विचार
- बैशाख ११, २०८३
बज्यै ! बज्यै ! तिनीहरू आए, आए ! झ्यालबाट औँलो सोझ्याएर तलतिर देखाउँदै नाति समरले बज्यै कृष्णमायालाई भने । बुबालाई अस्ति राति पक्रेर लाने पञ्चायती पुलिसको बथान नै लामो लामो लट्ठीसँगै बुट बजारेर हाम्रो घरतिर आउँदै छ । “यहाँबाट हानिदिऊँ ?,” समरले बज्यै कृष्णमायालाई पुलिसको बथानतिर देखाउँदै बाल आक्रोश पोखे । राजनीतिक षड्यन्त्रको जालो ‘भक्तपुर काण्ड’ मा आफ्नै आँखा अगाडि राति बुबालाई छापामार शैलीमा पक्रेर लगेको दृश्य उनले हेरिरहेका थिए ।
नाति समरले थपे, “अस्ति आमासँगै बुबालाई भेट्न जेलमा जाँदा पुलिस अङ्कल यो डण्डीको ढोका खोलिदिनुस् मलाई जेलभित्र बुबासँग बस्न दिनुस् कि बुबालाई छोडिदिनुस् भन्दा उनीहरू मुस्कुराई मात्र बसे । त्यसरी चोरलाई जस्तो जेलमा राख्न मेरो बुबाको के दोष छ । हैन बज्यै ?”
बज्यै कृष्णमायाले नाति समरलाई सम्झाउँदै बाल आक्रोश साम्य पार्न खोजिन्, “हो बाबु ! तिम्रो बुबाको केही दोष छैन । अनि बाटोमा आएका पुलिसलाई इँटाले हान्नु हुँदैन । उनीहरू पञ्चायती मतियार, गुण्डाहरूले खटाएर आएका हुन् । उनीहरू पनि मन परेर, खुसी भएर आएका होइनन् । बुबाहरूलाई पक्रनु, जेलमा बन्दी बनाइनु, शारीरिक र मानसिक यातना दिनु घोर अन्याय र षड्यन्त्र हो । यो धेरै दिन टिक्दैन । बुबा चाँडै छुटेर आउनुहुन्छ । बरु, तिमी ज्ञानी भई राम्रोसँग पढ्नुपर्छ र असल मान्छे बन्नुपर्छ है !”
“हस् ! ठुलो भएपछि यस्तो अन्यायको विरुद्धमा म पनि लड्नेछु,” नाति समरले बज्यैलाई भन्दै पढ्न कोठातिर गए ।
Leave a Reply