नपाको नीति तथा कार्यक्रम कार्यान्वयन होस्
- असार ७, २०८३
नेपाल पूर्वाधार निर्माणका लागि स्रोतसाधन सम्पन्न देश मानिन्छ तर ती स्रोत साधनको त्यसको सही सदुपयोग गर्ने योजना शासकहरूले कहिल्यै राखेनन् । उदाहरणका लागि जलविद्युत् विकासको अपार सम्भाव्यता भएर पनि साना र मध्यम आकारकै भए पनि आफैले विकास गर्ने सोचाइ कुनै सरकारले राखेन । सबै आयोजना वा नदीनालाको अधिकार नै विदेशी र केही स्वदेशी कम्पनीहरूलाई दिएर सरकार मस्त मुद्रामा छ । प्राकृतिक प्रकोपका कारण पुराना राजमार्गहरू ठाउँठाउँमा क्षतिग्रस्त भएका छन्, नेपालका सरकारहरू त्यति जीर्णोद्धार गर्न पनि विदेशी सरकारकै मुख ताकिरहेका छन् । देशकै राजधानी सहरको चक्रपथ सडक बनाउन पनि विदेशीकै भर परेको थियो । २०७२ सालको भूकम्पले भत्केका विद्यालय र कलेज भवन जीर्णोद्धार र पुनः निर्माणमा विदेशीको सहायतामा भरपर्दा विपद्पछिको १० वर्षमा पनि सबै भौतिक संरचना जीर्णोद्धार र पुनः निर्माण सम्पन्न भएको छैन ।
नेपालमा पर्याप्त कृषियोग्य भूमि पनि छ । विगतमा नेपाल खाद्यान्नमा आत्मनिर्भर थियो तर आज वर्षको खर्बौं रुपैयाँको खाद्यान्न र तरकारीसमेत विदेशबाट आयात गरेर खानुपर्ने स्थितिमा पुगेको छ । देशलाई कृषि उत्पादनमा अब्बल बनाउन आजसम्मका सरकारहरूले ठोस कार्य गरेनन् । कृषि मन्त्रालयअन्तर्गतको बजेट र कथित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना शासक दलनिकट व्यक्तिहरू पोस्ने वा शासक दलका कार्यकर्ता पाल्ने मेसोमात्र बनिरहेको छ । वास्तविक मेहनती किसानहरूले कुनैखाले अनुदान पाउन नसकिरहेका समाचार बरोबर आइरहेका छन् । कतिपय सिंचाइ आयोजनाहरू निर्माण थालनी भएको वर्षौं र दसकौँ भइसक्दा पनि पूरा नभएका र चालु हुन नसकेका समाचार पनि आइरहेका छन् । यसरी हरेक परियोजना र कार्यक्रम विदेशी ऋण र सहायतामा भर पर्दा देश पिछडिन पुगेकोमा सायदै कुनै विमति होला ।
नेपालमा राणा शासकहरूबाट सुरु भएको परनिर्भरताको प्रवृत्ति राणा शासनको अन्त्यपछिका शासकहरू, पञ्चायतकालका शासकहरू र प्रजातन्त्र पुनःस्थापनापछिका शासकहरूमा झन् फस्तायो । लोकतान्त्रिक गाणतन्त्रका शासकहरूमा पनि त्यही परनिर्भर प्रवृत्ति देखिँदा नेपाली जनता निराश भएका छन् । कतिपय भाग्यवादीहरू ‘यो सतिले सरापेको देश’ भन्न थालेका छन् । युवाहरूले देशमा अवसर रोजगार नपाउँदा आफ्नो भविष्य र आर्थिक सुरक्षा देख्न सकेका छैनन् र ती युवा–विद्यार्थीहरू विदेशिँदा देशको बौद्धिक पलायन वा प्रतिभा पलायन भइरहेको छ ।
कुनै पनि देशको उन्नति र प्रगति त्यस देशका शासकहरूको इच्छा, अनिच्छा र मानसिकतामा भर पर्छ । जनताको चाहना पनि एक तत्व भएपनि शासक वर्गको मानसिकता वा नियतले नै मुख्य भूमिका खेल्छ । शासक वर्गले इच्छा नराखेसम्म जनताले इच्छा राख्नु पनि अपराध हुने राणा शासनकालमा विद्यालय र पुस्तकालय खोलेबापत जेलनेलको सजाय भोगेका अग्रजहरूको इतिहासबाट बुझ्न सकिन्छ । आज नेपालमा प्रश्न उठिरहेको छ, नेपाल आफ्ना छिमेकी देशहरू चीन र भारत जतिक्कै पुरानो देश र सँगसँगैजस्तै प्रजातन्त्र वा स्वतन्त्रता आएको देश भएर पनि किन नेपाल विकासमा निकै पछि प¥यो ? निश्चय पनि नेपाल शिक्षा, स्वास्थ्य, प्रविधिको विकास र पूर्वाधार विकासमा चीन र भारतभन्दा कता हो कता पिछडिएको छ र धेरै कुरामा परनिर्भर बन्न पुगेको छ ।
नेपाल र नेपालजस्ता गरिब देशका शासक वर्गमा परनिर्भर मानसिकता आजको मात्र समस्या पक्कै होइन । यो त साम्राज्यवादी र उपनिवेशवादी शक्तिहरूले आफ्ना उपनिवेश र अर्धउपनिवेशका देशहरूका शासकहरूमा योजनाबद्ध रूपमा रोपेको प्रवृत्ति थियो । दास्रो विश्वयुद्धका क्रममा र त्यसपछिका दसकहरूमा धेरैजसो औपनिवेशिक देशहरूले राजनीतिक रूपमा स्वाधीनता र स्वतन्त्रता त प्राप्त गरे तर सबै देश आर्थिक र मानसिक रूपमा स्वतन्त्र हुन सकेका छैनन् । पुराना साम्राज्यवादी र उपनिवेशवादी शासकहरू र तिनका उत्तराधिकारीहरूले अल्पविकसित र गरिब देशहरूलाई सैनिक रूपमा नभई मस्तिष्क नियन्त्रणको माध्यमले नियन्त्रण गर्ने योजना थाले । विकास र आर्थिक सहायताका नाउँमा त्यस्ता देशहरूको शिक्षादखि लिएर विभिन्न नीति निर्र्माण र कार्यान्वयनमा हस्तक्षेप समेत गर्न थाले । विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैङ्क, अफ्रिकी विकास बैङ्क आदिमार्फत नवउपनिवेशवादी देशहरूले अल्पविकसित र विकासशील देशहरूमा परनिर्भरता र परनिर्भर मानसिकता सकेसम्म बढी निर्यात गरे । गरिब देशका शासकहरूको यही परनिर्भर मानसिकता राष्ट्रउत्थानमा बाधक मात्र बनेका होइनन् बरु ती देशको स्रोतसाधन कब्जा गर्न लागिपरेका नवउपनिवेशवादीहरूको हतियार बन्न पुगेको छ ।
जबसम्म परनिर्भर मानसिकता परित्याग गरिँदैन वा परनिर्भर मानसिकता बोकेका शासकहरूलाई सत्ताबाट गलहत्याउन सकिँदैन तबसम्म कुनै पनि अल्पविकसित देश विकासको पथमा लम्किन सक्दैन । विदेशी सहायताले दिगो विकास र आत्मनिर्भरता प्राप्त गर्न सम्भव छैन । देशको इतिहास र राजनीतिजस्तै विकास पनि जनताको चेतना र जागरुकताले मात्र अघि बढ्ने हुन्छ ।
Leave a Reply