भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम
- असार ७, २०८३
मलाई कतिपय स्कूलमा खानपानका विषयमा बोल्न आग्रह गर्छन् । एउटा सरकारी स्कूलका शिक्षकहरूले भने, “बालबालिकाको पोषण कस्तो हुनुपर्छ भनेर अभिभावकलाई भन्दिनुपर्यो, किनभने बाल पोषणका बारेमा अभिभावकले बेवास्ता गरेर पत्रु खाना नै खाजा दिएर पठाउँछन् । त्यसो गर्दा हामीले भनेका कुरा विद्यार्थीले वास्तै गर्दैनन् ।”
बालबालिकालाई स्कूलमै खाजा दिने ती स्कूलका शिक्षकले अभिभावकले आफ्ना सन्तानको स्वास्थ्यको बेवास्ता गरेको सुन्दा त दुःखी भएँ । एक स्कूलकी शिक्षिकाले भनिन्, “मेरो स्कूलमा ६ वर्षको एक बच्चा छ, उसले त चपाउनै जान्दैन । दालभात सबै मिसाएर पिसेर दिनुपर्छ । बच्चाका आमाबुबाले बच्चालाई खुवाउन गा¥हो हुने भनेर सबै कुरा मिक्सरमा पिसेर खान दिने गर्दा रहेछन् । बच्चाको दाँतको पनि राम्रो विकास भएको छैन ।” यो सुनेर मेरो मन खिस्रिक्क भयो । बच्चाले चिउरा र मकै चपाउन नसक्ने यो बालकले आमाबाबुको ‘विषालु प्रेम’ को फल भोगिरहनुपरेको छ, भविष्यमा झन् बढी भोग्नेछ । मैले भनेँ, “बच्चाका मातापितालाई भनिदिनुस्, यसरी बच्चालाई सबै कुरा पिसेर दिइयो भने त उसको दाँत बिग्रन्छ । पाचन शक्ति पनि कमजोर हुन्छ । दाँतले चपाउँदा अनुहारका मासंपेशीहरू पनि बलिया हुन्छन् । चपाएर खाइएका खाना स्वादका आनन्दबाट त बच्चा वञ्चित हुन्छ नै ठुलो हुञ्जेलसम्म चपाउन नजानेपछि असर पर्छ ।”
कतिपय निजी स्कूलमा गएर अभिभावकसँग छलफल गर्दा बच्चाले चिउरा र मकै चपाउन नसक्ने हुनाले दूधमा कर्नफ्लेक्स र म्युस्ली हालेर खान दिने गरेको पनि सुनेँ । अभिभावकको कुराबाट मैले के बुझेँ भने कर्नफ्लेक्स दिँदा बच्चालाई ‘बढी पौष्टिक तत्व भएको’ खाना दिइएको भन्ने आमाबुबाले ठान्दा रहेछन् । कर्नफ्लेक्स मकैबाट नै बन्ने भन्ने उनीहरूलाई ज्ञान छैन । त्यसैगरी, एक महिलाले छलफलमा भनेकी थिइन्, “मकैका च्याँख्ला र चिउरा त गाउँघरकाले खाने खानेकुरा हुन् । हामीले किन्ने कर्नफ्लेक्स रेसादार पदार्थ र लौह तत्व पनि मिसाइएको हुन्छ भनेर लेखिन्छ । त्यो त मकैभन्दा राम्रो होला नि ।”
मकैमा बाहिरबाट रेसादार पदार्थ मिसाउनै पर्दैन, यो त प्राकृतिकरूपमा मकैमै हुन्छ तर कम्पनीको विज्ञापनले भ्रम छरेको छ । अनि मैले ती महिलालाई भनेँ, “कर्नफ्लेक्स मकैबाट बन्ने मात्र होइन कि त्यसलाई प्रोसेस गरेर अङ्ग्रेजीमा नाम लेखिएपछि र प्याकेटमा आएपछि त्यो महँगो हुन्छ । च्याँख्ला पकाएर, चपाएर ख्वाउन सिकाउनुस् ।”
एक जना महिलाले गाउँमा भनेकी थिइन्, “हाम्रा बच्चालाई त हामीले भात–खाजा दिँदा मान्दैनन् तर बाहिरबाट ल्याएको राइसफ्लेक्स दिँदा मजासँग खान्छन् ।” मैले हाँसउठ्यो हाँसो रोक्दै भनेँ, “राइसफ्लेक्स र चिउरामा त उस्तै पौष्टिक तत्व हुन्छ । तपाईँले ‘राइसफ्लेक्स’ नपाए, चिउरा नै खुवाए पनि हुन्छ । दुवै वस्तु एकैजस्तो हो भनेको सुनेपछि उनी दङ्ग परिन् ।
हामीकहाँ अनेक पौष्टिक भोजन छन् । बालबालिकालाई सहज तरिकाले बनाउन र खुवाउनका लागि अभिभावकले अलिकता मात्र ध्यान दिए पुग्छ । बाहिरबाट पैसा खर्च गरेर पत्रु खाना खुवाउँदा एक दिनका लागि त सजिलो होला, तर जीवनभरका लागि मधुमेह, उच्च रक्तचाप, मोटोपन निम्तन सक्छ । त्यसैले, बच्चालाई एकछिन खुसी पार्न पत्रु खाना खुवाएको के काम ?
Leave a Reply