भर्खरै :

श्रमिक साकोसमा ज्येष्ठ सदस्य सम्मान

श्रमिक साकोसमा ज्येष्ठ सदस्य सम्मान

भक्तपुर, ६ भदौ । श्रमिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ज्येष्ठ सदस्य एवं शुभेच्छुक भेटघाट तथा भक्तपुर काण्डको भत्र्सना कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
नेमकिपा भक्तपुर नगर समितिका पूर्वअध्यक्ष रवीन्द्र खर्बुजाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा ज्येष्ठ सदस्यहरूको सम्मानमा पौष्टिक आहार वितरण गरिएको थियो ।
उहाँले १०३ वर्षका व्यक्तिसँग भेट्न पाएकोमा खुसी व्यक्त गर्दै २०४५ सालमा भएको भक्तपुर काण्ड राज्यस्तरको कुत्सित षड्यन्त्र भएको प्रस्ट पार्नुभयो ।
तत्कालीन नेपाल मजदुर किसान सङ्गठनको अगुवाइमा भएको किसान आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन, भियतनाममाथिको अमेरिकी आक्रमणको विरोध, भारतीय विस्तारवादको विरोधलगायत कारण पार्टीलाई समूल नष्ट पार्न षड्यन्त्र भएको उहाँले बताउनुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले सन् १९३३ मा जर्मन संसद्मा आगलागी गराई त्यहाँको कम्युनिस्ट पार्टीमाथि षड्यन्त्र गरेको स्मरण गर्दै भक्तपुर काण्ड तत्कालीन व्यवस्थाको षड्यन्त्र हो भन्नुभयो ।
उहाँले समाजवादी व्यवस्थामा ज्येष्ठ नागरिकरुका लागि आदर निकेतनको व्यवस्था हुने बताउँदै श्रमिक साकोसले प्रत्येक वर्ष ज्येष्ठ सदस्यहरूलाई विभिन्न ठाउँमा तीर्थयात्रा गराउने र सम्मान गर्नु प्रशंसनीय छ भन्नुभयो ।
संस्थाका संस्थापक सल्लाहकार लक्ष्मीभक्त कवांले २०४५ सालमा जेलमा भोगेको यातनाबारे सुनाउनुभयो ।
श्रमिक सहकारी संस्था ज्येष्ठ कल्याण उपसमितिका संयोजक विष्णुप्रसाद त्वायनाको अध्यक्षतामा भएको सभामा संस्थाका अध्यक्ष कृष्णनारायण मचामसी, प्रबन्धक दिनेश ग्वाछा, श्रीप्रसाद तुईतुई, रामगोपाल ब्याञ्जुलगायतले संस्थाको विभिन्न गतिविधिबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *