भर्खरै :

व्यक्तिगत र दलगत स्वार्थमा लागेर देश समृद्ध नहुने

व्यक्तिगत र दलगत स्वार्थमा लागेर देश समृद्ध नहुने

कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीलाई अगाडि बढाएर समाजवादी प्रचार अभियानमा लाग्नुपर्ने राजनीतिक दलका शीर्ष नेताहरूले आफ्नै नेताहरूलाई ठाउँमा राख्न सकेका छैनन् । पार्टीभित्र अन्तद्र्वन्द्व चर्केर नेताहरू वार कि पारको स्थितिमा पुगेको बेला उनीहरू वाम एकताको कुरा खोक्दै छन् । पार्टीमा झगडा गराउने, अन्तद्र्वन्द्व चर्काउने, कार्यकर्ता भाँड्ने, भड्काउने कार्यले नेपालको कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन कमजोर भएकोमा शङ्का छैन । सत्ता जोगाउन र पार्टी नेता तथा कार्यकर्ता जोगाउन समस्यामा परेका दलका नेताहरू र शासकहरूलाई देश बनाउने फुर्सद कहाँ मिल्छ ? देशको आयस्रोतमा आँखा गाड्ने, भ्रष्टाचार, बेथिति, कुशासन र अनियमितता गर्न प्रोत्साहन गर्ने, भ्रष्टाचारी र अपराधीमाथि कारबाही नगर्ने शासक र ठुला दलका नेताहरूको देश विकासमा कसरी ध्यान पुग्छ ?
आफ्नै स्रोत र साधन प्रयोग गरी कलकारखाना तथा उद्योग खोलेर जनताका आधारभूत आवश्यकता पूरा गर्नुको सट्टा कलकारखाना बेच्ने, देशका युवा विद्यार्थीलाई विदेशमा पु¥याउने शासक दलहरू के देश विकास गर्न अघि बढ्लान् ? देशमा भइरहेको भ्रष्टाचार, बेथिति, अनियमितता, कुशासन र अराजक गतीविधिले देशको बदनाम भइरहेको छ । सामन्त, पुँजीपति, जमिनदार, जालीफटाहाहरू जनतामाथि शोषण गर्ने, दलगत र व्यक्तिगत स्वार्थमा भुल्ने गलत चिन्तनकै कारण देश बर्बादीको स्थितिमा पुगेको हो । जनता सचेत हुनुपर्छ† जनता जाग्नुपर्छ र देशविरोधी र जनविरोधी शासक तथा दलका नेताहरूको जनतामाझ उदाङ्ग्याउनुपर्छ । जनताको मुख्य सवाल दल ठुलो र सानो, पुरानो या नयाँ पार्टीको होइन† बहुमत जनताको निम्ति काम गर्ने पार्टीको खाँचो छ† इमानदारीपूर्वक देश र जनताको सेवा गर्ने पार्टीको खाँचो छ । दल ठुलो हुनु या सरकारको नेतृत्व गर्नु नै दलको सच्चाइ होइन । दल ठुलो भए पनि, सरकारको नेतृत्व पटक पटक गरे पनि देशमा देशभक्त र इमानदार नेताहरूको अभाव छ ।
दल ठुलो भए पनि, सरकारको नेतृत्व गरे पनि देश विकास र जनताको जीवनस्तर उकास्ने खाका बनाउन या दृष्टिकोण दिन सकिएन भने देशले विकासको उचाइ बढाउन सक्दैन । नेपाल मजदुर किसान पार्टीले जातीय राज्य बनाउन नहुने, प्रदेश प्रदेशमा हिमाल, पहाड र तराईको भूमि समेट्नुपर्ने सुझाव दिएको थियो । दूरदष्टि राखेरै सन्तुलित विकास गर्नुपर्छ भन्ने धारणा नेमकिपाले अगाडि बढाएको हो । विदेशमा सम्पत्ति राख्न नपाउने, सम्पत्तिको सीमाङ्कन गर्नुपर्ने माग पनि नेमकिपाको हो । नेपाल–भारत खुला सीमा वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नुपर्ने प्रस्ताव नेमकिपाले उहिल्यै राखेको हो । नेपालका शासकहरू विदेशी शक्ति राष्ट्रहरूको उठबसमा बस्न नहुने, मिचिएको नेपाली भूमि फिर्ता लिन सरकारले पहल गर्नुपर्ने माग नेपाल र नेपाली जनताको निम्ति उठाइएको हो । यी माग नेमकिपाले दूरदृष्टि राखेरै उठाएको हो । तर, शासकहरू देश विकासकै निम्ति सरकार हो भने तापनि उनीहरूमा देश विकास गर्ने दृष्टिकोण देखिँदैन न त इच्छाशक्ति नै देखिन्छ । पदको दुरूपयोग गरी सम्पत्ति कुम्ल्याउनेतर्फ मात्र उनीहरूको ध्यान पुगेको छ । त्यही कारण शासकहरू फेरिए पनि जनताको अवस्था फेरिएन† जनताको जीवन सुनिश्चित भएन । अहिले प्रश्न उठिरहेको छ, राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताले के पाए ? अहिले पनि बिचौलियाको रजगज छ† दण्डहीनताले सीमा नाघेको छ† सुशासन भन्दै कुशासनले घेरेको छ । देशमा साँच्चैको सुशासन कहिले हुने हो ? शासकहरूले इमानदारीपूर्वक राजनीति गरेको सन्देश कहिले बाँड्ने हो ? कमिसन, भ्रष्टाचार, अनियमितताबाट शासकहरू कहिले मुक्त हुने हुन् ? देशको मुहार फेर्न शासकहरू कहिले लाग्ने ? दसौँ पुस्ताको लागि चाहिने सम्पत्ति जोडेर, व्यक्तिगत र दलगत स्वार्थ पूरा गरेर देश समृद्ध हुँदैन† जनता सुखी हुँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *