अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
सियोल, २ भदौ (एपी) । जनताको व्यापक विरोधलाई बेवास्ता गर्दै दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सोमबार आणविक हतियारयुक्त वार्षिक ठुलो सैन्य अभ्यास सुरु गरेका छन् ।
यसले क्षेत्रीय तनाव अझै बढ्ने सम्भावना रहेको छ । प्रजग (उत्तर) कोरियाले यसलाई आक्रमण अभ्यासका रूपमा चित्रण गर्दै ‘कुनै पनि उक्साहट’ को जवाफ दिने चेतावनी दिएको छ ।
एघार दिने ‘उल्ची फ्रिडम सिल्ड’ नामक अभ्यासमा करिब २१ हजार अमेरिकी र १८ हजार दक्षिण कोरियाली सैनिकहरू सहभागी छन् । यसमा कम्प्युटर–सिमुलेटेड कमान्ड पोस्ट अपरेसन र फिल्ड प्रशिक्षण समावेश छ ।
संरा अमेरिका र उसका सहयोगीहरूले यसलाई रक्षात्मक भन्दै आएका छन्, तर प्रजग कोरियाले प्रायः यस्ता अभ्यासलाई हतियार परीक्षण र सैन्य प्रदर्शन गर्ने बहानाका रूपमा प्रयोग गर्ने गरेको छ ।
गत हप्तामा प्रजग कोरियाली रक्षामन्त्री नो क्वाङ चोलले अभ्यासलाई ‘सैन्य टकराव’ को सङ्केत भन्दै आफ्नो सेना सीमा बाहिर जाने कुनै पनि गतिविधिको प्रतिकार गर्न तयार रहेको बताउनुभएको थियो ।
यो अभ्यास दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे म्युङका लागि संवेदनशील समयमा भइरहेको छ । उहाँ अगस्ट २५ मा वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर सम्मेलनको तयारीमा हुनुहुन्छ । ट्रम्पले विगतमा दक्षिण कोरियामा तैनाथ अमेरिकी सैनिकहरूको खर्च बढाउन माग गर्नुभएको थियो, जसले गठबन्धनमा दबाब बढाएको छ ।
प्रजग कोरियाले लीको कूटनीतिक आह्वानलाई वास्ता गरेका छैन । नेता किम जोङ उनले आफ्नो हतियार कार्यक्रमलाई गति दिइरहेका बेला र रुससँग सम्बन्ध गहिरो बनाइरहेका कारण कोरियाली प्रायः द्वीपमा तनाव बढेको छ । लीले सोमबार भन्नुभयो, “हामीलाई अब आवश्यक कुरा भनेको दृढ सुरक्षा तयारीसँगै निरन्तर तनाव घटाउने कदम चाल्नु हो ।”
दक्षिण कोरियाले सोमबार चारदिने नागरिक सुरक्षा अभ्यास पनि सुरु गरेको छ । अघिल्लो सरकारले यस्तै अभ्यासलाई अझ विस्तार गरेको थियो, जसले किमलाई क्रोधित बनाएको थियो ।
ली सरकारले सन् २०१८ मा हस्ताक्षर भएको अन्तर–कोरियाली सैन्य सम्झौता पुनःस्थापना गर्ने प्रयास गर्ने बताएको छ । त्यस सम्झौताले सीमा क्षेत्रमा बफर जोन र नो–फ्लाई जोन बनाएको थियो ।
ट्रम्पले अघिल्लो कार्यकालमै दक्षिण कोरियालाई आफ्नो भूमिमा तैनाथ २८ हजार पाँच सय अमेरिकी सैनिकका लागि थप भुक्तानी गर्न दबाब दिएका थिए । उनका सहयोगीहरूले गठबन्धन पुनर्गठनबारे सङ्केत दिएका छन्, जसले दक्षिण कोरियामा अमेरिकी सेनाको आकार र भूमिकामा असर पार्न सक्छ ।
विशेषज्ञहरूका अनुसार यस्तो दृष्टिकोणमा दक्षिण कोरियाले प्रजग कोरियासँगको युद्धको खतरामा अझ ठुलो भूमिका खेल्नुपर्ने हुन्छ भने अमेरिकी सेना चीनप्रति बढी केन्द्रित हुनेछ । यसले सियोललाई थप जोखिम र खर्च बेहोर्नुपर्ने अवस्था ल्याउन सक्छ ।
हालै पत्रकारहरूसँग बोल्दै, अमेरिकी सेनाका कमान्डर जनरल जेभियर ब्रुनसनले प्रजग कोरियाको आणविक महत्वाकांक्षा, रुससँगको गठबन्धन र चीनको चुनौतीलाई ध्यानमा राख्दै ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक’ का लागि गठबन्धनलाई आधुनिक बनाउनु जरुरी रहेको बताएका थिए ।
Leave a Reply