भर्खरै :

के सरकार आफैँ युवा बेचबिखनमा लागेको हो ?

के सरकार आफैँ युवा बेचबिखनमा लागेको हो ?

वैदेशिक रोजगारीका नाममा नेपाली युवा हरेक दिन ठगिन बाध्य छन् । सरकारले स्वदेशमै रोजगारी दिन नसकेको कारण नेपाली युवा विदेशको सपना देख्छन् । कतिपय युवाको चाहना अमेरिका पुग्ने हुन्छ । तर, अमेरिकाको यथार्थ भने फरक छ । अमेरिका पुग्ने चाहनाकै कारण सन्देश नाम गरेका दाङका एक युवाले घरखेत बेचेर दलाललाई ७० लाख बुझाए । उनलाई भिजिट भिसामा त्रिभुवन विमानस्थलबाट दुबई उडाइयो र ६ महिनापछि दलालले उनलाई दुबईबाट बहराइन–चिली हुँदै ब्राजिल पु¥याए । ब्राजिलबाट चार–पाँच दिन पानामाको जङ्गलमा हिँडाइयो । पानामा र कोलम्बियाबिचको १०६ किलोमिटर लामो घना जङ्गल पार गर्दाको दर्दनाक दुःख उनले भोगे ।
घना जङ्गलमा लुटिने र ज्यानसमेत जान सक्ने खतरा मोल्दै उनी इक्वेडर पुगे । इक्वेडरबाट पेरु हुँदै डेढ महिनामा मेक्सिको पु¥याइयो । पानामा जङ्गलको ६ दिनबाहेक अरू दिन अधिकांश बसमै यात्रा गराइएका उनलाई अमेरिकाको सीमा क्षेत्रभन्दा ३० किलोमिटर टाढा एक होटलमा राखियो । त्यहाँ आफैले पकाएर खानुपथ्र्यो । ती नेपाली युवाको डेढ महिनापछि अमेरिका छिर्ने पालो आयो । एजेन्टले मेक्सिकोबाट अग्लो पर्खाल चढाएर डोरीको सहायताले उनलाई अमेरिका पु¥याए । साथीलाई पर्खेर जङ्गलको बाटो जाने तर्खर गर्दागर्दै केही मिनेटमै सीमा सुरक्षामा खटिएका अमेरिकी प्रहरीले उनलाई समाते । पक्राउ परेपछि अमेरिकी प्रहरीले उनको राहदानीलगायतका कागजात फ्याँकी दिए । उनलाई दक्षिण क्यालिफोर्नियाको सान्टियागो सहरको डिटेन्सन सेन्टरमा ५ दिन र अर्को सेन्टरमा २ महिना थुनामा राखियो । अवैध आप्रवासीलाई फिर्ता पठाउने ट्रम्प प्रशासनको निर्णयअनुसार नेपाली दूतावासको सहयोगमा उनलाई नेपाल फिर्ता पठाइयो । उनको ७० लाख रुपियाँ भुस भयो ।
नेपाली युवाको यस्तै भोगाइ बुझ्न २०७३ सालमा तत्कालीन व्यवस्थापिका संसद्को एक टोलीले खाडी मुलुकको स्थलगत भ्रमण ग¥यो । अध्ययनपछि सरकारलाई बुझाइएको प्रतिवेदनमा ६० प्रतिशत नेपाली महिला भिजिट भिसाको नाममा त्रिभुवन विमानस्थलबाट कुवेत पुगेको उल्लेख छ । तीमध्ये ४० प्रतिशत नेपाली महिला भारत, श्रीलङ्का, अफ्रिकी देशको बाटो भएर कुवेत पु¥याइएको पनि प्रतिवेदनमा उल्लेख छ ।
भिजिट भिसामा जाँदा फर्किने टिकट, होटल बुकिङको कागजात, कम्तीमा १ हजार डलर हुनुपर्ने नियम छ । तर, एजेन्टले सबै कागजात नक्कली बनाएर पठाउन्थ्यो । प्रतिवेदनमा घरेलु कामदारका नाममा नेपाली महिलालाई खाडी मुलुक पु¥याएबापत ४ लाख रुपियाँ दलाली भाग हुने पनि उल्लेख छ । यसरी महिलाहरूले खाडी मुलुकमा दुःख पाएका छन् ।
खाडी मुलुकमा गएका नेपाली महिलाको पीडा सामाजिक सञ्जालमार्फत सार्वजनिक भइरहेको छ । वैदेशिक रोजगारीमा पठाइएका नेपाली चेलीहरू शारीरिक, मानसिक पीडा बाहेक हिंसासमेत भोग्न बाध्य छन् । अध्ययन भ्रमणमा रहेका संसदीय टोलीका सदस्यहरूले नेपाली चेलीहरूलाई कुवेतको सडकमा उभ्याएर बेच्नको निम्ति मोलमोलाइ गरिरहेको दृश्यसमेत देखेको प्रतिवेदनमा उल्लेख छ । यसरी मानव तस्करी भइरहेको प्रतिवेदनमा उल्लेख हुँदाहुँदै पनि सरकार किन मौन ? के यसबाट सरकार आफैँ युवा बेचबिखनमा लागेको पुष्टि हुँदैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *