भर्खरै :

गाजामा इजरायली आक्रमण तीव्र, सयौँ नागरिक विस्थापित संयुक्त राष्ट्रसङ्घ, २२ अगस्ट

गाजामा इजरायली आक्रमण तीव्र, सयौँ नागरिक विस्थापित संयुक्त राष्ट्रसङ्घ, २२ अगस्ट

(सिन्ह्वा) । गाजा सहर र वरपरका क्षेत्रमा इजरायलले गरिरहेको निरन्तर बमबारीले सर्वसाधारणमा अत्यन्तै भयावह असर पारिरहेको संयुक्त राष्ट्रसङ्घका मानवीय निकायहरूले जनाएका छन् ।
संयुक्त राष्ट्रसङ्घको मानवीय मामिलाको समन्वय कार्यालय (ओचा) का अनुसार इजरायलका आक्रमणहरू पूर्वी तथा दक्षिणी गाजा सहरमा विशेषगरी अज–जयतुन क्षेत्रमा अत्यन्तै तीव्र भएका छन् । ती आक्रमणले धेरै सङ्ख्यामा सर्वसाधारणको मृत्यु हुनुका साथै धेरै घरहरू ध्वस्त भएका छन् ।
ओचाका अनुसार अगस्त ८ यता ५० भन्दा बढी आवासीय घरहरूमा आक्रमण भएको छ, जसका कारण कम्तीमा ८७ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ ।
गाजाको दक्षिण भागमा रहेको डेइर अल–बलाहमा, बिहीबार इजरायली हवाई आक्रमणले अस्थायीरूपमा विस्थापित भएकाहरू बसेको एक ठाउँलाई लक्षित गरेको थियो । यो ठाउँ ओचा कार्यालय नजिकै रहेको थियो, जहाँ करिब २०० परिवार बसोबास गरिरहेका थिए । इजरायली सेनाले केही समयअघि चेतावनी दिएपछि शिविर खाली गरिएको थियो, जसले ज्यान जोगाउन मद्दत ग¥यो । यद्यपि, त्यहाँका टहरा र सरसामानहरू पूर्णरूपमा नष्ट भएका छन् ।
ओचा कार्यालयमा पनि सामान्य क्षति पुगेको भए तापनि, त्यहाँ रहेका कर्मचारीहरू सकुशल रहेका छन् । उक्त आक्रमणका कारण कर्मचारीहरूमा ठुलो मानसिक आघात परेको ओचाले जनाएको छ ।
गाजामा रहेका संयुक्त राष्ट्रसङ्घीय संरचनाहरूको स्थान विवरण दुवै पक्षसँग साझा गरिएको ओचाले जनाएको छ । “मानवीय सहायता केन्द्र र अन्य नागरिक पूर्वाधारहरूलाई कुनै हालतमा लक्षित गर्नु हुँदैन, न त सैन्य संरचनालाई ढाल दिन त्यस्ता स्थानहरूको प्रयोग गर्न मिल्दछ,” ओचाले स्पष्ट पारेको छ ।
मानव आवागमनको निगरानी गरिरहेका ओचाका साझेदारहरूका अनुसार, अगस्ट १२ देखि २० सम्म गाजामा १६ हजार ८ सत्न्दा बढी सर्वसाधारण फेरि विस्थापित भएका छन् । यससँगै, मार्च महिनाको मध्यतिर युद्धविराम अन्त्य भएयता विस्थापितको सङ्ख्या सात लाख ९६ हजार नाघेको छ । यसमध्ये ९५ प्रतिशत विस्थापन गाजा सहरबाट भएको हो ।
यसैबिच, गाजामा बालबालिकाबिच भोकमरी र कुपोषणको अवस्था थप भयावह बन्दै गएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले दिएको जानकारीअनुसार, जुलाई गाजाका लागि सबैभन्दा धेरै बाल मृत्युदर भएको महिना रह्यो । पाँच वर्षमुनिका २४ बालबालिकाको मृत्यु भएको छ, जुन सङ्ख्या यस वर्षको कुल कुपोषणसम्बन्धी बाल मृत्युदरको ८५ प्रतिशत हो ।
युनिसेफले पाँच वर्षमुनिका करिब तीन लाख २० हजार बालबालिका तीव्र कुपोषणको जोखिममा छन्, जसले उनीहरूमा रोग र दीर्घकालीन स्वास्थ्य समस्या बढाउनेछ ।
ओचाका अनुसार, बालबालिकाहरूले सडक किनारामा सामान बेच्ने, भग्नावशेष सङ्कलन गर्ने जस्ता कामहरू गर्न थालेका छन् । बारम्बार विस्थापित हुनुपरेका कारण उनीहरूमा मानसिक तनाव गहिरिँदै गएको छ ।
गाजा सहर नष्ट हुनसक्ने इजरायली रक्षामन्त्रीको चेतावनी
इजरायलका रक्षामन्त्री इजरायल काट्जले शुक्रबार हमासले इजरायलका सर्तहरू स्वीकार नगरे गाजा सहर पूर्णरूपमा नष्ट हुनसक्ने चेतावनी दिएका छन् । उनका अनुसार देशले यस क्षेत्रमा थप ठुलो आक्रमणको तयारी गरिरहेको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा सहर कब्जा गर्न सेनालाई ठुलो कारबाहीको अनुमति दिएको भोलिपल्ट, रक्षामन्त्री काट्जले गाजाको सबैभन्दा ठुलो सहर ‘रफाह र बेत हानुन’ जस्तै भग्नावशेष बन्न सक्ने चेतावनी दिएका छन् । यी दुवै स्थान युद्धको सुरुमा नै ध्वस्त भएका थिए ।
उनले युद्धविरामका लागि इजरायलले राखेको माग सबै बन्धकहरूको रिहाइ र हमासको पूर्ण निःशस्त्रीकरणलाई दोहो¥याए ।
तर, हमासले बन्धकहरूलाई युद्ध अन्त्यको सर्तमा मात्र छोड्ने जनाएको छ र प्यालेस्टिनी राज्य गठनबिनै निःशस्त्रीकरण अस्वीकार गरेको छ ।
गाजा सहरमा ठुलो स्तरको अपरेसन केही दिनमै सुरु हुनसक्ने अनुमान छ ।
गाजा सहर हमासको प्रमुख सैन्य र प्रशासनिक गढ मानिन्छ । यहाँ इजरायलको विश्वास अनुसार व्यापक भूमिगत टनेल नेटवर्क छ । यस क्षेत्रमा अझै लाखौँ नागरिक बसोबास गर्छन् र केही महत्वपूर्ण पूर्वाधार तथा स्वास्थ्य सुविधा बाँकी छन् ।
हमासले यसै हप्ता अरब मध्यस्थकर्ताहरूको युद्धविराम प्रस्ताव मान्ने जनाएको थियो । यदि इजरायलले उक्त प्रस्ताव स्वीकृत ग¥यो भने आक्रमण रोक्न सक्ने सम्भावना छ । तर, पक्षहरूले प्रत्यक्ष वार्ता नगरेका कारण यस्ता घोषणा अघिल्ला पटकजस्तै असफल हुने आशङ्का छ ।
प्रस्तावले बन्धक–कैदी आदानप्रदान, इजरायली सेनाको चरणबद्ध फिर्ता र दीर्घकालीन युद्धविरामका लागि निरन्तर वार्ता गर्ने योजना समावेश गरेको छ । तर, यसअघि नेतन्याहुको गठबन्धनभित्रै विभाजन र दक्षिणपन्थी कडा दबाबका कारण त्यस्तै सम्झौता असफल भएको थियो ।
सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वका लडाकुहरूले गरेको आक्रमणपछि अझै जीवित रहेका करिब २० जना बन्धकलाई यसपटकको आक्रमणले खतरा बढाउने इजरायलीहरूको डर छ । सहायता संस्था र अन्तर्राष्ट्रिय नेताहरूले गाजाको मानवीय सङ्कट अझ गहिरिन सक्ने चेतावनी दिएका छन् ।
निकासी गर्ने नागरिकहरूको व्यवस्थापन अत्यन्त कठिन हुने अपेक्षा गरिएको छ । गाजामा कतै पनि सुरक्षित नभएकोले धेरै बासिन्दाले बारम्बार विस्थापन व्यर्थ भएको बताएका छन् । चिकित्सा समूहहरूले बिरामीलाई आवश्यक सुविधा नभएको दक्षिणतर्फ सार्ने इजरायलको आग्रह व्यवहारमा असम्भव भएको भन्दै चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *