आधुनिक साहित्य र कला – १
- भाद्र २६, २०८२
सक्वका राजदास हाम्रो निम्ति नयाँ नाम होइन, नयाँ पहिचान होइन । अहिले पनि हाम्रो आँखामा उहाँको अनुहार झल्झली आइरहेछ; हाम्रो मनले यो कार्यक्रममा उहाँको भौतिक उपस्थिति पनि खोजिरहेछ ।
उहाँले हामीलाई सुम्पेर जानुभएको २ वटा निधिमध्ये एउटा पुस्तकको विमोचन समारोहमा हामी छौँ† करिब १३ महिनाअघि (२०८१ असार ७ गते) उहाँको पहिलो कृति ‘सक्वका राजदास’ प्रकाशित भएको छ । उहाँको समग्र जीवन र सङ्घर्ष बुझ्न यी दुवै पुस्तकसँगै राखेर अध्ययन गर्नु उपयुक्त हुन्छ ।
एक देशभक्त बुद्धिजीवीको रूपमा हामी उहाँलाई चिन्छौँ । आफ्नो जाति, भाषा अनि देशलाई असाध्यै माया गर्ने एक इमानदार र बफादार व्यक्तिको रूपमा हामी उहाँलाई चिन्छौँ । उहाँको देशभक्तिको भावना र मातृभूमिप्रतिको अगाध स्नेह एवम् लगावका कारण हामीले उहाँलाई बुझ्यौँ; स्रष्टा अनि पाठकले उहाँलाई चिने ।
तत्कालीन सोभियत सरकारको छात्रवृत्तिमा इन्जिनियरिङ अध्ययनका लागि सोभियत सङ्घ पुग्नुभएका राजदास श्रेष्ठले चाहेको भए उतै सम्मानका साथ सुखसयलले जिन्दगी बाँच्न सक्नुहुन्थ्यो । तर, त्यो विकल्प छाडी उहाँले आफ्नो मातृभूमि रोज्नुभयो† आफ्नै जन्मभूमि चुन्नुभयो । उहाँले आफ्नै देशमा बुद्धि खियाउने र पसिना बगाउने सोच्नुभयो† निकै लगनशीलताका साथ भरमग्दुर प्रयत्न गर्नुभयो । नेपालको आर्थिक प्रगतिका लागि उहाँ र उहाँकी जीवनसङ्गिनी भालेन्टिनाले नेपाली स्रोत साधनकै बलमा गुणस्तरीय तथा स्वास्थ्यमैत्री इँटा, सीसा अनि रङ उत्पादन गर्ने विधि पत्ता लगाउनुभयो । आफूसँग भएको सम्पूर्ण पुँजी खन्याएर उहाँ अहोरात्र खट्नुभयो । राज्यको ढुकुटी भर्न आफू पटक–पटक रित्तिनुभयो । तर, राज्यले त्यसमा भरथेग गर्नुको साटो उदासीन भइबस्यो । पुँजीवादी व्यवस्थामा एक इमानदार नैतिकवान्, स्वाभिमान र अति सोझो व्यक्तिलाई व्यापारी बन्न कति गा¥हो हुनेरहेछ भन्ने यथार्थ उहाँको जीवन सङ्घर्षले बताउँछ ।
नेपालमा टेलिभिजन भित्याउने बहस चलिरहेको समयमा उहाँले भुसको खरानी र चुनको समिश्रणबाट सिमेन्ट उत्पादन थालिसक्नुभएको थियो । हरेक घरको भित्तामा अझ घरको हरेक कोठामा विदेशबाट आयातित टेलिभिजन झुन्डिएका छन् तर त्यो भित्ता बनाउन सकिने सिमेन्ट र रङ्गाउन सकिने सेतो चुनासहित रङ्गका अनुसन्धाता÷प्राविधिक हामीमाझ अहिले हुनुहुन्न ।
उहाँकी श्रीमती भालेन्टिनाले हेटौँडाको कर्रा खोलाको बालुवा (सिलिकन) बाट सीसा निकाल्न सफल हुनुभयो । उहाँहरूले निर्माण गर्नुभएको धुँवारहित चुलोले धेरै नेपाली परिवारलाई राहत दिएको थियो । अझै कतिपय गाउँघरमा त्यो चुलो प्रयोगमा होला ।
उहाँहरूको अनुसन्धान कार्य र प्रविधि निर्माणलाई राजतन्त्रले पनि एउटा राष्ट्रिय शिक्षा पुरस्कार दिएर टा¥यो । उहाँहरूको कामबाट प्रभावित राजतन्त्रका शिक्षामन्त्री पशुपति शमशेर राणा गणतन्त्रपछि पनि मन्त्री बने; सांसद–सभासद् भए तर उनीहरूले देशलाई आत्मनिर्भर बनाउने विषयमा बोलेनन् । यस पुस्तकले राजतन्त्र र गणतन्त्रमा तात्विक भिन्नता के त भन्ने सोचमा पाठकलाई पु¥याउनेछ ।
त्रिभुवन विश्वविद्यालयमा अनुसन्धान केन्द्रमा कार्यरत रहँदा आफ्नी श्रीमतीप्रति गरिएको अपमान (?) का कारण चुला सबै भत्काई जर्मन प्रोजेक्टअन्तर्गत भक्तपुर विकास परियोजनामा काम गर्न हिँड्नुभएका उहाँ पछि संयुक्त राष्ट्रसङ्घअन्तर्गत दक्षिण अफ्रिकाका विभिन्न मुलुकमा चिफ इन्जिनियर बनेर जानुभयो† करोडौँ कमाउनुभयो; त्यहीँ एक दुर्घटनामा आफ्नी श्रीमती पनि गुमाउनुभयो; आफ्नो उपचार ३–४ महिना लगाएर गर्नुभयो । त्यसपछि नेपाल फर्की सिमेन्ट, रङ्गरोगनको उद्योग खोल्नुभयो† त्यसमा लगानीमात्र डुबेन ऋणको बोझले थिचिएर आखिरमा उहाँ संरा अमेरिका लाग्ने निधोमा पुग्नुभयो ।
आफ्नो आर्थिक सङ्कटबाट पार पाउन उहाँ एउटा बहानामा अमेरिका पुग्नुभयो† आधिकारिक रूपमा बस्न पाउने ऐन आउला भनी अवैधानिक रूपमै उहाँ पाँच वर्ष अमेरिका भौतारिनुभयो । बिनाअनुमति (भिसा) अमेरिकामा लुकीछिपी बसेको अभियोगमा उहाँ समातिनुभयो । यद्यपि, उहाँले चाहेको भए अमेरिका बस्ने उपायहरू दिन अध्यागमनका कर्मचारी र प्रहरी अधिकृतहरू नै पनि तयार भएका थिए । तर, उहाँले आफ्नो स्वाभिमान गुमाउन नचाहेको पुस्तकमा व्यक्त प्रसङ्गले अमेरिका भासिएका धेरै नेपालीलाई सोच्न बाध्य बनाउने अनुमान लगाउन सकिन्छ ।
भूगोल र इतिहासमा राम्रो जानकारी राख्ने लेखक राजदास संरा अमेरिकालाई त्यसरी गैरकानुनी रूपमा बसेकाहरू र आप्रवासीहरूले नै बनाएका हुन्; अमेरिकीहरूले होइन भन्ने निष्कर्षमा पुग्नुभएको छ । त्यसो त अमेरिका साँच्चै विदेशी कामदारहरूको श्रमले अमेरिकाको इतिहासभन्दा पुरानो नेपालको धार्मिक, सांस्कृतिक सभ्यता, कलाकौशल र साहित्य रहेको भन्दै देश विकासमा पछि परेकोमा दुःख व्यक्त गर्नुहुन्छ उहाँ । उहाँले सांस्कृतिक हस्तक्षेप र आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सचेत र सतर्क रहन सङ्केत गर्नुभएको छ ।
एउटै भाषा, धर्म, संस्कृति मान्नेहरूको फासीवादी नीतिकै कारण प्राकृतिक सम्पदाले भरिपूर्ण देश आर्थिक विकासमा पछि परेको र युवाहरू (आफूसमेत) बिदेसिन बाध्य भएको तीतो यथार्थ सरस र सरल भाषामा उहाँले व्यक्त गर्नुभएको छ । तथापि, पढाइमा अब्बल भएकाले सबै कुरामा सजिलै सफलता पाउन सकिन्छ भन्ने बढी आत्मविश्वासका कारण अमेरिका गई सजिलै पैसा कमाउन सक्छु भन्ने सोचले आफैलाई बेइमान बनाएको स्वीकार्न उहाँलाई कुनै गाह्रो लागेन ।
आफ्नो व्यक्तित्वले उहाँलाई अमेरिकामा सबैसँग घुलमिल हुन सहज बनाएका सन्दर्भहरूले उहाँलाई अझ नजिकबाट नियाल्ने अवसर पाठकलाई मिल्नेछ । फेरि कतिसम्म सकारात्मक सोचको मान्छे भने आफूले जे भने पनि अमेरिकी अधिकारीहरूले राम्रो मानेको र मनमनै सहमति जनाएको भनेर सन्तुष्ट पनि हुनसक्ने !
अनि तत्कालीन सोभियत सङ्घको समाजवादी बन्दोबस्तबाट यति बिघ्न प्रभावित कि अमेरिकी बन्दीगृहका कोठा होस् या प्रहरीको भ्यान होस् या कुनै होटल रेस्टुरेन्टमा होस् जहाँ पनि सोभियत बन्दोबस्तबारे सबिस्तार वर्णन गर्न थालिहाल्ने† भ्याइहाल्ने ।
कतिसम्म हन्डर र ठक्कर खानुभयो होला उहाँले अमेरिकामा । उहाँले पाँच वर्षको अमेरिका बसाइमा २ महिनाको जेल जीवन नै सजिलो र रमाइलो अनुभव गर्नुभयो । त्यसो त अमेरिका सबभन्दा बढी अपराधीहरू जेलमा भएको देशको रूपमा परिचित छ । संरा अमेरिकी रेस्टुरेन्टहरूमा जुठो भाँडा बोक्नुपर्ला, माझ्नुपर्ला ट्वाइलेट सफा गर्नुपर्ला भन्ने कल्पना उहाँले गर्ने कुरै भएन । तर, त्यस्तो भोग्नुप¥यो । हामीलाई पत्याउन त झनै गा¥हो ।
फेरि घुम्ने र पैसा खर्च गर्ने सोख उहाँको पुरानै हो । कामभन्दा बढी समय त सायद उहाँले घुमेरै बिताउनुभयो अमेरिकामा । आफूसँग सकिए रुसमा रहेका छोराहरूसँग माग्नुहुन्थ्यो ।
पुस्तकमार्फत उहाँले अमेरिकामा नेपाली युवाहरूको स्थिति कस्तो छ भनेर गर्नुभएको छोटो चित्रण पनि काफी छ । होटल र रेस्टुरेन्टहरूमा मालिक र मजदुरबिचको नाफा र ठगीका लागि गरिने अनेक कर्तुतहरूले व्यवसाय टाट पल्टेका सन्दर्भहरू पढ्दा पुँजीवादी बन्दोबस्तलाई बुझ्न सघाउँछ ।
सपनाको देश अमेरिका कस्तो भन्ने सानो झलक स्कूले बालबालिकासमेत लागूपदार्थको दुव्र्यसनीमा लागेबाट प्रस्टिन्छ ।
पुस्तकमा उहाँ अमेरिकामात्र बस्नुभएको छैन† घरी सोभियत सङ्घ पुग्नुहुन्छ† घरी आफ्नै जन्मथलो साँखु (सक्व) डुल्नुहुन्छ; घरी जुम्ला घुम्नुहुन्छ । ‘जुम्लाको सम्झना’ शीर्षक एउटा मीठो लेख हो । जहाँ एउटा सामन्तवादी देश र समाजवादी देशबिचको भिन्नता प्रस्ट देख्न सकिन्छ । विदेशीको आक्रमणले महिनौँ घरभित्र बन्दी बनाइएको† हप्तौँ भोको पेट बसे पनि देशको मुक्तिको लागि लड्न निस्केका लाखौँ सोभियत महिला तथा जनता जुम्लामा आफ्नै देशको प्रतिनिधि अञ्चलाधीशको आँगनमा दुई मुठी चामल माग्न गएकी एक निर्धन, निर्बल महिलाको चित्रण गजबको लाग्यो । अवस्था त अहिले पनि गरिबका उस्तै छन्† फेरिएका छन् त वश अञ्चलाधीशका अनुहार र ओहदा !
विषम् (चिसो) परिस्थितिमा भोकभोकै पनि सोभियत जनताले कसरी नाजीवादी हिटलरको फौजसँग लडेर दोस्रो विश्व युद्धमा विजय प्राप्त गरे भन्ने बयान पनि चाखलाग्दो छ । हतियार नभए पनि हजारौँ जनता एकसाथ प्रदर्शन गर्न भए पनि निस्कन्थे; जसले जर्मन सेनाको मनोबललाई कमजोर बनाउँथ्यो ।
जनताको एकता र साहसले देशलाई कति बलियो बनाउँछ भन्ने उदाहरण पुस्तकमा पढ्दै गर्दा हाम्रो देशमा जनताको तागत छिन्नभिन्न पार्ने उद्देश्यले युवाहरूलाई विदेश पलायन हुन बाध्य पारिएको बुझ्न सहज हुनेछ । राजदास श्रेष्ठ कतिसम्म भावुक हुनुहुन्थ्यो भने एक उदाहरण यस लेखको एक प्रसङ्गले पनि छर्लङ्ग्याउँछ ।
अर्काे सन्दर्भमा सन् १९७६ मा उहाँसँगै सोभियत सङ्घबाट छात्रवृत्तिमा डाक्टर, इन्जिनियर पढेर फर्कनेको सङ्ख्या मात्रै ५–६ हजारभन्दा बढी थिए भन्नुहुन्छ उहाँ ! त्यस्तो सङ्ख्या कति होला अनि कतिले देशको सेवा गरे होलान् भन्ने जिज्ञासा पाठकका मनमा आउनु स्वाभाविक हो ।
‘माओवादी आन्दोलनबारे गलत ठम्याइ’ शीर्षकको अर्काे रोचक पठन सामग्री हो । सो लेख पढेपछि माओवादी सशस्त्र द्वन्द्वको बेला माओवादी पीडित भनेर शरणार्थीको रूपमा अमेरिका जानेको सङ्ख्या बाक्लै थियो होला भनी अनुमान लाउन गा¥हो हुन्न । उतिबेला माओवादी समर्थकलाई पनि माओवादी पीडित बनाई ‘ग्रीनकार्ड दिलाउन सघाउने नेपालीहरू अमेरिकामा थुप्रै थिए भन्ने पुस्तकको उदाहरणले अहिलेको भुटानी शरणार्थी काण्डलाई पनि सम्झाउँछ । अमेरिका जाने सपना बुनेर बसेकी उहाँकी श्रीमती निर्मलाले श्रीमान्का कारण भिसा नपाइने कान्छी भनेर ग्रीनकार्ड दिलाउन शरणार्थीकै रूपमा भए पनि आवेदन दिन लगाउने र माओवादी पीडित भएर अमेरिका गएको भनी स्थानीय पत्रिकामा खबर नै छाप्ने कुरा भइसकेको नेपाल फर्केपछि थाहा पाउनुहुन्छ राजदास । श्रीमती निर्मला त्रिविमा पुस्तकालय विभागकी प्रमुख नै थिइन् । यसले त्यतिबेला नै बौद्धिक पलायन कुन हदसम्म थियो भन्ने पनि अनुमान लगाउन सकिन्छ ।
सपनाको देश भनेर अमेरिका जानुभएका राजदासले आखिरमा अमेरिकालाई फटाहाको देश, ठगको देश, लुटेराको देश, कर छलीहरूको देश भनेर बुझ्नुभयो, भोग्नुभयो ।
देशमा रित्तो हात फर्के पनि अमेरिकी गोराहरूको अहङ्कार, जातिभेद, रङ्गभेदप्रति वितृष्णा मनभरि बोकेर ल्याउनुभयो; अमेरिकाप्रति घृणाभाव साँचेर आउनुभयो ।
प्यालेस्टिनविरुद्ध अमेरिकी इजरायली युद्ध र फासीवादी बर्बर हमलाको विरोधमा उहाँ नेपालमा भएका प्रदर्शनहरूमा जीवनको अन्तिम समयसम्म सक्रिय सहभागी हुनुभयो† अन्तर्राष्ट्रिय कर्तव्यसमेत निर्वाह गर्नुभयो ।
उहाँले अमेरिकामा ५ वर्ष आफ्नै कर्मको फल भोगेर देश फर्किएको स्वीकार्नुभएको छ । तर, पाठकलाई उहाँले आफ्नो होइन नेपालका शासक दलहरूको कर्मको फल उहाँ अनि उहाँ जस्तै हालतमा रहेका नेपालीहरूले भोगिरहेको अनुभव गरिरहेका छन् । एक जना वरिष्ठ इन्जिनियर अमेरिका भौतारिनुपर्ने स्थिति ल्याउने शासक दलहरूप्रति नयाँ पुस्तामा घृणाभाव जगाउन सकियो भने उहाँप्रति सच्चा श्रद्धाञ्जली र सम्मान हुने कुरामा दुईमत नहोला !
Leave a Reply