भर्खरै :

विद्यार्थीहरूलाई पाठ्यपुस्तकसँगै सन्दर्भ पुस्तकहरू पनि अध्ययन गराउनु जरुरी

विद्यार्थीहरूलाई पाठ्यपुस्तकसँगै सन्दर्भ पुस्तकहरू पनि अध्ययन गराउनु जरुरी

भक्तपुर, ६ भदौ । विद्यार्थी निकेतन माध्यमिक विद्यालयबाट कक्षा १२ अध्ययन पूरा गरेका विद्यार्थीहरूको बिदाइ तथा विद्यालयमा कक्षा ११ मा भर्ना भएका नवागन्तुक विद्यार्थीहरूको स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले विद्यार्थीहरूलाई पाठ्यपुस्तकसँगै सन्दर्भ पुस्तकहरू पनि अध्ययन गराउनु जरूरी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई मदिरा, सुर्तीजन्य पदार्थ र लागुपदार्थबाट टाढा राख्नु जरूरी छ । जिल्ला जिल्लामा लागुपदार्थ दुव्र्यसनी बढिरहेको चिन्ताको विषय हो; सरकार बेलैमा सचेत हुनु आवश्यक छ ।”
विद्यार्थीहरूलाई खेलकुद, सङ्गीत, चित्रकला, स्काउट, हस्तलेखन, विदेशी भाषा सिकाउने व्यवस्था गर्नु जरूरी भएको उल्लेख गर्दै सांसद सुवालले भनुभयो, “विश्वविख्यात सङ्गीतकार मोजार्ट, विश्वविख्यात साहित्यकार पुश्किनलगायतले १०–१५ वर्षको उमेरमै आ–आफ्नो प्रतिभा प्रस्फुटन गर्नुभएको नेपाली विद्यार्थीहरूको लागि प्रेरणाको विषय हो ।”
नेपाल मजदुर किसान पार्टीले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने आवाज राख्दै आएको छ । यही आवाजलाई साकार पार्न भक्तपुर नगरपालिकाले ख्वप शैक्षिक संस्थानहरू सञ्चालन गरेको हो । यी शैक्षिक संस्थाहरूमा ७७ वटै जिल्लाका ४४ हजार विद्यार्थीहरूलाई उच्च शिक्षा प्राप्त गर्ने अवसर मिल्यो । ख्वप विश्वविद्यालय सञ्चालन गरी नयाँ पुस्तालाई उत्पादन श्रमसँग जोडिएको शिक्षा दिने तयारी भइरहेको छ, सांसद सुवालले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले विद्यालयको नियमित पठनपाठनले शिक्षा र सिकाइका केही अंशमात्र पूर्ति हुने, बृहत् रूपमा सिक्नको लागि समसामयिक घटनाबारे चासो राख्दै राजनीतिक दर्शन, अर्थशास्त्र, समाज विकासबारे पनि अध्ययन गर्नु आवश्यक रहेको प्रस्ट्याउनुभयो ।
उहाँले विद्यालयको गुणस्तर उकास्नको लागि शिक्षक, विद्यार्थी र अभिभावकले कडा मेहनत गरी महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
सभापतिको आसनबाट विद्यालयका प्रधानाध्यापक न्हुछेबहादुर खाताखोले विद्यालयले संस्कारसहितको शिक्षामा जोड दिइरहेकोले सबै पक्षले विद्यालयको शैक्षिक तथा भौतिक निर्माणमा सहयोगको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा अतिथि सुवालले कक्षा १२ मा उत्तीर्ण विद्यार्थीलाई प्रमाणपत्र र विद्यालयको तर्फबाट मायाको चिनो वितरण गरी सम्मान गर्नुभएको थियो । विद्यालयका एसएलसी ब्याज २०३३ का विद्यार्थीहरूको तर्फबाट दुगडलाल शिल्पकारले एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गर्नुभएको थियो ।
शिक्षक श्रीकृष्ण सुवालले स्वागत गर्नुभएको सो कार्यक्रममा शिक्षक उद्धव दाहाल, विद्यार्थीहरू सुस्मिता चौलागाईँ र मनिषा तामाङले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *