भर्खरै :

मेरो पथप्रदर्शक, मेरा बा

मेरो पथप्रदर्शक, मेरा बा

मलाई यो संसार देखाउने
बुझ्न सिकाउने मेरा बा
मेरा कलिला हात समाई
हिँड्न सिकाउने मेरा बा ।

म लड्दा मेरा निम्ति
दरिलो सहारा बन्ने मेरा बा
मेरा हर चोटहरूमा
मायाका मलम बनिरहने मेरा बा ।

जीवनका उकाली ओरालीको
गहनता बुझाउने मेरा बा
मेरा सफलतामा रमाउने
विफलतामा मलाई साथ दिने मेरा बा ।

बाल्यकालका सम्झना अझै
ताजा छ बा
आफ्ना इच्छालाई पर सार्दै
मेरा खुसीका लागि सधैँ मुस्कुराउने मेरा बा ।

एक कप चिया पनि
नखाई छोराछोरीका लागि
हरदम परिश्रम गर्ने
आदरणीय मेरा बा ।

परीक्षाका दिनमा ४ नै बजे
उठेर मेरा लागि
खाजा तयार पारिदिने मेरा बा ।
बा मेरो प्रेरणाका स्रोत आस्थाका धरोहर
प्रिय मेरा बा

मेरा प्रगतिमा सधैँ हौसला
दिँदै ल ल अघि बढ्नुपर्छ
तिमीले धेरै पढ्नुपर्छ भन्दै
निरन्तर साथ दिने मेरा बा ।

मेरो पथप्रदशक, मेरो सफलताको
सूत्रधार मेरा बा
हजुरले सिकाएका पाठहरूले नै
आज आफ्नो परिचय निमार्ण गर्न सफल भएको छु बा ।

हजुरको अन्नगिन्ती योगदानको
चर्चा गर्न शब्द कम भएको
महसुस गर्दै छु म
सुस्वास्थ्य, सुख र दीर्घायुको कामना गर्दछु
प्रिय मेरा बा, आदरणीय मेरा बा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *