापना हुनुभन्दा पहिले नै साँढे धपाउने आन्दोलन, मोहीयानी हक सुरक्षा आन्दोलन, भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलन, भारतीय विस्तारवादले सुस्तामाथि भएको अतिक्रमण, भ्रष्टाचारविरोधी आन्दोलन, अमेरिकी साम्राज्यवादले भियतनाममाथि गरेको आक्रमणविरुद्धको सङ्घर्षमा अग्रज किसान कार्यकर्ताहरूको योगदान महत्वपूर्ण थियो भन्नुभयो ।
उहाँले नेमकिपाको जग किसान सङ्घर्ष भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी बहुमत कामदारवर्गलाई राजनैतिकरूपले सचेत र सङ्गठित पार्ने उद्देश्यले लागिपरेको बताउँदै उहाँले देश र जनताको निःस्वार्थरूपले सेवा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
वर्गसङ्घर्षबिना परिवर्तन सम्भव नभएको, निर्वाचनलाई उपयोग गरी निरन्तर सङ्घर्ष गरिरहेको उल्लेख गर्दै उहाँले अवसरवादी नेता तथा कार्यकर्ताहरूले पार्टीको निर्देशनलाई लत्याएर गाडी सुविधा लिने, पार्टीलाई धोका दिने लोभीपापीहरू रहनुभन्दा बेलैमा बाहिरिनु राम्रो भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशमा झन्झन् भ्रष्टाचार बढ्दै जानु शासक पार्टीको अकर्मण्यता हो ।”
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले विगतको किसान आन्दोलन कहिल्यै पुरानो हुन नसक्ने बताउँदै इतिहासबाट सिकेर नयाँ पुस्ताले नयाँ इतिहास कोर्नेछ भन्नुभयो ।
उहाँले भन्नुभयो, “अग्रजहरूको योगदान नयाँ पुस्ताले बिर्सने छैन । कार्यकर्ताहरूलाई विरोधीहरूले लोभलालच देखाएर भाँड्ने पार्टी फुटाउने काम विगतमा पनि भएको थियो र आज पनि यो काम कम्युनिस्ट भनाउँदा पार्टीका कार्यकर्ताहरू गर्दै छन् ।”
राजनैतिक कार्यकर्ताहरू सचेत हुनुपर्नेमा जोड दिँदै उहाँले किसान सङ्घर्षको महत्वबारे स्पष्ट पार्नुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका प्रतिनिधि विष्णुराम दुमरुले अग्रज कार्यकर्ताहरूले पहिलेदेखि नै भ्रष्टाचारविरुद्ध सङ्घर्ष गर्दै आइरहेको उल्लेख गर्दै लोकतान्त्रिक सरकारमा झन् भ्रष्टाचार बढेको बताउनुभयो ।
उत्पादनका स्रोत साधन, उद्योग, कलकारखाना निजीकरण गरी विदेशीलाई सुम्पिनेहरू र देशघाती सन्धि सम्झौता गर्नेहरू पुँजीवादी पार्टी हुने उल्लेख गर्दे उहाँले जनताको २ खर्बभन्दा बढी सहकारीमा जम्मा गरेको रकम लुट्नेहरूलाई सरकारले संरक्षण दिइरहेको छ भन्नुभयो ।
भक्तपुर नगरपालिका कृषि समितिका अध्यक्ष राजकृष्ण गोराले भक्तपुर नपाले गर्दै आइरहेको गतिविधिबारे स्पष्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा आर. प्रजापति र राजाराम गोसाईले २०२५ साल साउन २ गतेको ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको महत्वबारे स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *