भर्खरै :

शिक्षकहरूबिच ‘लेटर्स फ्रम जेल’ बारे अध्ययन गोष्ठी

शिक्षकहरूबिच ‘लेटर्स फ्रम जेल’ बारे अध्ययन गोष्ठी

भक्तपुर, ६ भदौ । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ वडा नं. ९ एकाइ समितिको आयोजनामा शुक्रबार नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) कृत पुस्तक ‘लेटर्स फ्रम जेल’ को अध्ययन गोष्ठी सम्पन्न भयो ।
उक्त गोष्ठीमा नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले नेमकिपाका कार्यकर्ताहरू पञ्चायती शासकहरूको आँखाको धुलो भएको उल्लेख गर्दै प्रतिक्रियावादीहरूले अनेक षड्यन्त्र गर्नसक्ने हुँदा जहिले पनि सचेत र चनाखो भइरहनुपर्ने विचार व्यक्त गर्नुभयो ।
पञ्चायती व्यवस्था अन्त्य हुनुमा भक्तपुर काण्डको पनि सहयोग पुगेको उल्लेख गर्दै उहाँले रोएर बस्नुभन्दा गाएर बस्नु जाती भनेझैँ शत्रुको अगाडि अँध्यारो अनुहार लाएर हिँड्न नहुने बताउनुभयो ।
प्रतिक्रियावादीहरूले अनेक जालझेल गरेर फसाउन सक्ने हुँदा लोभलालचमा परेर आत्मसमर्पण गर्न नहुने स्पष्ट पार्दै उहाँले हरेक शिक्षक, शिक्षिका र पार्टी कार्यकर्ताहरू सैद्धान्तिक, वैचारिक र व्यवहारिकरूपले परिपक्व हुनु जरूरी छ भन्नुभयो ।
‘मजदुर’ दैनिकका सम्पादक विष्णुगोपाल कुसीले शिक्षकहरू अज्ञात क्रान्तिकारी हुने धारणा राख्दै प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र पसेर देश र जनताको सेवा गरेको कारण बल र बुद्धिले केही गर्न नसकेपछि पञ्चायती राज्यस्तरबाट ‘भक्तपुर काण्ड’ को षड्यन्त्र रचिएको बताउनुभयो ।
‘भक्तपुर काण्ड’ मा पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई पञ्चायती शासकहरूले गरेको अमानवीय दुःख, पीडाबारे उहाँले चर्चा गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष विश्वराम प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा तीर्थलक्ष्मी धन्छाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
गोष्ठीमा रत्नप्रसाद फैजु, मैयाँलक्ष्मी त्यात, रोसनी कार्की र कोपिला लामाले पुस्तकबारे समीक्षा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *