‘गोविन्दप्रसाद लोहनी’ को जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन हेर्दा
- भाद्र २३, २०८२
“मैले ‘सर’ कहाँ काम गरेको पाँच वर्ष भयो, बल्ल एक महिनाअघि मात्रै बिदा लिएँ । भेटघाट गर्न आउने पाहुनाहरूमध्ये ‘सर’ लाई कतिले ‘कविजी’ भनेर सम्बोधन गर्थे, कतिले ‘मार्साब’ र बाहिरी जिल्ला र तराईका आगन्तुकहरूले ‘नेपाली’ भनी सम्बोधन गर्थे ।”
‘बिहान, दिउँसो र ४ बजेदेखि ८ बजे साँझसम्म काम गर्ने हामी तीन जना सहयोगीहरू थियौँ – कमला, केशरी र हरिदेवी ।’
‘कमला दिदी ५–७ वर्षदेखि काम गर्दै थिइन्† उनी दुई महिनापछि बिदा हुँदै छिन् । कमला दिदीको घर नगरको ८ वडामा हो भने ‘सर’को ७ वडामा, मेरो पनि सातै वडामा हाम्रो घर नजिक नजिकै ¤
‘केशरी हामीमध्ये बढी उमेरकी २–४ वर्षदेखि काम गर्दै थिइन् । उनी गाउँबाट ६ बजे नै उठेर ७ बजे ‘सर’ कहाँ पुग्थिन् । उनी बाटोमा आउन एक घण्टा लाग्छ भन्थिन् । उनी बिहानको चिया – नास्ता ‘सर’ सँगै गर्थिन् र ११ बजे घर फर्किन्छिन् ।’
मेरो नाम हरिदेवी हो । हामी सबैले स्नातक गरेका छौँ । हाम्रो अफिस नै सरको घर हो । घर चार तलाको छ, हरेक तलामा दुइटा ४–५ जना सजिलै बस्न सक्ने र बेन्च टेबुलले सजिएका छन् । २–३ वटा आल्मारी वा सिसाको ऐना भएका दराज छन् ।
पहिलो वा छँेडी तलामा मानिस भेट्ने एउटा कोठा छ, काठका दराजहरू पुरानै हुन्, चार तलाका दराजको माथिल्लो तलामा भानुभक्तको ‘रामायण’, मोतीराम भट्टका केही रचना, बाबुराम आचार्यका ‘पुराना कवि र कविता’, हृदयचन्द्र सिंहका ‘भानुभक्त एक समीक्षा’, ‘नेपाली काव्य’ का प्रतिनिधिहरू’ र ईश्वर बरालका केही पुराना रचनाहरू छन् ।
माटन अर्थात् दोस्रो तलाको सिंढीकै नजिकको दराजको माथिल्लो तलामा कवि लेखनाथको ‘तरुण तपस्वी’, ‘ऋतु विचार’ र अन्य केही रचनाहरू छन् । दोस्रो तलामा लक्ष्मीप्रसाद देवकोटाका सकुन्तला महाकाव्य, सुलोचना, मुनामदन र अन्य फुटकर कवितासङ्ग्रहहरू, निबन्धसङ्ग्रह आदि साहित्यिक पुस्तकहरू छन् ।
दोस्रो तलामा नै बालकृष्ण समका ‘मुटुको व्यथा’, ‘अन्धवेग’, ‘मुकुन्द इन्दिरा’, ‘म’, ‘चिसो चुल्हो’, ‘नियमित आकस्मिकता’, ‘मेरो कविताको आराधना’ दुई भाग आदि रचनाहरू पनि सङ्ग्रहित छन् ।
तेस्रो तलामा गोपालप्रसाद रिमालका ‘मसान’, ‘यो प्रेम’, ‘आमाको सपना’ तथा हृदयचन्द्र सिंह प्रधानका, ‘बालकृष्ण समका केही नाटकहरूको आलोचना’ ‘केही नेपाली नाटक’, ‘स्वास्नीमानिस’, ‘एक चिहान’, ‘गंगालालको चित्ता’, ‘छेउ लागेर’ आदि एकाङ्की नाटकहरू पनि सङ्ग्रहित छन् ।
सबभन्दा तलो तलामा भवानी भिक्षुका ‘गुन केशरी’ ‘मैयाँ साहेब’ बङ्गाली, हिन्दीजस्ता कथासङ्ग्रहहरू केही कविताका पुस्तक र अन्य रचनाहरू छन् ।
पत्रकारले जिज्ञासा राख्यो, ‘हरिदेवीजी घरको तेस्रो तलाका कोठाहरू केको निम्ति उपयोग हुन्छ ?’
भवनको तेस्रो तलामा आगन्तुक र आफ्ना साथीहरू भेट्नुहुने एउटा कोठा छ । त्यहाँ पनि दराजमा कवि सिद्धिचरण श्रेष्ठका खण्डकाव्य ‘उर्वशी’, ‘मेरो प्रतिबिम्ब’ र अन्य कवितासङ्ग्रह र नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘सिद्धिचरणका प्रतिनिधि कविता’ र अरू लेखक र कविहरूका रचनाहरू पनि छन् ।
अर्काे दराजमा भने अङ्ग्रेजीका राजनीति शास्त्र, अर्थशास्त्र र विश्व इतिहासका पुस्तकहरू छन् ।
हरेक तलाका कोठाहरूका दराज, टेबुल, मेच आदि सबै सामान नेपालकै काठपात र नेपाली सिकर्मीहरूकै शिल्पकलाबाट सिङ्गारिएका छन् । ती सबै दराज र टेबुलका जोर्नीहरूमा फलामको किल्ला– काँटी होइन बाँसका स–साना चुकुलहरू प्रयोग गरिएका छन् । फलामका किला–काँटी भएमा वर्षा ऋतुमा खिया लाग्ने, जाडोमा खुम्चिने र वर्षामा फुल्ने हुँदा पछि जोर्नीहरू खुकुलो भई मेच, टेबुल, दराज आदि सामान हल्लिने हुन्छ । तर, बाँसका चुकुलहरू भएमा काठजस्तै सँगै खुम्चिने र फैलिने हुन्छ र खिया लाग्ने तथा हल्लिने सम्भावना हुन्न ।
अफिसको तेस्रो र चौथो तलामा एउटा एउटा कुराकानी गर्ने कोठा र अध्ययन गर्ने कोठाको व्यवस्था छ । जहाँ आराम गर्ने ओछ्यान पनि मिलाइएको छ ।
एउटा दराजको एक तलामा देशी र विदेशी भाषामा अनुवाद गरिएका नेपाली पुस्तकहरू छन् भने अर्काे तला विभिन्न देशका कथा, कविता, नाटक र काव्यका पुस्तकहरूको बङ्गाली, हिन्दी, फ्रान्सेली आदि भाषाका नेपाली अनुवाद छन् ।
एकै छिनमा केही नवआगन्तुकहरू भित्र पसे, हरिदेवीले सबैलाई अभिनन्दन गरिन्; आ–आफ्नो नजिकका मेचहरूमा बस्ने सङ्केत गरिन् र पत्रकारहरूलाई एक दुई दिनपछि आउन अनुरोध गर्दै बिदा दिइन् ।
स्केच (व्यक्तिचित्र)
Leave a Reply