भर्खरै :

अविचलित कार्यकर्ता शाक्यको स्मृतिमा श्रद्धाञ्जली सभा

अविचलित कार्यकर्ता शाक्यको स्मृतिमा श्रद्धाञ्जली सभा

काठमाडौँ, ३२ साउन । नेपाल मजदुर किसान पार्टी सिन्धुपाल्चोक जिल्ला समितिका पूर्वअध्यक्ष श्यामलाल शाक्यको श्रद्धाञ्जली सभा यहाँ शनिबार सम्पन्न भयो ।
सभामा नेमकिपाका सचिव प्रेम सुवालले दिवङ्गत शाक्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै श्यामलाल शाक्यसँग हाम्रो नाता विचारको हो । उहाँले देश र जनताको निःस्वार्थरूपमा सेवा नै राजनीति भएको नेपाल मजदुर किसान पार्टीको विचारलाई आत्मसात गर्नुभएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीमा आबद्ध भए यता श्यामलाल सरकारमा पटक पटक गएका दलहरूको पद, पैसा र झूटा आश्वासनको लोभमा नपर्नुभएको उहाँले प्रस्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, मजदुर वर्गका महान् गुरु कार्ल माक्र्सलाई प्रतिक्रियावादी सरकारले देश निकाला ग¥यो । माक्र्सलाई आफ्ना छोराछोरी खुवाउन र उपचार गर्न पनि गा¥हो भयो । उहाँका ६ जना सन्तानमध्ये २ जना सन्तानको उपचार अभावमा मृत्यु भयो । तर, माक्र्स विचलित हुनुभएन । श्यामलालजीले माक्र्सको जीवनी अध्ययन गरेर व्यवहारमा लागु गर्ने प्रयास गर्नुभयो ।
श्यामलालजीले सबै दुःखको समाधान समाजवादमा हुने र नेपालमा पुँजीवादी सरकारमा गएर समाजवादलाई ठगी खाने उपाय बनाएका कम्युनिस्ट दाबी गरेका पार्टी र तिनका नेताहरूको व्यवहार राम्ररी बुझ्नुभएको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “सिन्धुपाल्चोक गुठीजग्गा कमाउने किसानहरूले स्वामित्व नपाएको र सिक्रेका जनताले आफ्नो जग्गा नापीसमेत नहुँदाको पीडा खेपिरहेको विषय उहाँले घरबार उठाउनुभयो । नापी छुटेको जग्गा पुनः नापी गराउन सिंहदरबारमा निवेदन पु¥याउन हामीले पनि सहयोग गरेका थियौँ तर सरकारमा गएकाहरूले वास्ता गरेनन् । श्यामलालजीलाई अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय पनि जानकारी छ । अहिले नेपाल सरकारले जनतालाई २७ खर्ब सार्वजनिक ऋण बोकायो भने देशको व्यापारघाटा १५–२० खर्ब छ । युवालाई वैदेशिक रोजगारीमा पठाइएको हुँदा दाल, चामल, तरकारी, फलफुल महँगोमा भारतबाट किन्नुपर्ने अवस्था भयो । नेपालको जग्गा बाँझो राख्न लगाइयो ।”
अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गर्दै सचिव सुवालले भन्नुभयो, अन्तर्राष्ट्रिय परिस्थिति पनि जटिल छ । संरा अमेरिकी सरकारले इजरायल, युक्रेनलाई हतियार बेचेर नाफा खान्दैछ । अमेरिकी राष्ट्रपति ट्रम्पले भारत र चीनलाई रुससँग इन्धन खरिद नगर्न दबाब दिँदै छ । ट्रम्पले आलास्कामा पुटिनसँग भेटवार्ता गरे । संरा अमेरिकाले युक्रेनलाई हतियार नदिएको भए रुसविरुद्ध युक्रेनको आक्रमण हुने थिएन ।
इजरायलले प्यालेस्टिन, सिरिया, इरानलगायत मध्यपूर्वमा देशमा आक्रमण गरेपछि आठ ओटा रासायनिक मलकारखाना ध्वस्त भयो ।
उहाँले श्यामलालजीको मृत्युलाई शक्तिमा बदलेर सिन्धुपाल्चोकका कार्यकर्ताहरू देश र जनताको सेवालाई अगाडि बढाउनु रहेको बताउनुभयो ।
सभामा मुना तामाङले श्यामलाल शाक्यको योगदानबारे चर्चा गर्दै समाजवादी व्यवस्था स्थापनाका लागि महिलाहरू पनि सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सभामा नेमकिपा सिन्धुपाल्चोक जिल्ला समितिका अध्यक्ष गणेशराज खरेलको सभापतित्वमा सम्पन्न उक्त सभामा नेमकिपा जिल्ला समितिका सचिव धिर्जबहादुर कायष्ठ र सदस्य मेवाङ शेर्पाले श्यामलाल शाक्यले देश र जनताको निःस्वार्थरुपमा काम गर्नुका साथै सिन्धुपाल्चोकका किसानहरूको समस्या समाधानको लागि विशेष भूमिका खेल्नुभएकोबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *