भर्खरै :

संसारमा बहुपक्षीयताको छैन विकल्प

  • श्रावण ३, २०८२
  • लुला दा सिल्भा
  • विचार
संसारमा बहुपक्षीयताको छैन विकल्प

सन् २०२५, विश्वको साझा सङ्गठन संयुक्त राष्ट्र सङ्घ अस्तित्वमा आएको आठ दशक भएको उत्सवको समय हुनुपर्छ । तर, इतिहासमा सन् १९४५ (राष्ट्र सङ्घ स्थापना भएको वर्ष) स्थापित अन्तर्राष्ट्रिय व्यवस्था ध्वस्त भएको वर्षको रूपमा जाने जोखिम पनि छ । दरार धेरै पहिलेदेखि देखिन थालेका थिए । इराक र अफगानिस्तानमा भएका हमला, लिबियामा हस्तक्षेप र युक्रेनमा युद्धपछि सुरक्षा परिषद्का केही स्थायी सदस्यले बलको अवैध प्रयोगलाई तुच्छ ठानेका छन् । गाजामा भएको नरसंहार रोक्न चुकेको असफलताले मानवताको सबैभन्दा आधारभूत मूल्यको अस्वीकारलाई प्रतिनिधित्व गर्छ । मतभेदको सामना गर्न देखिएको असमर्थताले मध्यपूर्वमा हिंसाको नयाँ वृद्धिलाई बढावा दिइरहेको छ, जसको पछिल्लो अध्यायमा इरानमाथिको आक्रमण समावेश छ । तत्कालका लागि मध्यपूर्वको यस महत्वपूर्ण देशमाथिको हमला टरेको भए पनि तनाव बढ्दो छ ।
सबैभन्दा बलियो कानुनले बहुपक्षीय व्यापार प्रणालीलाई पनि जोखिममा पार्छ । निश्चय पनि व्यापक शुल्क वृद्धिले मूल्य शृङ्खलालाई विघटन गर्छ र विश्वव्यापी अर्थतन्त्रलाई उच्च मूल्य र निष्क्रियताको जञ्जालमा धकेल्छ । विश्व व्यापार सङ्गठन (डब्लूटीओ) खोक्रो साबित भएको छ र दोहा डेभलपमेन्ट राउन्ड (डब्लूटीओद्वारा नोभेम्बर २००१ मा सुरु गरिएको व्यापार वार्ताको एक शृङ्खला, जसको लक्ष्य व्यापार अवरोध कम गर्नु र अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा सुधार गर्नु हो) लाई कसैले सम्झँदैन । सन् २००८ को वित्तीय पतनले नवउदारवादी विश्वव्यापीकरणको असफलतालाई उजागर ग¥योे, तर संसार चरम कठोरताको रणनीतिमा फस्यो । साधारण नागरिक र साना व्यवसायको खर्चमा अति धनी र ठुला निगमलाई उद्धार गर्ने छनोटले असमानतालाई गहिरो बनाएको छ । विगत दस वर्षमा विश्वका सबैभन्दा धनी (एक प्रतिशत) ले जम्मा गरेको ३३.९ ट्रिलियन डलर विश्वव्यापी गरिबी उन्मूलन गर्न आवश्यक पर्ने स्रोतको २२ गुणा बराबर हो ।
राज्यको कार्यक्षमतामा रहेको दमनले संस्थामाथि जनताको अविश्वास बढाएको छ । लोकतन्त्रलाई खतरामा पार्ने र राजनीतिक परियोजनाको रूपमा घृणालाई प्रवद्र्धन गर्ने अतिवादी कथाका लागि असन्तुष्टि उर्वर भूमि बनेको छ । धेरै देशले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य कार्यान्वयन गर्ने प्रयासलाई दोब्बर पार्नुको सट्टा सहयोग कार्यक्रम कटौती गरेका छन् । उपलब्ध स्रोत अपर्याप्त छन्, लागत उच्च छ, पहुँच सहज छैन र लगाइएका सर्त प्रायः स्थानीय वास्तविकतालाई सम्मान गर्न असफल हुन्छन् । यो परोपकारको बारेमा होइन, तर ल्याटिन अमेरिका र क्यारिबियन, अफ्रिका र एसियाका जनताविरुद्ध शताब्दीयौँदेखिको शोषण, हस्तक्षेप र हिंसामा जरा गाडेको असमानतालाई सम्बोधन गर्नेबारे हो । एक सय ट्रिलियन डलरभन्दा बढीको संयुक्त जीडीपी भएको संसारमा ७० करोडभन्दा बढी मानिस अझै पनि भोकमरीबाट पीडित हुनु र विद्युत् वा पानीविना बाँच्नु अस्वीकार्य छ ।
बढ्दो ध्रुवीकरणको समयमा डिग्लोबलाइजेसनजस्ता शब्द सामान्य भइसकेका छन् । तर, हाम्रो साझा अस्तित्वलाई डिप्लानेटाइज (आकाशीय वस्तुको प्लानेट स्टाटस अर्थात् ग्रह स्थिति हटाउने) गर्न असम्भव छ । हिंसा र दुःखले घेरिएको शान्ति र समृद्धिका टापु जोगाउन कुनै पनि पर्खाल पर्याप्त अग्लो छैन । आजको संसार १९४५ को भन्दा धेरै फरक छ । नयाँ शक्ति चुनौती देखा परेका छन् । यदि अन्तर्राष्ट्रिय संस्था प्रभावहीन देखिन्छन् भने तिनीहरूको संरचनाले अब वर्तमान वास्तविकतालाई प्रतिबिम्बित गर्दैन । सामूहिक नेतृत्वको अभावले एकतर्फी र बहिष्करणकारी कार्य बिग्रिएका छन् । बहुपक्षीय सङ्कटको समाधान यसलाई त्याग्नु होइन, तर यसलाई निष्पक्ष र थप समावेशी जगमा पुनर्निर्माण गर्नु हो । ब्राजिलले गत वर्ष आफ्नो जी २० अध्यक्षताको समयमा राम्रो समझदारी प्रदर्शन गरेको थियो । यस वर्ष ब्रिक्स र कोप ३० मा पनि अध्यक्षतामार्फत उसले प्रतिकूल परिदृश्यमा पनि साझा आधार खोज्न सम्भव छ भनेर पुष्टि गरेको छ ।
कूटनीतिमा पुनः प्रतिबद्ध हुनु र वास्तविक बहुपक्षीयताको जग पुनर्निर्माण गर्नु तत्काल आवश्यक छ, जो आफ्नो भविष्यका लागि डराएको मानवताको आक्रोशको जवाफ दिन सक्षम हुनेछ । तब हामी असमानताको वृद्धि, युद्धको अर्थहीनता र हाम्रो आफ्नै ग्रहको विनाशलाई रोक्न सक्छौँ ।
– चाइना डेलीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *