रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
– सुरेन्द्रराज गोसाई
माननीय सभामुख महोदय,
माननीय सांसदज्यूहरुमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट न्यानो अभिवादन व्यक्त गर्दछु ।
नयाँ सरकार र तिनको कार्यशैली, प्रदेश र प्रदेश सरकारको अधिकार क्षेत्र तथा उपादेयता, संघीयताको मर्म आदि विषयले शहर–बजार, गाउँघर र हिमाल–पहाड–तराई पुनः तताइरहेको छ । प्रदेशले पनि केन्द्रीय सरकारकै मुख ताक्ने हो भने हिजोका जिविस, नगरपालिकाभन्दा तात्विक अन्तर के रह्यो ? आफ्नै खुट्टामा उभिन नसके संघीयताको के अर्थ ? के यो पञ्चायतको १४ अञ्चलजस्तै नयाँ पञ्चायती ७ अञ्चल हो ? के मूख्यमन्त्री भनेका निर्वाचित अञ्चलाधीश हुन् ? के संघीयता भनेको प्रधानमन्त्रीको आदेश पालन गर्नु र प्रदेश भनेको निरिह निकाय हो ? यी र यस्ता प्रश्नहरु यत्रतत्र सोधिन्छन् ।
माननीय सभामुख महोदय,
प्रदेशसँग आफ्नो अधिकार क्षेत्रबारे प्रष्ट जानकारी हुन आवश्यक छ । प्रदेशले संघीय सरकार के हो बुझ्नु पर्छ भने प्रधानमन्त्रीलाई प्रदेश के हो स्पष्ट हुनुपर्छ । हरेक प्रदेशसँग कसरी अगाडि बढ्ने भन्ने स्पष्ट अवधारणा, योजना र संकल्प हुन आवश्यक छ । मूख्यमन्त्रीले कुनै अमुक पार्टीको कार्यकर्ता हँु भन्ने सोच त्याग्नुपर्छ, संघीय सरकारको झोला बोक्ने दरिद्र मानसिकताबाट टाढा बस्नैपर्छ । आज जनता प्रश्न तेस्र्यारहेका छन् – संघीय सरकारको दयामाया, तजबीज र निगाहमा बाँच्ने प्रदेश सरकार र संघीयताको के अर्थ ? जनता यसको चित्तबुझ्दो जवाफको पर्खाइमा छन् ।
सभामुख महोदय,
आफूले भनेजस्तो गर्ने स्थानीय तह या प्रदेशलाई सहयोग गर्ने तर फरकमत राख्नेलाई सहयोग नगर्ने सरकारको पक्षपातपूर्ण नीति गलत छ । केन्द्रले गर्ने वितरण समानरुपमा गरिनुपर्ने, हचुवाको भरमा गर्न नहुनेबारे समेत सभामुखमार्फत गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु । स्थानीय तहलाई धेरै अलमलमा राख्यौं, अनिर्णयको बन्दी बनाइरह्यौं । त्यसको अधिकार के–कति छ, क्षेत्र कति हो स्पष्ट व्याख्या हुन विलम्व गर्नुहुन्न । स्वायत्तता र विकेन्द्रीकरणको घा“टी रेट्ने काम कोही कसैबाट नहोस् ।
स्थानीय तह र त्यसका क्रियाकलाप कयौं ठाउ“मा विवादस्पद, शंकास्पद तथा आपत्तिजनक भएको जनगुनासो व्यापक बढ्दैछ । अनियमितता, भ्रष्टाचार मौलाउँदैछ । यही प्रकारले स्थिति अराजक बन्दै जाने हो भने बद्नामी सिवाय अरु हात लाग्ने छैन । जनताको चरम् असन्तुष्टिले विष्फोटक रुप नलिंदै केही सोच्नु र गर्नुमै बुद्धिमानी हुने देखिन्छ । आजकल समाजमा भन्ने गरेको सुनिन्छ, ‘शासक दलका नेता–कार्यकर्ताले माटो खाए, बालुवा खाए, ढुङ्गा–गिट्टी खाए, काठ खाए, पानी खाए, अब हुँदा हुँदा घाँस मात्र खान बाँकी छ ।’
माननीय सभामुख महोदय,
नाक राम्रो बनाउन फुली लायो, फुलीले नाकै खायो ∕ संघीयता कतै त्यस्तो नहोस् । प्रदेश र प्रदेशसभालाई जनआक्रोशको तारो होइन, जनमैत्री बनाउन, प्रदेशसभाका सदस्यलाई व्यावहारिक रुपमा जनसेवक बनाउन बेलैमा आवश्यक कदम चालिनुपर्ने निर्विवाद छ । हामी हाम्रो परिचयपत्र बनाउँदैछौं । त्यो परिचयपत्रमा प्रदेशसभा सदस्यको पेशा–व्यवसाय स्पष्ट उल्लेख गरियोस् । हामी कोही प्रध्यापक, वकिल, शिक्षक, इन्जिनियर, मजदुर र किसान हौंला । हामीमध्ये कोही साहुमहाजन, व्यवसायी, निर्माण व्यवसाय गरी निर्माणमा सेवा पु¥याएका, रियलस्टेटमा रही जग्गाजमिन र घर घडेरीको संरक्षणमा लागेका आदि पृष्ठभूमिका हौंला । जनताले हाम्रो लामो अनुभव र योगदानबारे जानकारी पाए हामीबीचको आत्मीयता बढेर सम्बन्ध जीवन्त बन्ने थियो । जनताद्वारा निर्वाचितहरु खुला पुस्तक बराबर भएमा प्रजातन्त्र सुगन्धित हुनेमा विवाद नहोला । पेशा–व्यवसाय अनुसारको अनुभव र आदत हुने गर्दछ । त्यो अनुभवको सार संसदसमक्ष राखेर संसदलाई निष्प्रभावी हुनबाट जोगाउ“दै जीवन्त एवं विविधतायुक्त बनाउन पाउनेछौं । संसद र सांसदको विविधता स्पष्ट झल्काउँदा जनता अवगत हुनेछन्, सुसूचित बन्नेछन् र कुनै खालको सन्देह रहने छैन ।
सभामुख महोदय,
केही दिनपछि नै महाभूकम्प गएको तीन वर्ष नाघ्दैछ । तर भूकम्प पीडितहरुको हालत अझै पनि दयनीय छ । पीडितहरुलाई पीडामाथि पीडा थप्ने बाहेक केही हुन नसकेको जगजागहेरै छ । पुनः निर्माण अत्यन्त सुस्त छ । निर्माण सामग्रीको मूल्य अनियन्त्रित रुपमा बृद्धि हुने क्रम जारी छ । जनताले सरकारको उपस्थितिको अनुभव कहिले गर्न पाउने ? समृद्धि र आर्थिक विकासको नारा दिइराख्दा घरबास ठेगान नभएको, थातथल्लोबाट उठिबास भएका, आकाश ओढेर रात बिताइरहेका आफ्नै दाजुभाइ दिदीबहिनीहरुको रक्तआँशुले धिक्र्कार्ला भन्ने मानवीय संवेदनाले के छुँदैन ? पीरले पोल्दैन ? भग्नावशेषमाथि समृद्धिको तुल झुण्ड्याएर हामी चैत–बैशाखमै के गाइजात्रा देखाउ“दैछौं ? भूकम्प पीडितले बास नपाउने, सर्वसाधारण जनताले पानी खान नपाउने तर अपराध कर्म गर्नेले स–सम्मान ‘जुस’ खान पाउने के यही हो नयाँ समृद्ध नेपाल ? के यही हो वामपन्थीको चमत्कार ?
सभामुख महोदय,
शासक दलहरुको समृद्धिको नारा घर–ठेगानसमेत ठेगान नभएको सुकुलगुण्डोको बकम्फुसे गफ नबनोस्, एउटा मगन्तेको महाराज बन्ने सपना नबनोस् । रोम जलिरहँदा बाँसुरीको धुनमा हराइरहेको राजा नीरोझैं भूकम्प–पीडितहरुको वर्षौंको रोदन–क्रन्दन सुनेर, नयाँ नगरपालिकाका नयाँ नगरवासीहरु पानीसमेत खान नपाएर सास्ती बहोरिरहँदा, अनियन्त्रित बजारभाउले जनताको घाँटी अठ्याइरहँदा, दैनिक हजारौं पौरखी हातहरु रोजीरोटीको निम्ति विदेश उडिरहँदा, लोकतन्त्र लुटतन्त्र बनिरहँदा पनि देशको सरकार केवल समृद्धिको बेसुर र बेमौसमी बाजा बजाइरहेछ ।
सभामुख महोदय, जनताले जरुर आधुनिक नीरो खोजेका होइनन् बरु व्यावहारिक पाइलाका साथ अघि बढ्ने अगुवा या सेवक खोजेका हुन् ।
Leave a Reply