भर्खरै :

नगर प्रमुख प्रजापतिसँग पूर्वी चीन प्राविधिक विश्वविद्यालयका डीन प्राध्यापक डा. लिऊ युए–मिङ्गको भेट

नगर प्रमुख प्रजापतिसँग पूर्वी चीन प्राविधिक विश्वविद्यालयका डीन प्राध्यापक डा. लिऊ युए–मिङ्गको भेट

भक्तपुर, २८ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग पूर्वी चीन प्राविधिक विश्वविद्यालयका विदेशी भाषा तथा अन्तर्राष्ट्रिय सञ्चार सङ्कायका डीन प्राध्यापक डा. लिऊ युए–मिङ्गले भेट गर्नुभयो ।
भेटमा उहाँहरूबिच भक्तपुर नगरपालिका र चिनियाँ नगरपालिकाहरूबिच मैत्रीपूर्ण सम्बन्धको सम्भावना, ख्वप इन्जिनियरिङ कलेजलगायतका शैक्षिक संस्था र त्रिवि कम्फ्युसियस इन्स्टिच्युटबिच सहकार्य र नगरपालिकाद्वारा सञ्चालित कलेज र पूर्वी चीन प्राविधिक विश्वविद्यालयसँगको सहकार्य र आदानप्रदानको सम्भावनाबारे छलफल भयो ।
नगर प्रमुख प्रजापतिले नेपाल र चीनको सम्बन्ध धेरै पुरानो भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, खानेपानी, विकास निर्माणलगायत जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले संविधान र कानुनको परिधिभित्र रहेर जनताको सेवा गर्दै आएको स्पष्ट पार्दै उहाँले भक्तपुर नगरपालिकाले पर्यटन शुल्कबाट उठेको रकम भक्तपुरको सन्तुलित विकासमा खर्च गर्दै आएको बताउनुभयो । उहाँले चीनको विकासबाट नेपालले धेरै कुरा सिक्न बाँकी रहेको बताउनुभयो ।
प्राध्यापक लिऊ युए–मिङ्गले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूको स्थलगत अवलोकन गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै भक्तपुरको दरबार क्षेत्रले देशको इतिहासलाई आकर्षक ढङ्गले प्रदर्शन गरिरहेको बताउनुभयो । उहाँले सि चिङ फिङको नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवादको विकास गरिरहेको बताउनुभयो ।
नगरपालिका र नपाद्वारा सञ्चालित कलेजसँग सहकार्य गर्न तत्पर रहेको औँल्याउँदै उहाँले चिनियाँ विद्यार्थीहरू विभिन्न देशका विद्यालयहरूमा अध्ययन गर्दै चीनको सामाजिक र आर्थिक प्रगतिमा योगदान गरिरहेको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले डा. मिङ्गलाई नगरपालिकाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो । डा. मिङ्गले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज, ख्वप कलेज अफ ल, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङलगायतको शैक्षिक संस्थाहरूको स्थलगत अवलोकन र शिक्षकहरूसँग अन्तरक्रिया गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *