साम्राज्यवादीहरू भियतनामबाट पुच्छर लुकाएर भागे
- जेष्ठ ४, २०८३
नेपाली युवाहरू विदेश पठाउनेमा म्यानपावर कम्पनीहरूको प्रमुख भूमिका रहँदै आएको छ । सोझा सिधा नेपाली युवाहरूलाई अनेकौँ प्रलोभनमा पारेर घरखेत बैङ्क वा वित्तीय संस्थामा धितो राख्न लगाई लाखौँ ऋण बोकाएर विदेश पठाएर उनीहरूले काम गरेको कम्पनीसँग निश्चित प्रतिशत कमिसन खाएर म्यानपावर कम्पनीहरू मोटाइरहेका छन् । त्यस्ता कम्पनीहरूले गाउँ गाउँबाट युवा खोज्न एजेन्टहरू प्रयोग गरिरहेका छन् । ती एजेन्टहरूले नै गाउँका युवाहरूलाई म्यानपावर कम्पनीसम्म पु¥याउने काम गर्छन् ।
पहिले पहिले अफ्रिकाबाट व्यापारीहरूले दासहरूलाई सिक्रीले बाँधेर पिँजडा वा खोरमा राखेर पानी जहाजमार्फत युरापमा बिक्री गर्न लान्थे । व्यापारीहरू दासहरू बेचेर मालामाल हुन्थे । दासहरूको व्यापार त्यतिबेला ठुलो व्यापारमा गनिन्थ्यो । समय निकै परिवर्तन भइसक्यो । अहिले पढे लेखेका र श्रम गर्न सक्षम युवाहरू आफ्नो घरखेत बन्धकी राखेर म्यानपावर कम्पनीहरूमार्फत सरकारको स्वीकृति लिएर विभिन्न देशहरूमा रोजगारीको निम्ति पुग्छन् । समय फरक भए पनि सार एउटै हो — विदेशीको सेवा गर्नु वा ‘दास’ बन्नु । त्यति बेलाका दास व्यापारीहरू अहिलेका म्यानपावर कम्पनीको रूपमा काम गर्दै छन् ।
अहिले नेपालमा युवाहरूलाई वैदेशिक रोजगारीमा पठाउने ७२५ भन्दा बढी सक्रिय म्यानपावर कम्पनीहरू छन् । तिनीहरूकै माध्यमबाट वर्षको लाखौँ युवाहरू विदेश गइरहेका छन् । आर्थिक वर्ष २०८१।८२ मा मात्र नेपाल सरकारको श्रम स्वीकृति लिएर विदेश जानेहरूको सङ्ख्या ८ लाख ३९ हजार २७० रहेको सरकारी तथ्याङ्कले देखाउँछ । युवा विदेश पठाउने म्यानपावर कम्पनीहरू अहिले निकै फस्टाइरहेका छन् । मन्त्रीहरू, सांसदहरू र उच्च पदस्थ पदाधिकारीहरू समेत म्यानपावर कम्पनीहरूमा संलग्न भएको बेला बखत समाचारहरू सार्वजनिक हुने गरेको छ ।
विदेश जाने युवाहरूमध्ये केहीले राम्रो काम पाए पनि अधिकांशले भने दुःख पाउने गरेका छन् । कुवेतलगायतका देशमा पुगेर नेपाल फर्केका कयौँ महिला दिदी बहिनीहरूको कथाव्यथा एउटै छ — चरम यौन र श्रम शोषण । त्यहाँ पुग्ने अधिकांशले नारकीय जीवन बिताउनुपरेको, म्यानपावर कम्पनीले धोका दिएको र आफ्नो जीवन बर्बाद भएको बताउँछन् । ती पीडित मानिसहरूको आवाजसम्म सरकारले सुन्दैनन् । सरकारको एउटै ध्याउना छ, बढीभन्दा बढी युवाहरू विदेश पठाउने ।
आ.व. २०८२।८३ को बजेट वक्तव्यमै वैदेशिक रोजगारीको क्षेत्र फराकिलो पार्दै लाने नयाँ देशहरूमा रोजगारीको लागि खुला गर्ने उल्लेख भएको पाइन्छ । यसअघि ११० वटा जति देशमा गएर युवाहरूले काम गर्दै आएकोमा अहिले त्योभन्दा बढी देशहरूमा नेपालीहरू गएर काम गरिरहेका छन् । नेपालभन्दा झण्डै ४ गुणा सानो र जनसङ्ख्यामा १० गुणा कम भएको देश युनाइटेड अरब इमिरेट्स (युएइ) मा वार्षिक २ लाख ७४ हजारभन्दा बढी नेपाली युवाहरू श्रमको लागि पुग्ने गर्छन् । अर्थात् सबभन्दा बढी नेपाली श्रमिकहरू पुग्ने देश युएई हो । त्यसपछि साउदी अरब (१,५२,८५७), कतार (१,४०,७९१), कुवेत (४९,०६५) र मलेसिया (४९,१८७जना) रहेका छन् । (नयाँ पत्रिका ३ साउन) ।
युवाहरूलाई स्वदेशमै रोजगारी दिएर नेपालको श्रमशक्ति नेपालकै विकासको लागि उपयोग गर्न सरकारले ध्यान दिनुपर्ने हो । उल्टो नेपाल सरकारमा दर्ता भएका म्यानपावर कम्पनीहरूले वार्षिक १०० जनाभन्दा बढी कामदार विदेश पठाउन नसकेमा कम्पनी खारेज गर्ने कानुनी बन्दोबस्त गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ मा २ वर्षसम्म लगातार वार्षिक १०० जना कामदार विदेश पठाउन नसक्ने म्यानपावर कम्पनीको दर्ता रद्द गर्न सकिने व्यवस्था छ । गत आ.व. मा त्यो शर्त पूरा गर्न नसकेकोमा ३२६ वटा म्यानपावर कम्पनीहरू हाल निलम्बनमा छन् । यसबाट के स्पष्ट हुन्छ भने शासक दलहरूले योजनाबद्धरूपमै युवाहरू विदेश पठाइरहेका छन् । यस अर्थमा सरकार नै म्यानपावर कम्पनीहरूको मालिक हो र म्यानपावर कम्पनीहरूमार्फत युवाहरूलाई रोजगारीका नाउँमा व्यापार गर्दै छ ।
नेपाल सरकारले युवाहरूलाई योजनाबद्ध ढङ्गले विदेश धपाइरहेको छ । अझ प्रधानमन्त्री भइसकेका नेताहरूसमेत चुनावको बेला आफ्नो पार्टीप्रति आकर्षित गर्न विदेश जानेहरूका लागि ‘फ्रि भिसा र फ्रि टिकट’ को व्यवस्था गर्नेसम्म भन्न पछि परेनन् । शासक दलका नेता कार्यकर्ताहरू नै अहिले म्यानपावर कम्पनीका सञ्चालकहरू बनेका छन् । म्यानपावर कम्पनीहरू युवा बेचबिखन गर्ने वैधानिक संस्थाहरू भएका छन् । नेपालमा कमिसन खाएर युवाहरू विदेश पठाउने व्यवस्था भएसम्म नेपालको विकास सम्भव छैन ।
म्यानपावर कम्पनीहरूमार्फत विदेश गएकाहरू अधिकांश फर्केका छैनन् । कतिपयले नेपालमा भएका सम्पूर्ण सम्पत्ति बेचेर विदेश लगेका छन् । हाम्रा अर्थमन्त्री र मन्त्रीहरू विदेशमा गएर युवाहरूले रगत र पसिनासित साटेर ल्याएको रेमिट्यान्सले अर्थतन्त्र धानिरहेकोमा मख्ख छन् । युवाहरूलाई नेपालमै बस्ने वातावरण तयार गरी युवा श्रमशक्तिको अधिकतम प्रयोग गरी देश विकासमा लगाउन म्यानपावर कम्पनीहरू बन्द गर्नु जरुरी छ ।
Leave a Reply