भर्खरै :

सरकारले गरेका हरेक गतिविधि र नीतिगत भ्रष्टाचारबारे अध्ययन गरी त्यसलाई अदालतको दायरामा ल्याउनु जरूरी

सरकारले गरेका हरेक गतिविधि र नीतिगत भ्रष्टाचारबारे अध्ययन गरी त्यसलाई अदालतको दायरामा ल्याउनु जरूरी

भक्तपुर, ३१ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लको आयोजनामा ‘फौजदारी कानुन र न्याय’ विषयक प्रथम राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा कलेजको सभा हलमा भएको सम्मेलनमा अतिथि बिजुक्छेँले सम्मेलन उद्घाटन गर्दै सम्मेलन सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले सरकारमा सामेल पार्टीहरूले मुखले जे भने पनि वास्तवमा ती पार्टीहरूले देशको अर्थतन्त्र ध्वस्त पार्ने काम गरिरहेको धारणा राख्नुभयो ।
सरकारको कामलाई कसरी कानुनको दृष्टिमा हेर्ने भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, “सरकारले जे जे गर्छ के त्यसलाई समर्थन गर्दै जाने हो ? जसरी कुनै व्यक्तिले अपराध गरेमा उसलाई अन्याय गरेको आधारमा न्यायालयले कारबाही गर्छ । अहिले देशलाई नै लथालिङ्ग पार्ने गरी नीतिगत भ्रष्टाचार गर्ने अपराध शासक पार्टीहरूबाट भइरहेको छ, त्यसले देशलाई नै समाप्त पार्ने खतरा भएकोले त्यसबारे राम्ररी अध्ययन हुनैपर्छ । कानुनका विद्वान एवं विद्यार्थीहरूले भएका कानुनबारे मात्र होइन सरकारले गरेका हरेक गतिविधि र नीतिगत भ्रष्टाचारबारे अध्ययन गरी त्यसलाई अदालतको दायरामा ल्याउनु जरूरी छ† त्यसो गर्न नसकेमा बहुमत प्राप्त सरकारले जे पनि गर्ने खतरा हुन्छ । यसबारे कानुनका विद्यार्थी एवं विज्ञहरूले चिन्तन एवं छलफल चलाउनु आवश्यक छ ।”
देशका कतिपय कानुनहरू विदेशीको निर्देशनमा बनेको र त्यसको ज्वलन्त उदाहरण एमसीसी भएको चर्चा गर्दै उहाँले एमसीसी देशघाती सम्झौता भएको, देशघाती एमसीसी सम्झौता पारित गर्ने संसद् प्रमुखरूपमा जिम्मेवार भए पनि त्यस्ता सांसदलाई चुनेर पठाउने अहिलेको सरकार नै प्रमुखरुपमा दोषी भएको बताउनुभयो ।
“संसद् राजनीतिक बहसको थलो हुनुपर्छ । बेलायती प्रजातान्त्रिक पद्धतिमा बहुमत प्राप्त पार्टीले सरकार चलाउने हुनुपर्नेमा नेपालमा त्यस्तो भइनरहेको, प्रमुख प्रतिपक्ष हुनुपर्ने पार्टीले सरकार चलाई रहनु बेलायती प्रजातान्त्रिक पद्धति विपरीत रहेको हुँदा यस विषयलाई अदालतमा लानु जरूरी छ”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भएपछि नेपालमा विदेशी विश्वविद्यालयहरू सञ्चालन भएको, उच्च शिक्षा अध्ययन र युवालाई वैदेशिक रोजगारको नाममा सजिलै भिसा उपलब्ध गराउँदा देशका विश्वविद्यालयहरू बन्द हुने स्थितिमा पुग्नुमा शासक पार्टीहरू नै दोषी भएको उहाँले बताउनुभयो ।
सरकारको हरेक खोटपूर्ण कामको विरोध गर्नुपर्ने, बुद्धिजीवीहरू सरकारको अगाडि झुक्न नहुने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले देशको स्थिति झन् झन् जेलिँदै गएको हुँदा लेख, रचनामार्फत सरकारको खबरदारी गर्ने काम बुद्धिजीवीहरूबाट निरन्तररूपमा हुनु जरूरी छ भन्नुभयो ।
सम्मेलनका प्रमुख वक्ता सर्वोच्च अदालतका पूर्व न्यायाधीश डा. आनन्दमोहन भट्टराईले उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै विधायिकाको प्रमुख प्राथमिकता देशको लागि आवश्यक कानुन निर्माण गर्ने हुनुपर्ने बताउनुभयो ।
“कुनै पनि क्षेत्रमा ‘मिराकल’ हुने गरी परिवर्तन गर्न नसके पनि सुधार गर्नेतर्फ हामी सबैको ध्यान केन्द्रित हुनु जरूरी छ”, उहाँले भन्नुभयो ।
आलोचनाबाट भाग्न नहुने चर्चा गर्दै पूर्वन्यायाधीश भट्टराईले भन्नुभयो, “मानिसहरूबिच विचार नमिले पनि एक–आपसमा सम्मान गर्ने भावना हुनुपर्छ । प्रजातन्त्र भनेको विचारहरूको बजार हो । प्रजातन्त्रमा विचारलाई निषेध गर्नुहुन्न ।”
लागुपदार्थ दुव्र्यसन अहिले प्रमुख समस्या भइरहेकोले यसको समाधानमा स्थानीय निकायले पहल गर्न सके युवा पुस्ताको निम्ति ठुलो सहयोग पुग्ने उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति, भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप कलेज अफ ल सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले कानुनका विद्यार्थीहरूलाई अहिलेदेखि नै कानुनबारे राम्रो जानकारी दिने उद्देश्यले राष्ट्रिय सम्मेलनको आयोजना गरेको चर्चा गर्दै सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरूले नेपालको फौजदारी कानुन र न्यायसम्बन्धी राष्ट्रिय नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “न्याय शब्द जति कर्णप्रिय छ । त्यति व्यवहारमा देखिन सहज छैन । न्यायपालिका भ्रष्टाचारको आरोपबाट मुक्त नभएसम्म न्यायको कल्पना गर्न सकिँदैन । अहिले हाम्रा वरिष्ठ अधिवक्ताहरू हाकाहाकी सञ्चार माध्यममा सार्वजनिकरूपमा न्यायपालिकाभित्र भ्रष्टाचार भएको स्वीकार्छन् । न्यायपालिकाभित्र जनताको विश्वास कायम नभएसम्म न्यायको आशा गर्न सकिन्न ।”
जनताको आस्थाको केन्द्रको रूपमा रहेका न्यायाधीशहरूको व्यवहार र आचरण राम्रो हुनु जरूरी छ भन्दै प्रमुख प्रजापतिले न्यायक्षेत्र राम्रो भएमा देशको अन्य क्षेत्र राम्रो हुने र न्याय क्षेत्र बिग्रिए अन्य क्षेत्र पनि बिग्रिने धारणा राख्नुभयो ।
पूर्वाञ्चल विश्वविद्यालय विषय समितिका अध्यक्ष रूद्र शर्माले समाजसँग जोडिएका समस्याहरू समाधानमा विश्वविद्यालयको ध्यान केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।
विश्वविद्यालयको अध्ययन अनुसन्धान संविधान र कानुनको परिधिमामात्र सीमित नभई विश्व दृष्टिकोणअनुसार हुनुपर्ने मान्यता रहेको उहाँले बताउनुभयो ।
फौजदारी कानुनका विज्ञ प्रा.डा. रजितभक्त प्रधानाङ्गले ‘फौजदारी कानुन र न्यायअन्तर्गत सुधारात्मक दण्ड प्रणाली’बारे राष्ट्रिय सम्मेलनको आयोजना एक महत्वपूर्ण कदम भएको चर्चा गर्दै सरकारले गर्नुपर्ने काम ख्वप कलेज अफ लले गरेको छ भन्नुभयो ।
देशका कारागारमा १३ हजार कैदी राख्ने क्षमता भए पनि २८ हजारभन्दा बढी कैदी राखिरहेको चर्चा गर्दै उहाँले सरकारसँग जेल बनाउने भिजन नभएको र भएका जेल र कारागारहरू अत्यन्तै जीर्ण अवस्थामा रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले धन्यवाद मन्तव्य व्यक्त गर्दै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने लक्ष्य लिई भक्तपुर नगरपालिका अगाडि बढिरहेको हुँदा भनपाद्वारा सञ्चालन हुने ख्वप विश्वविद्यालय विधेयकलाई पारित गर्नु जरुरी छ भन्नुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले अपराधको गम्भीर्यता र पीडक पक्षको मर्मलाई ध्यानमा राखी अपराधीलाई क्षमा दिन सकिने धारणा राख्नुभयो ।
ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले स्वागत मन्तव्य राख्दै राष्ट्रिय सम्मेलनको उपादेयताबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रम कलेजका शिक्षक आशिष पौडेलले उद्घोषण गर्नुभएको थियो । १० वटा शैक्षिक संस्था र ५ वटा गैरशैक्षिक संस्थाको प्रतिनिधिहरूको सहभागिता रहेको सम्मेलनमा १७ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
सम्मेलनको कार्यपत्र प्रस्तुतिमा प्रा.डा. रजितभक्त प्रधानाङ्ग, डा. कुन्साङ लामा, अधिवक्ता लक्ष्मी बखाद्यो, प्रकाश उप्रेति, धर्मराज पौडेल, रेवतीराज त्रिपाठी, राजेश बास्तोलाले ‘सेसन चेयर’ को भूमिका निर्वाह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *