नेपाल–भारत सम्बन्ध, विश्व शान्ति र नेपालको बजेटबारे
- जेष्ठ १८, २०८३
केही साथीहरूमा सङ्गठनको निर्माण र कार्यकर्ताहरूको स्तरको विकास गर्नेबारे केही भ्रमहरू छन्, त्यसलाई नछिचोली हुन्न, नत्र त्यसबाट ठुल–ठुला भूलहरू ब्यहोर्नुपर्नेछ ।
झण्डै ५० वर्षपहिले एउटा बस्तीका युवा साथीहरूलाई पार्टीको राम्रो कार्यकर्ता बनाउने उद्देश्यले बिजुली अड्डा, पैसा उठाउने डिपो, स्थानीय निकाय र केही निजी र सार्वजनिक विद्यालयहरूमा कर्मचारी र शिक्षण पेसामा लगाइयो ।
परिणाम के भयो ? बिजुली अड्डा शासक दलका कर्मचारीहरूको ‘चास्नी पोतेको गोली’ को शिकार ती नयाँ कार्यकर्ता भए । उनीहरूले ग्राहकहरूसँग घुस खाएर मिटर मिलाई दिने, डिपोमा पैसा उठेको रकममा भ्रष्टाचार गर्ने, नक्सा पास नगरेकोमा घुस खाई आधा पैसा लुकाएर शासक दलका कर्मचारीहरूसित मिलेर बाँड्ने काम गरे । त्यसैले समाजको आमूल परिवर्तन गर्ने दलका कार्यकर्ताहरूको जीवनको उद्देश्य प्रस्ट पार्नु पर्दछ । कार्यकर्ताको काम–कर्तव्य प्रस्ट पारेर जन समूहका गतिविधिमा संलग्न गर्दै जानु आवश्यक छ । सैद्धान्तिक रूपले दीक्षित नगरिएका कार्यकर्ताहरूबाट देश र जनताको निःस्वार्थ सेवाको सम्भावना कममात्र हुन्छ ।
१०–२० वर्ष पार्टीको एक जनसम्पर्कमा रहने संस्थामा कार्यरत रहे, तर उनले आफ्नै छोरा–छोरीकै मात्र कुरा गरिरहे । पछि छोराछोरीले काम पनि पाए यद्यपि करिअर वा पदोन्नतिको मात्रै हरेक हाकिमहरूसँग गुनासो गरिरहे । तिनीहरूले आफ्नो संस्थाको भलाइ, देश र जनताको सेवाबारे कहिल्यै आफ्ना समकक्षी, कर्मचारी र हाकिमहरूसँग कुरा गरेनन् । यसको कारण तिनीहरूको तालिममा खोट थियो – आफ्नो स्वार्थ हेर्ने प्रवृत्तिबारे पार्टीमा कहिल्यै आलोचना गरिएन, आत्मालोचनाको संस्कार बसालिएन ।
ती नयाँ कार्यकर्ता साथीहरूलाई सैद्धान्तिक शिक्षाबाट प्रशिक्षित गर्नुपर्छ । सैद्धान्तिकरूपले प्रशिक्षित भएपछि उनीहरूले आफ्नो तलब, ज्याला वा आम्दानीको केही प्रतिशत चन्दा (लेवी) दिनु कर्तव्य नै ठान्छन् । ती नयाँ पार्टी सदस्यहरूलाई बारम्बार नयाँ नयाँ विषय र अन्तर्राष्ट्रिय घटनाहरूको विश्लेषण नगर्दा उनीहरूलाई खोटा कम्युनिस्ट भनिने अराजकतावादी दलको भ्रममा फस्न बेर लाग्दैन । ती खोटा कम्युनिस्टहरूले ‘संसारमा दुईवटा पुँजीवादी खेमा (शिविर वा गुट) छन् – एक गुटको नेतृत्व संरा अमेरिकाले गर्छ र अर्को पुँजीवादी गुटको नेतृत्व चीनले गर्छ’ भनी नेपालको कम्युनिस्ट आन्दोलनमा थप भ्रम फैलाउँदै छन् । यस्तो भ्रममा ती नयाँ कार्यकर्ताहरू फस्छन् ।
ती अराजकतावादीहरूले नेपालको पुँजीवादी सरकारहरूमा गई आर्थिक फाइदा लिइरहेका छन् भने अर्कोतिर अमेरिकी साम्राज्यको आक्रमण, हस्तक्षेप र लुटको विरोध गर्ने इराक र लिवियाका देशभक्त सद्दाम हुसेन र कर्णेल गद्दाफिको देशमाथि भएको अन्यायको समर्थन गर्छन् ।
त्यस्तै प्यालिस्टिनी जनतामाथि गरेको अमेरिकी र इजरायली नरसंहारको पनि समर्थन त्यस अराजकतावादी कम्युनिस्टहरूले गर्छन् । त्यस्तै अरब देशहरूमा भइरहेको अमेरिकी हस्तक्षेप, लुट एवम् हिन्द महासागर र प्रशान्त महासागरको एसियाली देशहरूमाझ पुनः युद्ध फैलाउने साम्राज्यवादी गतिविधिको विरोध नगरी आँखा चिम्लिँदै छन् । अर्कोतिर संरा अमेरिका र नाटो देशहरू मिलेर युक्रेनको काँधमा बन्दुक बिसाएर रुसी महासङ्घमा हमला गर्दै पूर्व सोभियत सङ्घका १३ वटा गणतन्त्रहरूलाई मिलाएर उत्तर–पश्चिमबाट मध्य एसियामा युद्धको तयार गर्दै गरेकोमा ती अराजकतावादीहरू अर्थात् नेपाली त्रोतस्कीवादीहरू नेपालको कम्युनिस्ट आन्दोलनलाई भाँड्दै छन् ।
केही व्यक्तिहरूले समाजलाई फोहर बनाएको र केही वीरहरूले नै नयाँ समाजको निर्माण हुन्छ भन्ने हचुवा दृष्टिकोण तथा केही हजार सशक्त शक्तिले अचानक राज्य सत्तामाथि विजय पाएपछि समाजवादको विजय हुन्छ भन्ने ती अराजकतावादीहरू अति गलत मूल्याङ्कन गर्छन्† राज्य सत्तालाई तत्काल विघटन गरेपछि समाजमा आमूल परिवर्तन हुन्छ भन्ने अत्यन्त खोटपूर्ण अनुमान गर्छन् र पराजयको निम्ति बाटो तयार गर्छन् । यसकारण, त्यस्ता अराजकतावादीहरूको खोटो विचारबाट सङ्गठन र समाजलाई जोगाउनु हाम्रो कर्तव्य हो ।
यसकारण, समाजमा देखिएको क्रान्तिको अनेक परिस्थिति तयार नहुँदै क्रान्तिको आह्वान गर्ने अतिवादी खोट (वामपन्थी अवसरवाद) र क्रान्तिको परिस्थिति तयार हुँदा पनि क्रान्ति नगर्ने र समय खेर पठाई शत्रुको मित्रतामा विश्वास गर्ने दक्षिणपन्थी अवसरवादको विरोधमा निरन्तर सङ्घर्ष गर्नैपर्छ ।
नयाँ कार्यकर्ताहरूलाई देशी र विदेशी परिस्थितिको व्याख्या र विश्लेषणको बारम्बारको प्रशिक्षणले शिक्षित गर्ने काममा अथक ढङ्गले गर्दै जानु अति जरुरी छ । अनि मात्रै नयाँ कार्यकर्ताहरू शत्रुहरूको पद र पैसाको ‘चास्नी पोतेको मीठो गोली’ को शिकार बन्ने छैनन् ।
जसले आफ्नो पदअनुसारको देश र जनताको चासो र सेवालाई प्राथमिकता दिन्छ ऊ उत्तम नागरिक र कार्यकर्ता हुन्छ । जसले देश र जनताको सँगसँगै आफ्नो परिवारलाई पनि प्राथमिकता दिन्छ ऊ मध्यम र जसले देश, जनता र संस्थालाई प्राथमिकता नदिई आफ्नै स्वार्थलाई मात्र प्राथमिकता दिन्छ ऊ अधम नागरिक र कार्यकर्ता साबित हुनेछ ।
Leave a Reply