भर्खरै :

अन्तर्राष्ट्रवादी पत्रकार एड्गर स्नो (सन् १९०५–१९७२) को सङ्क्षिप्त चर्चा – २

अन्तर्राष्ट्रवादी पत्रकार एड्गर स्नो (सन् १९०५–१९७२) को सङ्क्षिप्त चर्चा – २

सन्दर्भ : अन्तर्राष्ट्रवादी पत्रकार एड्गर स्नो जन्म दिवस
हेलेन फोस्टर (Helen Foster)
सन् १९३३ तिर जापानले साङ्घाईमा दोस्रो पटक आक्रमण ग¥यो । साङ्घाईमा अमेरिकी वाणिज्य दूतावासमा काम गर्ने हेलेन फोस्टरसँग एडगर स्नोको सम्बन्ध गाढा हुँदै गयो र त्यो सम्बन्ध विवाहमा परिणत भयो । मधुमास मनाउन एडगर स्नो आफ्नी पत्नीसँग जापान पुगे तथा त्यहाँबाट फर्केर पेइचिङ पुगी ‘सुदूर पूर्वको मोर्चा’ (Far Eastern Front) पुस्तक तयार गर्न लागे । साथसाथै येनचिङ विश्वविद्यालयमा अध्यापन गरे । विश्वविद्यालयकै पुस्तकालयमा उनले माक्र्सवादी सिद्धान्तको अध्ययन गरे । त्यहीँ उनले कम्युनिस्ट आन्दोलनका युवा विद्यार्थी कार्यकर्ताहरूसँग परिचय बढाए । ती युवाहरूमार्फत उनको सम्बन्ध कम्युनिस्ट पार्टीको प्रधानकार्यालयका नेताहरूसम्म पुग्यो । उनले चीनमै बस्ने निर्णय गरे तथा ‘जिउँदो चीन’ (Living China) पुस्तक लेखे ।
उनी ‘शनिबारे सन्ध्या समाचार’ (The Saturday Evening Post) मा काम गर्दै थिए र इन्डोनेसियाका टापुहरूमा हेलेनसँगै भ्रमणमा गए । बोर्नियो र सेलेवेसका कति टापुमा हल्यान्डले उपनिवेश बनाएको थियो । नरिवल, काठ र रबर त्यहाँको प्राकृतिक स्रोत थियो । जाभा, पापाउ, न्युगिनी, बालि आदि टापुहरूका आदिवासीहरूको २१० दिने पात्रो र तिनीहरूको सभ्यता, रीतिरिवाज, शिक्षा–संस्कृति अत्यन्त प्राकृतिक र विकसित थियो । डचहरूले त्यसैबेला ती आदिवासी तथा त्यहाँको संस्कृतिलाई पर्यटन उद्योगको रूपमा प्रयोग गरेका थिए ।
इन्डोनेसियाबाट फर्केर स्नो परिवारले पेइचिङमा घरजम ग¥यो । पेइचिङ अफिसर विद्वान्, जमिनदार, खान्दानी, साहुमहाजन, रिक्सा चालक र साधारण चिनियाँ जनता र विदेशी कूटनीतिज्ञहरू बस्ने, बगैँचा, पोखरी र फूलैफूलको महानगर थियो ।
पेइचिङमा स्नोले आफ्नो चिनियाँ भाषाको जानकारीलाई अझ राम्रो बनाउने अवसर पाए । साङ्घाईमा बस्दा उनले चिनियाँ विद्वान्, शिक्षक र महान् लेखक लु सुन (LuShun) सँग भेटघाट र छलफल गर्ने मौका पाएका थिए । लु सुनको ‘आह क्यूका साँचो कथा’ भन्ने रचनालाई अङ्ग्रेजीमा अनुवाद गर्न अनुवादक याओ सिन नुङ (Yao Hsiii–Nung) लाई सघाएका थिए । याओ सुचाओ विश्वविद्यालयका जातक र अङ्ग्रेजी भाषामा राम्रो दख्खल भएका व्यक्ति थिए । स्नोले मिलेर काम गर्न याओलाई पेइचिङ बोलाए । त्यसबेला अनुवादकहरूलाई कम पारिश्रमिक दिने गरिन्थ्यो । लु सुनसँगको सम्झना गर्दै उनले आफ्नो रचना ‘सुरूका यात्रा’ (Journey to the Beginning) मा गणतन्त्रबारे लु सुनको टिप्पणीलाई उल्लेख गरे – ‘गणतन्त्रभन्दा पहिले जनता दास थिए । पछि हामीहरू पूर्वदासहरूका दास भयौँ ।’
“सोभियत रुसबारे मलाई केही थाहा छैन तर रुसबारे पढेको छु† चीनसँग केही समानता थियो । रुसबाट सिक्नेबारे कुनै शङ्का छैन । त्यस्तै हामीले अमेरिकाबाट पनि सिक्न सक्छौँ । तर, चीनको निम्ति आफ्नै किसिमको क्रान्ति अर्थात् चिनियाँ क्रान्तिको आवश्यकता छ । हाम्रै इतिहासबाट पनि सिक्नुपर्छ ।”

फासीवाद र च्याङ काइ शेक
राष्ट्रवादी दल (कोमिनताङ), फासीवाद, इटाली र हिटलरको जर्मनीबाट प्रभावित थियो । सिद्धान्ततः तीनवटैको शासन मिल्दोजुल्दो थियो । च्याङ काई– शेकले आफ्नो हवाई सेनालाई तालिम दिन इटालीको जनरल चेनौल्ट (Clair Chenault) बाट र पछि सेनाको तालिम दिन जर्मन अफिसरहरू ल्याएका थिए । त्यस सेनालाई जर्मनहरूको जस्तो ‘कालो कमिज’ भन्ने राजनैतिक संयन्त्र र गुप्तचर विभाग (Gestapo) को जस्तै बनाइयो । कोमिनताङ आफ्नै सैनिक तालिमहरूलाई जर्मनीको सैनिक एकेडेमीले नेताप्रति बफादार भएजस्तै च्याङप्रति बफादार हुन सिकाइयो । त्यसैलाई विद्यालय र कोमिनताङको युवा सङ्गठनमा पनि सिकाइयो ।
हजारौँ हजार कम्युनिस्ट र विरोधीहरू पक्राउमा पर्थे । तर, अदालतमा पु¥याइन्नथ्यो, हरेक दिन हत्या हुन्थ्यो, त्यसको जानकारी कसैलाई दिइँदैनथ्यो ।

चीनको दोस्रो युवा आन्दोलन
सन् १९३५ मा जापानले मञ्चुरिया र भित्री मङ्गोलिया कब्जामा लियो र ठुलो पर्खालको दक्षिणको होपै चाहार क्षेत्रलाई ‘स्वायत्त’ बनाउन खोज्यो । च्याङ काई शेक जापानसँग लड्नुको अर्थ कम्युनिस्टको विजय सम्झन्थ्यो । जापान ठुलो पर्खालको दक्षिण र पेइचिङको बिचको भागलाई ‘असैनिक क्षेत्र’ घोषणा गराउन चाहन्थ्यो । त्यसको अर्थ अर्को पटक ती क्षेत्र जापानको नियन्त्रणमा जान्थ्यो । कोमिन्ताङ जापानसँग लड्ने पक्षमा थिएन र एक पुरानो राष्ट्रवादी सिपाही जनरल सुङ चे युयान (Sung Cheh–Yuan) लाई होपै चाहार ‘स्वायत्त’ क्षेत्रको जिम्मा सुम्पियो ।
सरकारको पछि हट्ने त्यस नीतिले उत्तरी चीनका सबै संवेदनशील जनता आत्तिए । अमेरिकी क्रिश्चियन येनचिङ विश्वविद्यालयका विद्यार्थीहरू रोई कराई गरी देशलाई बचाउन आफ्ना विदेशी प्राध्यापक र पत्रकारहरूसम्म पुगे ।
सन् १९३५ को डिसेम्बर महिना थियो, विद्यार्थीहरूको त्यो भावना स्नो परिवारले बुझ्यो र देश बचाउन विद्यार्थीहरूलाई उत्साहित गर्न थाल्यो । ९ डिसेम्बरको दिन पेइचिङका हजारौँ युवा विद्यार्थीहरू ‘नक्कली स्वाधीनता आन्दोलन मुर्दावाद !’, ‘विश्वासघातीहरूलाई पक्राउ गर !’, ‘जापानी साम्राज्यवाद मुर्दावाद !’, ‘चीनलाई बचाऊ !’ जस्ता नाराहरू लगाएर प्रदर्शन, पर्चा, पोस्टर, पताका, उपचार दल, सम्चारेहरू र सञ्चालन समिति बनिसकेका थिए । प्रहरीले लाठी प्रहार ग¥यो, हावामा गोली हान्यो, स्थिति झन् चक्र्यो । प्रदर्शनमा पसले, स्वास्नीमानिसहरू, किसान र ज्यामी, भिक्षुहरू, शिक्षक, साहुमहाजन, रिक्सावाल सबैले भाग लिए । त्यो आन्दोलन देशभरि फैलियो । देश–विदेशमा त्यही मुख्य समाचार बन्यो ।
१७ डिसेम्बर १९३५ का दिन पेइचिङ र थेनचिनमा दोस्रो व्यापक प्रदर्शन भयो । त्यसले व्यापकता लियो । जापान जिल्लियो, जनरल सुङले जापानको माग जनताको विरोधका कारण केही गर्न नसक्ने बतायो । जापानी जनेरल केन्जि डोइहारा (Kanji Doihara) लाई फिर्ता बोलाइयो । सन् १९१९ को मई महिनाको युवा आन्दोलनपछि ९ डिसेम्बर १९३५ को युवा आन्दोलन अत्यन्त महत्वपूर्ण रह्यो ।
त्यसबेला कम्युनिस्टहरूको लालइलाकालाई घेरामा राख्न राष्ट्रवादी सरकारको राष्ट्रपति च्याङ काई शेकले सियान (Xian) मा बलियो मञ्चुरियाली सेना राखेको थियो । त्यसको उत्तरतिर शान्सि (Shansi) प्रान्तको येनान (Yenan) लाई चिनियाँ कम्युनिस्ट सरकारको राजधानी बनाइएको थियो । एडगर स्नोलाई लालइलाकाको प्रधान कार्यालयबाट बोलावट आइपुग्यो । उनी र उनका एकजना घनिष्ठ साथी जर्ज हाटेम (George Hatem) सियान पुगे । त्यहाँबाट लुकीछिपी तिनीहरू शान्सि प्रान्तको येनान र पाओ आन (Pao An) पुगे । अहिलेको रोमन वर्णमालामा दिएको उच्चारणअनुसार (Bao’an) लेखिन्छ ।
कम्युनिस्ट सदरमुकाममा
एडगर स्नोले साङ्घाईमा सुङ चिङ लिङमार्फत कम्युनिस्ट पार्टीको केन्द्र येनानको पाओ आनमा पुग्न जून १९३६ मा मिलाएका थिए । सियानफू (Sianfu) हुँदै लालइलाकामा चाउ एन लाइ, सेनाको सञ्चार विभाग प्रमुख लि को नुङ (Li KoNung) र माथिल्लो कमान्डर येन चिन इङ (Yen Chin-Ying) सँग भेट गरे । सहरी जीवनको फरासिला, दा¥ही भएका चाउ एन – लाइ त्यतिखेर ३८ वर्षका थिए ।
९२ दिनको घोडा र पैदलको कठिन यात्रापछि पाओ आनमा माओ त्सेतुङसँग स्नोको भेट भयो । ४२ वर्षका व्यक्तिगत कुरा गर्न नचाहने माओसँग चीनको इतिहास, एसियाली माक्र्सवाद र पार्टीको इतिहासबारे कुराकानी गरे ।
पाओ आनमा तिनीहरू ३ महिना बसे । त्यहाँ एडगर स्नोले चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना, त्यसपछिका महत्वपूर्ण घटनाहरू, माओ त्सेतुङ नेतृत्वमा आइपुग्दासम्मका पार्टीका सैद्धान्तिक सङ्घर्षहरूको जानकारी पाए र टिपोट गरे । त्यसपछि महत्वपूर्ण केन्द्रीय नेताहरूसँग भेटघाट गरी तिनीहरूका जीवनीहरूको टिपोट बनाए । त्यस टिपोटलाई एडगर स्नोले अङ्ग्रेजीमा लेखे, त्यसलाई फेरि चिनियाँ भाषामा अनुवाद गरी माओ त्सेतुङ र नेताहरूलाई देखाए । अनेक केरमेटपछि त्यसलाई अन्तिम रूप दिइयो । त्यसबेला उल्था गर्ने व्यक्तिमध्ये येनचिङ विश्वविद्यालयका छात्र ह्वाङ ह्वा (Huang Hua) एक थिए । पछि उनी संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिमण्डलका नेता भए ।
पाओ आनबाट पेइचिङ फर्केपछि एडगर स्नोले सारमा चीनमै प्रकाशित अङ्ग्रेजीको ‘चिनियाँ साप्ताहिक समीक्षा’ (China Weekly Review) मा धारावाहिक लेखको रूपमा प्रकाशित गरे ।
सन् १९३७ मा त्यही लेखहरूलाई बेलायतमा ‘चीनको आकाशमा रातो तारा’ (Red Star Over China) भन्ने पुस्तकको रूपमा भिक्टोर गोलानस (Victor Gollancz) बाट पहिलो पटक प्रकाशित गरियो । सन् १९३८ मा सरा अमेरिकामा पनि प्रकाशित गरियो । सन् १९६८, १९७२ र १९७३ मा उक्त पुस्तकको संशोधित संस्करणहरू प्रकाशित भए ।
सन् १९३९ मा एडगर स्नो पुनः येनानमा माओ त्सेतुङ भेट्न गए । चीन बस्दा उनले ‘सिकागो ट्रिव्युन’ (Chicago Tribune), ‘न्युयोर्क सन’
(The New York Sun), ‘न्युयोर्क हेराल्ड ट्रिव्युन’ (The New York Herald Tribune) र ‘लण्डन दैनिक हेराल्ड’ (The London Daily Tribune) मा पनि काम गरे ।
सन् १९४१ मा एडगर स्नो आफ्नो जहानसँग अमेरिका फर्के । त्यहाँ तिनीहरू आपसमा छुट्टिए अर्थात् हेलेन फोस्टरसँग पारपाचुके भयो । सन् १९४२ अप्रिल महिनादेखि उनी ‘शनिबारे सन्ध्या’ (The Saturday Evening Post) को निम्ति अन्तर्राष्ट्रिय संवाददाताको रूपमा काम गरे । दोस्रो विश्वयुद्ध सुरु भइसकेको हुँदा उनी अप्रिलमा अफ्रिका पुगे र मई महिनामा दिल्ली पुगी भारत, बेलायतको स्थितिबारे बुझ्न जुलाईमा वार्धा (Wardha) मा नेहरूसँग अन्तर्वार्ता लिए । भारतबाट उनी मस्को पुगे ।
रुसमा उनी अमेरिकी दूतावासको पर्यवेक्षणमा स्तालिनग्राडको लडाइँमा पुगे । त्यसबेला स्नोले एक तटस्थ पर्यवेक्षकको रूपमा भन्दा फासीवादविरोधी मित्र राष्ट्रहरूको पक्षमा समाचारहरू लेखे । एसियामा पुगेपछि उनले ‘एसियाको युद्ध’ (The Battle for Asia) पुस्तक लेखे ।
सन् १९४४ मा उनले माओ त्सेतुङ र चिनियाँ कम्युनिस्टहरू ‘किसानी प्रजातन्त्रवादीहरू’ हुन्, तिनीहरू सर्वसत्तावादीहरू होइनन् भनी ‘जनता हाम्रो साथमा’ (People on our Side) भन्ने पुस्तक लेखे । त्यसबेला स्नो ३९ वर्षका थिए । उनले ‘सोभियत शैलीको सत्ता’ (The Pattern of Soviet Power) र ‘स्तालिन शान्ति चाहन्छ’ (Stalin must have peace) भन्ने पुस्तक लेखे ।
दोस्रो विश्वयुद्धपछि संरा अमेरिकामा अत्यन्त कम्युनिस्टविरोधी परिस्थिति थियो । त्यस अवस्थालाई त्यहाँको प्रधानसेनापति म्याकार्थीको नामबाट ‘म्याकार्थी युग’ (McCarthy Period) पनि भन्ने गरिन्छ । त्यसबेला संरा अमेरिका आफ्नै तानाशाही व्यवस्थाको रूपमा प्रस्टिएको थियो । त्यस वातावरणमा अमेरिकी सङ्घीय गुप्तचर विभाग (FDI) ले स्नोलाई लखेट्नु अस्वाभाविक थिएन ।
सन् १९५७ मा उनले ‘रातो चीनका टिपोटहरू’ (China : Random Notes on Red China) लेखे र सन् १९५८ मा बेलायतबाट ‘सुरुका यात्रा’ (Journey to the Beginning) प्रकाशित गरे । त्यस पुस्तकमा सन् १९२८–२९ तिरको चीनको कहालीलाग्दो बयान र भ्रमण गरेका देश, जनता र नेताहरूबारे उल्लेख छ ।
संरा अमेरिकामा बस्न उनलाई गा¥हो भएको हुँदा उनी स्वीट्जरल्यान्डमा आफ्नी दोस्री पत्नी लुइस ह्वीलर स्नो (Louis Wheelor Snow) सँगै बस्न गए । तर, नागरिकता भने अमेरिकाकै थियो ।
सन् १९६० मा एडगर स्नो पुनः चीन गए । उनले माओ त्सेतुङ र चाउ एन–लाइसँग अन्तर्वार्ता पनि लिए । सन् १९६३ मा उनले १९५९ देखि १९६१ को चीनको स्थितिसमेत प्रस्ट हुने गरी ‘आजको रातो चीन : नदीको अर्को भाग’ (Red China Today : The Other Side of the River) शीर्षकको पुस्तक प्रकाशित गरे ।
सन् १९६४ मा उनी फेरि चीनको भ्रमणमा गए । भियतनाम युद्धमा संरा अमेरिका झन्झन् फस्दै गयो, ऊ त्यहाँबाट न भाग्न सक्ने न त लडाइँ चालु राख्न सक्ने स्थितिमा पुग्यो । अमेरिकामा भियतनाम युद्धविरोधी जनमत बढ्दै थियो, दिनको झन्डै १२ करोड डलर खर्च हुँदै थियो, अमेरिकी डलरको मूल्य घट्दै गयो । यस्तो स्थितिमा भियतनाम युद्धबाट उम्कन अमेरिकाले चीनसँग वार्ता नगरी सुख पाउने स्थिति नै थिएन । अमेरिकाले पठाउने दूतलाई चीनले स्वीकार गर्न मानेन भने चीनले भनेको मान्न अमेरिका तयार थिएन ।
सन् १९७० मा स्वीट्जरल्यान्डमा बसेका एडगर स्नोलाई राष्ट्रपति निक्सनले चीन गई सम्बन्ध सुधारको निम्ति आग्रह गरे । एडगर स्नो चीनको पुरानो मित्र भएको नाताले चीनले स्वागत ग¥यो । त्यसपछि पिङपङ (टेबुलटेनिस) का खेलाडीहरूको भ्रमणको आदान–प्रदान, पत्रकारहरूको भ्रमण र हेनरी किसिङ्गरको चीन भ्रमणपछि अमेरिकी राष्ट्रपति निक्सन चीन पुगे ।
एसियाली र अफ्रिकी देशहरूको सम्मेलन इन्डोनेसियाको वाङडुङ सहरमा भएको थियो । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री चाउ एन–लाइले गरेका थिए । त्यहाँ अमेरिकी विदेशमन्त्री डलेससँग चाउ एन–लाइने चीन–अमेरिकी सम्बन्ध सुधार्न हात मिलाउन खोज्दा डलेसले हात पछि हटाउने धृष्टता गरेका थिए । त्यस शिष्टाचारविरोधी व्यवहारलाई चिनियाँहरूले बिर्सेका थिएनन् ।
निक्सन पेइचिङ हवाई अड्डामा हवाईजहाजको सिँढीबाट तल झरी हात मिलाउन उनले नै पहिले चाओ एन–लाइतिर हात बढाए । यसरी एडगर स्नोले चीन र संरा अमेरिकाबिचको सम्बन्ध सुधार्न भूमिका खेले ।
स्वीट्जरल्यान्डमा एडगर स्नो पेटको क्यान्सर (Pancreatic Cancer) बाट बिरामी भए । उनका साथी जर्ज हाटमसँगै प्रधानमन्त्री चाउ एन लाइले चिनियाँ डाक्टरहरूको एक टोली स्वीट्जरल्यान्ड पठाए । १५ फेब्रुअरी १९७२ मा कम्युनिस्टका एक असल मित्र र पत्रकार एडगर स्नो ६७ वर्षको उमेरमा बिते । तर, उनका रचनाहरूमा उनी सदा जीवित रहनेछन् ।

एडगर स्नोका रचनाहरू
1. Living China
2. Red Star Over China
3. The Battle for Asia
4. People on our side
5. The Pattern of Soviet Power
6. Stalin must have peace
7. China : Random Notes on Red China
8. Journey to the Beginning
9. Red China Today : The Other Side of the River

उनले काम गरेका पत्र–पत्रिकाहरू
1. Chicago Tribune
2. The New York Sun
3. The New York Herald Tribunes
4. The London Daily Herald
5. China Weekly Review
6. The Saturday Evening Post
7. Herald Tribune
समाप्त
स्रोत : चार अन्तर्राष्ट्रवादी पत्रकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *