भर्खरै :

नयाँ पुस्ता विदेश पलायन हुँदा देश कमजोर हुने

नयाँ पुस्ता विदेश पलायन हुँदा देश कमजोर हुने

भक्तपुर, ३१ साउन । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले प्रतिक्रियावादीहरूले जनताका छोराछोरीहरूलाई राजनीति गर्न हुँदैन भन्ने गलत सन्देश दिने विगत धेरै वर्षदेखिको प्रवृत्ति अहिले पनि रहेको हुँदा देशको सत्ता प्रतिक्रियावादीहरूको कब्जामा रहेको विचार व्यक्त गर्नुभएको छ । उहाँले उक्त विचार वागीश्वरी माध्यमिक विद्यालय कमलविनायकमा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको लागि आयोजित बधाई तथा मार्गनिर्देशन कार्यक्रममा प्रमुख अतिथि भई व्यक्त गर्नुभएको हो ।
शिक्षक, विद्यार्थीलगायत हामी सर्वसाधारण कसैले राजनीति गर्न नहुने भनेर कुप्रचार गरी वाग्मती प्रदेश सभा अहिले ठेकेदारहरूको कब्जामा पुगेको दृष्टान्त दिँदै उहाँले राजनीतिलाई नाफानोक्सानको हिसाबविरुद्ध देश र जनताको निःस्वार्थ भावले समर्पित भई जनताको सेवा गर्ने राजनीतिलाई जोड दिनुपर्नेमा विशेष प्रकाश पार्नुभयो ।
नेपाल भौगोलिकरूपमा सानो देश भए पनि सभ्यतामा संसारकै शीर्षस्थानमा रहेको उल्लेख गर्दै उहाँले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदामा सर्वाधिक धनी छ भन्नुभयो । यस्तो देशलाई नयाँ पुस्ताले छोडेर विदेश पलायन हुँदा देश थप कमजोर हुने उल्लेख गर्दै उहाँले शासकहरूको गलत नीतिकै कारण देश कमजोर भएको हुँदा देश बनाउने सङ्कल्पसहित नयाँ पुस्ता राजनीतिमा आउनुपर्ने सुझाव दिनुभयो ।
देश ठेकेदारहरूको कब्जामा गएकोले दिनानुदिन भ्रष्टाचार बढेको भन्दै उहाँले भन्नुभयो, “अरू देशको दास बन्नुमा गौरव गर्नु नै यो देशको दुर्भाग्य हो† त्यसैले आत्म स्वाभिमानलाई पैसाको लागि कहिल्यै बन्धक राख्नुहुँदैन ।”
बा¥ह कक्षा उत्तीर्ण विद्यार्थीमा अझै परिपक्वता आई नसक्ने हुँदा अझै थप १० वर्ष गहन अध्ययनमा लाग्न सुझाव दिँदै उहाँले विद्यार्थीहरूलाई विदेशी दास र दलाल हुन नहुने, भ्रष्टाचार नगर्ने बरु निःस्वार्थी र इमानदारीपूर्वक देश र जनताको सेवा गर्न कसम खानुपर्ने सल्लाह दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सामाजिक सञ्जालमा लागेको नयाँ पुस्ताको जीवन झन्झन् एक्लोपनमा सीमित हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । गलत सङ्गतमा परेर दङ्गा फसादमा पर्दा जीवनमा त्यसको दूरगामी असर पर्ने भन्दै उहाँले सामाजिक मूल्य र मान्यताभन्दा पैसा ठुलो नहुने विचार व्यक्त गर्नुभयो ।
यो उमेरमा बढीभन्दा बढी सामाजिक, सांस्कृतिक, सामुदायिक क्रियाकलापमा सक्रिय हुन सके एक्लोपन नहुने उल्लेख गर्दै उहाँले आत्मअनुशासनमा रहन सुझाव दिनुभयो ।
वैदेशिक सम्बन्धन प्राप्त भन्दैमा विश्वास नगर्न सुझाव दिँदै समाजमा नक्कली शैक्षिक संस्थाहरू रहेको हुँदा त्यस्तोमा नफस्न सचेत पार्नुभयो ।
विद्यालयको कक्षा ११–१२ का संयोजक ज्ञानसागर प्रजापपतिले वागीश्वरी नमुना विद्यालयका विद्यार्थी पनि नमुना नै हुनुपर्ने भन्दै वागीश्वरीले पाठ्यक्रमको औपचारिक शिक्षासँगै सहकार्यको सुसंस्कार पनि व्यवहारिक रुपमा सिकाउँदै आएको बताउनुभयो ।
सरकारको विद्यालय मर्ज गर्ने नीतिविरुद्ध वागीश्वरीले सहकार्य गरेर छिमेकी विद्यालयहरू सबल बनाएका उदाहरण दिँदै उहाँले सहकार्यको संस्कारले समाज नै सबल हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वागीश्वरी माविबाट कक्षा १२ उत्तीर्ण विद्यार्थीको गन्तव्य वागीश्वरी कलेज हुनुपर्ने सल्लाह दिँदै वागीश्वरी भक्तपुर जिल्लाकै एकमात्र क्युएए प्राप्त सामुदायिक कलेज हो भनी क्युएएको महत्वमाथि प्रकाश पार्नभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा व्यवस्थापन समूहका इन्चार्ज गेहेन्द्रप्रसाद दाहालले स्वागत मन्तव्य दिनुभएको थियो भने विद्यार्थी सेफिया लागेले वागीश्वरीया आफूले अध्ययन गर्दाका पाँच वर्षको सुखद अनुभव सुनाउनुभएको थियो । शिक्षक भानुभक्त हुमागाईले पनि बोल्नुभएको सो कार्यक्रममा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनो वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले गीत र नृत्यहरू पनि प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *