भर्खरै :

नेता बुबालाई छोरोको पत्र

नेता बुबालाई छोरोको पत्र

नेपालगञ्ज
२२ साउन, २०८२
आदरणीय बुबा कामरेड,
प्रणाम !
आमा र परिवारका सबै सदस्यहरूको सुस्वास्थ्यको कामना गर्दछु । स्वास्थ्यको दृष्टिले म स्वस्थ छु । यताका प्रदेशका साथीहरूको बैठकहरूमा उठेका केही प्रश्नहरूले मेरो मन र मस्तिष्कमा ‘कार्यकर्ता र जनतासामु शासक दलका नेताहरूले प्रस्टै आत्मालोचना नगरेसम्म इमानदार कार्यकर्ताहरूको भित्री जिज्ञासा मेटिने स्थिति देख्न छोडेँ’ ।
बुबा कामरेड, पञ्चायतको कालरात्रिमा समाजमा आमूल परिवर्तनको निम्ति निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने दलका सङ्गठनहरूलाई जिल्ला–जिल्लामा हाम्रो दलले पैसा र पदको लोभ देखाएर किन भत्कायो ? के केही सङ्गठनहरूले पहिले नै समाजको आमूल परिवर्तन गर्ने विषयमा प्रतिगमनविरोधी प्रगतिशील विचारको बीउ छरेका थिएनन् ? केही सङ्गठनका कार्यकर्ताहरूले के जनताको माझमा गरेका साहित्य प्रचार सबै प्रतिक्रियावादी र वर्ग दुश्मनका पक्षमा थिए ?
आधा शताब्दीसम्म पनि ती सङ्गठनहरूले एक दिन, एक हप्ता, एक महिना र एक वर्षमा पनि चुप नलागी निरन्तर प्रगतिशील विचारको प्रचार गरिरहँदा पनि हाम्रा दलहरूले माक्र्सवाद र लेनिनवादविरोधी बर्नस्टिनको बाटोमा लागेर समाज र आफ्नो दललाई खाडलमा खस्ने बाटो किन, कसरी र कसले सिकाउँदै लगे ? माक्र्सको मृत्युपछि उनका शिष्य बर्नस्टिनले माक्र्सकै शिक्षालाई छोडेर पुँजीपतिवर्गको हितमा कामदारवर्ग र बहुमत जनताको हातखुट्टा गलाउने शान्तिपूर्ण आन्दोलन, पुँजीवादी निर्वाचनबाटै समाजवाद आउँछ भनी किन सिद्धान्तमाथि विश्वासघात गरे ? हाम्रै देशमा हाम्रै दलहरूले बारम्बार राज्य सत्तामा बसेर पनि किन केही गर्न सकेनन् ?
पशुपति र देशका हरेक मन्दिरमा गरिब गुरुवालाई हरेक दिन दुई÷चार रूपैयाँदेखि हजारौँ रूपैयाँ भेटी चढाएर पनि कसरी गरिबी हटेनन् र सबैले किन रोजगार पाएनन् ? के पैसा बाँडेर समाजवाद आउँछ ? ५० वर्षको सङ्घर्षपछि पनि हाम्रा दलहरूले भएका कल–कारखाना निजीकरण गरेर ‘समाजवाद’ आउँछ भन्ने नीति लागु गरेको हो भने परिणाम खोइ ? युवाहरूलाई स्वदेशमा होइन विदेशमा काम दिलाउनु के ‘समाजवाद’ हो ? म्यानपावर कम्पनीहरू बनाएर आफ्नै कार्यकर्ताहरूलाई विदेश पठाउनु के ‘समाजवाद’ हो ? हरेक दलमा नेतृत्वको निम्ति मारकाट किन ? प्रधानमन्त्रीदेखि मन्त्री, प्रदेशमन्त्रीदेखि सांसद र मेयरहरूसमेत दसीका साथ अपराध गरिरहेकै बेला ठाउँमै पक्राउ पर्छन् । धर्मप्रसाद ढकालको हत्याबाट सुरु भएको काण्ड, ‘माओवादी जनयुद्ध’ भनिएको हत्याकाण्ड र प्रतिकारमा हजारौँ जनता मर्दा पनि सही मूल्याङ्कन किन गरिएन ? बीसौँ वर्षदेखि सरकारमा बसी शासन गर्ने हाम्रा दलहरूले आकाश पाताल गरी झ्यालीपिटाइ गरेको जलविद्युत्को विकासले भएको केही अर्बको मात्रै आम्दानीले २७ खर्बको ब्याज ३ खर्ब तिर्न कसरी सम्भव होला ?
शासनमा वर्षौँ बस्ने हाम्रा नेता बुबा हजुरहरूलाई साधारण हिसाब नआएको त होइन होला ? उखान, टुक्का र हाँस्ने र हँसाउने कामले नै समाजवाद आउने भए हरेक वर्ष हाम्रो देशमा गाईजात्रा आउँछ र अनेक ख्याल (व्यङ्ग्य) र प्रहसन हुन्छ, किन समाजवाद आएन ?
केही प्रतिशत देशवासीको समृद्धि हुनुलाई समाजवाद भनिएको भए झापादेखि पश्चिमको दार्चुलासम्मका शासनमा बस्ने नेता र प्रधानमन्त्री कति–कति पटक सत्तामा गए गनी साध्य भएन ।
कामरेड बुबा, “हजुरले उल्टै भन्नुहोला, होइन छोरा तिमीले भन्न खोजेको के हो स्पष्ट भन ।”
बुबा हजुर, केही प्रश्नले सबै उत्तर दिनेछ । कृपया देश र जनताको निम्ति ती प्रश्नहरूको सटीक र सरल उत्तर दिइदिनुहोला ।
प्रश्नहरू निम्नानुसार छन् –
१) हाम्रा सङ्गठनहरूले कुन–कुन जिल्लामा किन परिवर्तनवादीहरूको प्रगतिशील सङ्गठनहरू भत्काए ?
२) ती सदस्यहरू आज पनि हाम्रै सङ्गठनमा छन् वा तिनीहरू अन्तै गए वा तिनीहरू विभिन्न अपराधहरूमा निकालिसकेका छन् ?
३) दिल्लीका अराजकतावादी (त्रोत्स्कीवादीहरू) समेत परिवर्तनवादीहरूको सङ्गठनमा घुसाएर ती सङ्गठनलाई भत्काउनुमा बुबाहरूको स्वार्थ के थियो ? के तिनीहरू विदेशी गुप्तचरबाटै सञ्चालित थिए वा अर्कै कारण छ ?
४) हाम्रै शासक दलहरूको फुटको कारण पनि समाजवाद छोड्ने हो† सैद्धान्तिक विवाद होइन भने हाम्रा दलहरूको नाम किन ‘साम्यवादी’, ‘एमाले’ वा ‘समाजवादी’ पुच्छर झुन्ड्याउने ? के हजुरहरूले जनतालाई झुकाउने छलछाम गर्नुभएको होइन बुबा ?
तपार्इँको जिज्ञासु छोरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *