भर्खरै :

भक्तपुर काण्ड : एक हेगेलीय हेराइ

भक्तपुर काण्ड : एक हेगेलीय हेराइ

भक्तपुर काण्ड ‘भक्तपुर’ को मात्रै घटना थिएन । त्यो नेपाली इतिहासको एक विशिष्ट परिघटना थियो । कामदार वर्गीय सङ्घर्षको सग्लो इतिहासमा एउटा महत्वपूर्ण अध्याय थियो । जबजब नेपाली हेपिएको चेपिएको वर्गले आफ्ना गाउँघरलाई ‘भक्तपुर’ बनाउने जमर्को गर्नेछ, मानव मुक्तिको कठिन गोरेटो खन्न थाल्नेछ, तबतब भक्तपुर काण्ड एउटा आशङ्का र सन्त्रास बनेर डेमोकल्सको तरबारझैँ झुन्डिने निश्चित छ ।
नेपालभरजस्तै भक्तपुरमा सामन्ती शोषण कम थिएन । किसानहरूको घरमा ओछ्याउनको नाउँमा सुकुलमात्र हुन्थ्यो र भाँडावर्तनको नाउँमा माटाका भाँडाहरू हुन्थे । भक्तपुरको फोहर नगर सभ्य भनाउँदाहरूको लागि नाक छोप्ने निहुँ थियो । इतिहासमा अलि पर डुब्दा भक्तपुर, काठमाडौँ उपत्यकाकै आमा सभ्यता थियो । ‘भक्तपुरेहरू’ ले युरोपेलीहरू अमेरिका नपुग्दै पाँचतले मन्दिर बनाएका थिए । उन्नत ज्ञान, विज्ञान वा प्रविधिबिना त्यस्ता संरचनाहरू बनाउन असम्भव छ । यस हिसाबले भक्तपुर आफैमा पिछडिएको क्षेत्र भने थिएन । इतिहासकारहरू भन्छन्, मल्लकालमा भक्तपुरमा एउटा विशाल पुस्तकालय थियो ।
पञ्चायतकालको सुरुछेक भक्तपुरको तल्लो वर्ग सामन्ती शोषणको जालोमा घिटिकघिटिक गर्दै थियो, पिल्सिँदै थियो । शिल्पकारिता नगर्ने किसानहरूको दशा अझ दयनीय थियो । सामन्तहरूले किसानलाई बिनाज्याला काम गराउनु मानौँ प्राकृतिक अधिकार थियो । यस्तैमा नेपाल मजदुर किसान पार्टी (त्यसबेला सङ्गठन) को भ्रुण भक्तपुरमा चलायमान भयो । पार्टीले किसानहरूलाई राजनीतिक शिक्षा दिन थाल्यो । त्यसको लागि विश्व कम्युनिस्ट इतिहासका घटनाहरू लेखिन थाले । युवा विद्यार्थीहरूलाई रुस, चीन, भियतनाम, अफ्रिकाजस्ता देशका क्रान्तिकारी साहित्य सुनाउन थालियो । दिनभरि खेतमा व्यस्त भइराख्ने किसानहरूका लागि रात्रि कक्षाहरू सञ्चालन भए । नेमकिपाका कार्यकर्ता किसानकै छोराछोरी थिए । उनीहरू क्रान्तिकारी साहित्य कहने कथावाचक बने । गीत, कविता सुसेल्ने गाइने बने । तिनले भक्तपुरको धर्मवेष्टित उत्पीडित समाजलाई भौतिकवादको ज्ञान दिए । नयाँ ज्ञानले लैस भएपछि साँढेलाई महादेवको औतार मान्ने समाजले साँढे धपाउने आन्दोलन चलायो । यसले उब्जनी बढाउन मद्दत ग¥यो । सरसफाइको पाठ पढाउन नेमकिपाका कार्यकर्ताहरू फोहोरमा हेलिए । त्यसले सफाइ आन्दोलनको रूप लियो ।
०२१ सालको भूमिसुधारबाट केही वामपन्थीहरू ‘पञ्चले दिएको’ भनी नाक चेप्राउँदै पन्छिए । नेमकिपा त्यहाँ पनि जनताबिच हेलियो । जोताहालाई जमिन दिलाउन भर्पाई आन्दोलन चल्यो । किसानलाई जमिनको मालिक तुल्याएर समाजको आर्थिक आधारमा परिवर्तन गर्न मोहियानी हकको आन्दोलनले अहम् भूमिका खेल्यो । स्थानीय भ्रष्ट व्यापारी र प्रशासकहरूविरुद्ध भ्रष्टाचारविरोधी सङ्घर्षहरू भए । हिजोसम्म शासकहरूको आँखामा हेर्न डराउने किसानहरूले भ्रष्टाचारीहरूलाई जनकारबाही गरे । भियतनाममाथि अमेरिकी आक्रमणको विरोध, सुस्ता अतिक्रमणताका भारतीय विस्तारवादको विरोधजस्ता कार्यक्रमहरू जनता शिक्षित गर्ने अभियान थिए र आफैमा उन्नत चेतनाका अभिव्यक्ति थिए । पार्टीकै अगुवाइमा ०३६ सालको जनमतसङ्ग्रहमा भक्तपुरमा बहुदलले ८० प्रतिशत मत पायो । यो जनताको राजनीतिक चेतनास्तर उकासिएको प्रमाण थियो । यहाँ पनि आफूलाई वामपन्थी भन्नेहरू निर्वाचनबाट भागे । जनताको सेवा गर्न जनता जहाँ छन् त्यहाँ पुग्नुपर्छ भन्ने विचारले नेमकिपाले संसदीय र स्थानीय निर्वाचनहरूमा भाग लियो र निर्वाचनलाई उपयोग ग¥यो । किसानका छोराछोरीहरू स्थानीय जनप्रतिनिधि बनेको दृश्य जनतालाई पाउमुनिको धुलो ठान्ने सामन्त र पञ्चहरूको लागि छाती पोल्ने घटना थियो । ०४४ को स्थानीय निर्वाचनमा नेमकिपाले मेयरसहित १५ वटा वडाध्यक्ष पदमा जित्यो । यी सब हुँदै गर्दा अन्य कम्युनिस्ट घटकहरू प्रतिबन्धित रमितेमात्र बनिरहेका थिए । उनीहरू निर्वाचन बहिष्कारको नारा भट्याएर थाक्दैनथे ।
भक्तपुर काण्ड हुनुभन्दा अगाडिको भक्तपुर एउटा अभियान थियो, एउटा सपना थियो । जनतालाई शिक्षित र सुसंस्कृत तुल्याउने कम्युनिस्ट यात्राको आरम्भ थियो । यो यात्रा किन सुरु भयो ? यसको कारण चरम सामन्ती शोषण थियो । सामन्ती शोषणलाई हेगेलीय भाषामा ‘थिसिस’ मान्ने हो भने किसान सङ्घर्षहरू ‘एन्टिथिसिस’ थिए । त्यसबाट एउटा नयाँ स्थिति वा ‘सिन्थिसिस’ सिर्जना भयो । त्यो थियो निर्वाचनको उपयोग । माक्र्सवादमा यो नौलो प्रयोग थिएन । ‘प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घसंस्थामा गएर जनताको सेवा गर्नु’ भन्ने लेनिनकै शिक्षाको परिपालन थियो । यही सोचअनुसार नेमकिपाको अगुवाइमा नगर पञ्चायतले जनताबाट उठाएको करलाई जनताकै सेवामा लगायो । उसले पञ्चायतकालीन कालरात्रिबीच माक्र्स, एङ्गेल्स, लेनिन, माओ, चे ग्वेभारालगायत क्रान्तिकारी गुरुहरूका जीवनी छाप्यो । झट्ट हेर्दा ‘पञ्चहरू’ ले क्रान्तिकारी शिक्षा दिँदै थिए ¤¤ तर पर्दाभित्र पार्टीको आदर्श र उद्देश्य थियो । माओको जीवनी, युवाहरूको गीत, नरेशजस्ता उच्च कोटीका साहित्यहरू छापिए । पञ्चायतले ५ कक्षासम्म निःशुल्क शिक्षा दिन सकेको बेला भक्तपुर नगरपञ्चायतले ७ कक्षासम्म निःशुल्क शिक्षा दियो । हिजोसम्म किसानहरूको ज्यूहजुरी चाखिरहेका सामन्तहरू छटपटिन थाले । उनीहरूको स्वर्ग खोसिएको थियो । उनीहरूको रोब रवाफ र राइँदाइँ भुत्ते भयो । यो नेमकिपाले लागु गरेको लेनिनवादी नीतिको फल थियो । (नेमकिपाले हाल अभ्यास गरिरहेको क्रान्तिकारी संसद्वाद यसकै अर्को रूप हो ।)
हेगेल भन्छन्, प्रत्येक ‘सिन्थिसस’ आफैमा नौलो ‘थिसिस’ पनि हो । अध्ययनको संस्कृति बढाउने, शोषकहरूका काला कर्तुतहरू उदाङ्ग्याउने, किसानहरूलाई सिद्धान्तनिष्ठ र इमानपूर्ण राजनीतिको अग्रदूत बनाउने र विकास निर्माणमा वास्तविक जनसहभागिता जुटाउने नेमकिपाको अभियान भ्रष्ट व्यापारी र प्रशासकहरूलाई बिझायो । तसर्थ, सामन्तहरू, तिनका मतियार व्यापारी र प्रशासकहरूले नेमकिपाको जरो उखेल्ने सपना देख्नु एक प्रकारको ‘एन्टिथिसिस’ थियो । यो स्वाभाविक थियो । तर यो स्वाभाविकताभित्र नेपाली इतिहासकै एउटा अस्वाभाविक घटना लुकेको छ भन्ने कुरा २०४५ सालको भूकम्पलाई थाहा थिएन ।
२०४५ भदौ ५ मा भूकम्प आयो । धनकुटा र भक्तपुरमा बढी क्षति भयो । सरकारले राहतको चाँजो मिलाउनुअघि नै भक्तपुरका जनप्रतिनिधिहरू राहत वितरणमा लागिपरे । जबजब विनाश वा भइपरी आउँछ, शोषकहरूको सक्कली अनुहार देखिन्छ । सङ्कटमा व्यापारीहरू कसरी कालोबजारीमा उत्रिन्छन्, शासक दलका नेताहरूले कसरी आफ्नालाई काखी च्याप्दै चुनावी भोट बुकिङ गर्छन् भन्ने कुरा पटकपटक भारतीय नाकाबन्दी झेलेका नेपाली जनतालाई सिकाउनुपर्दैन । नेपाल सरकारले आफ्नै खटनमा राहत वितरण गर्ने उद्घोष ग¥यो ।
पञ्चायती लुटतन्त्रमा सिनो लुछ्न पल्किसकेका कर्ण ह्योजु नेमकिपामा हुर्किएका अवसरवादी थिए । (यस्ता अवसरवादी हिजो पञ्चे हुन्थे, आज काङ्ग्रेस, एमाले र केके जाति हुन्छन् ।) काँडाले काँडा निकाल्ने नीति लिँदै पञ्चहरूले कर्ण ह्योजुलाई काँडा निकाल्ने काँडा बनाए । अर्थात् उनीहरूले ह्योजुलाई बलिको बोका बनाए । पूर्वप्रम टङ्कप्रसाद आचार्यलाई पनि राहत वितरण गर्न रोकेको सरकारले कर्ण ह्योजुलाई राहतको कुपन बाँड्न पठायो । ह्योजुले आगामी चुनावलाई हेरेर आफ्ना मान्छेहरूलाई मात्र राहत बाँड्न थाले । वास्तविक पीडितहरू चिढिनु स्वाभाविक थियो । जनता पहिलेजस्ता थिएनन् । भ्रष्टहरूलाई जनकारबाही गर्नु उनीहरूको जागृत चेतनाकै अभिव्यक्ति थियो । (यस्तै कारबाहीको अभावमा आज नेपाली शासकहरू झन्झन् उद्दण्ड हुँदै छन् ।) हुलमुलमा घुसेका मण्डलेहरूबाट ह्योजुलाई कुटाएपछि प्रहरीले उनलाई साबुत अवस्थामा वीर अस्पताल लग्यो । साकोथामा साँझपख उनी मजाले प्रहरीको भ्यानमा चढेका थिए । उनको शरीरमा कुनै चोटपटक लागेको थिएन । अस्पतालमा उनलाई देख्नेहरूले उनको उपचारमा ढिलाइ गरेको बताएका छन् । यस्तैमा राति पौने १२ बजे उनको मृत्यु भएको घोषणा भयो । ह्योजुसँगै अस्पताल गएका उत्तम श्रेष्ठको आफूहरूलाई हतियारमात्र बनाइएको भन्ने भनाइबाट ह्योजुको मृत्यु नभई हत्या भएको ठहरिन्छ ।
ह्योजु नमर्दै सरकारले भक्तपुरमा गुण्डाराज थाल्ने तयारी गरिसकेको थियो । उसले पार्टीका मुख्य नेता र जनप्रतिनिधिहरूको पक्राउ सुरु ग¥यो । भोलिपल्ट प्रधानमन्त्री, राष्ट्रिय पञ्चायत अध्यक्ष र गृहमन्त्री ह्योजुको शवयात्रामा ‘रोहितलाई फाँसी दे’ को नारा लगाउँदै भक्तपुर आए । यो शवयात्रालाई त्यसबेलाका राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले कभर गरेका थिए । असोज १ गते शनिबारको दिन फर्जी सरजमिनको मञ्चन गरियो । यी र यस्ता प्रमाणहरूलाई अदालतले नदेखेझैँ ग¥यो । यसरी कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनै संरचना लगाएर पञ्चायतले अर्थात् राज्यले २० महिनासम्म भक्तपुरमा ताण्डव नाच्यो । भक्तपुरको तल्लो वर्गका युवायुवतीमाथि दमन ग¥यो । यसबिच हजारौँ भक्तपुरबासीहरूले नारकीय दुःख भोग्नुप¥यो । पार्टीका अन्य जिल्लाका नेताकार्यकर्तालाई पनि दुःख दिने काम भयो । ज्यान मुद्दा खेपेका पार्टीका ६७ जना अगुवाहरूले मात्र नभई धेरै कार्यकर्ताले फासीवादी र नाजी कथाको झल्को दिने यातना नेपाली थुनामै भोगे ।
नेमकिपामाथि पञ्चायतको ‘विचहन्टिङ’ ले नयाँ ‘सिन्थिसस’ लाई जन्म दियो । त्यो थियो भक्तपुर काण्डले ल्याएको नवीन चेतनाको तरङ्ग । देशको एउटा बौद्धिक समूहले भक्तपुर काण्डमा राज्यले ह्योजुको प्राणरक्षा नगरेको, उल्टो अदालतले पुष्टि गर्नुअघि कार्यपालिका र व्यवस्थापिका प्रमुख नारा जुलुसमा उत्रेको, भक्तपुरका निर्दोष जनतामाथि जाइलागेको जस्ता विषयमा राज्यविरुद्ध प्रश्न उठाए । विद्वान ऋषिकेश शाहले अदालतमा भन्नुभयो, मलाई खाने बाघले अरूलाई पनि खानेछ । उहाँले न्यायाधीशहरू राजा र प्रजाबिचको सङ्घर्षमा निर्णायक वा रेफ्री बन्नुपर्ने बताउनुभयो । न्यायाधीशहरू रेफ्री नबनेपछि ‘नेमकिपालाई खान खोजेको बाघले आफूलाई पनि खानसक्ने’ देखेर ०४६ सालको आन्दोलनको पृष्ठभूमि बन्यो । विभिन्न पार्टी र विचारका अगुवाहरू एक स्थानमा आउने वातावरण बन्यो । पञ्चायतलाई नै दावानलमा पार्ने ०४६ सालको आन्दोलनको झिल्को भक्तपुर काण्डमा बलेको कुरा इतिहासले सिद्ध गर्छ । तर, दूरद्रष्टाहरूले अदालती कारबाही चलेकै बेला भक्तपुर काण्ड पञ्चायती अवसानको झिल्को बन्ने देखिसकेका थिए । पार्टी अध्यक्ष कामरेड रोहितले फर्जी सरजमिनमा जाने बेला कार्यकर्ताहरूलाई पञ्चायतको अवसानपछि थुनामुक्त हुने बताउनुभएको थियो । यसप्रकार ०४७ को जनआन्दोलन पञ्चायती ‘एन्टिथिसिस’ को ‘सिन्थिसिस’ थियो । आन्दोलनमाथि दमनको पहिलो गोली भक्तपुरमै चल्यो । भक्तपुरमा आन्दोलन चल्नै नसक्ने कल्पना थियो । पार्टीको पछिल्लो पुस्ताका युवा विद्यार्थीहरू आन्दोलनको मोर्चामा खटिए । भक्तपुरले काठमाडाँैलाई ऊर्जा दियो । (यो सत्य उजागर गर्दै जनकवि दुर्गालाल श्रेष्ठले राम्रा पङ्क्तिहरू कोर्नुभएको छ ।) आन्दोलनको समाप्तिसँगै २०४७ वैशाखमा नेमकिपाका नेता कार्यकर्ताहरू रिहा हुनुभयो ।
भक्तपुर काण्डमा नेमकिपाको सबैभन्दा ठुलो शक्ति सिद्धान्तनिष्ठता र अनुशासन थियो । व्यक्तिहत्याको राजनीतिको विरोध गरेरै नेमकिपाको स्थापना भएको थियो । त्यस सिद्धान्तमा पार्टीले कहिल्यै मोलाहिजा गरेन । त्यसैले भक्तपुर काण्डबारे ‘मूलधार’ का सञ्चारमाध्यमहरूले जति नै होहल्ला गरे पनि देशभरिका पार्टी अगुवाहरू ह्योजुको हत्यामा पार्टी संलग्न हुन नसक्नेमा ढुक्क थिए । भक्तपुर काण्ड पार्टी कार्यकर्ताहरूको लागि अग्निपरीक्षा साबित भयो । परीक्षामा अनुत्तीर्ण हुनेहरू लाखापाखा लागे । यो एकप्रकारको शुद्धीकरण थियो । भक्तपुर काण्डले युगौँसम्म चुलाचौकामा सीमित महिलाहरूलाई जुलुस प्रदर्शन, पर्चा पम्प्लेटिङजस्ता सार्वजनिक मञ्चहरूमा जान बाध्य पा¥यो । महिलाहरू वकिल, बुद्धिजीवी, पत्रकारहरूसँगको अन्तरक्रियामा गए । त्यो एकखालको महिला जागरण साबित भयो । (आज भक्तपुरका महिलाहरू जीवनका विविध क्षेत्रमा अगाडि बढ्नुको एउटा कारण यो पनि हो ।) पार्टीइतरका बौद्धिकहरूलाई साझा मञ्चमा ल्याउनु भक्तपुर काण्डको अर्को उल्लेखनीय पक्ष थियो । यो साझा उत्प्रेरणा ०४६ सालको जनआन्दोलनको पृष्ठभूमि बन्यो ।
सङ्घर्षका हरेक मोर्चाहरू पाठशाला हुने गर्छन् । भक्तपुर काण्डले वर्गीय समाजका तीता यथार्थहरू उजागर ग¥यो । युगौँदेखिका मान्यताहरू भत्कायो । शोषक र शासितहरूबिचको विभाजन रेखालाई गाढा बनाइदियो । एक हिसाबले पान्डोराको बाकस खोलिदियो । पञ्चायती आतङ्कको विरोधमा भक्तपुरका चेलीहरू एकजुट भए । उनीहरूलाई छाडा, नास्तिक, ज्यानमाराका आमा–स्वास्नी–छोरी आदि भनेर आफ्नै आफन्तहरूले अवगाल लगाए । निम्न मध्यम सोचका मानिसहरू शोषकहरूको शिविरमा गए । समाजको मकुन्डो सबैले देखे । शत्रु र मित्रबिचको भेदले क्रान्तिकारी चेतनामा टेवा दिन्छ । नेमकिपा यस अर्थमा नेपाली समाजसँग परिचित छ । भक्तपुर काण्डताका प्रधानमन्त्री नेवार थिए, बलिका बोका पनि नेवार थिए, शवयात्रामा आउनेहरू नेवारै थिए, तैपनि कथित ‘नेवार पार्टी’ माथि फासीवादी शैलीको पाशविक दमन भयो । यो संयोग थिएन । वास्तवमा समय आएपछि हरेक जाति शोषक र शासितमा विभाजित हुनेछ, प्रतिक्रियावादी र प्रगतिशीलमा विभाजित हुनेछ । यो पाठ नेपाली कम्युनिस्ट आन्दोलनमै एउटा महत्वपूर्ण देन हो । त्यसकारण भक्तपुर काण्डका एक ‘पीडित’ कवि दामोदर सुवाल भन्नुहुन्छ, “कामरेड जातको हैन, भातको कुरा गरौँ !”
राज्य जनताको अभिभावक हो । परिवार र समाजबिचको सम्बन्ध सेतु हो । राज्यबारे हेगेलको बुझाइ यस्तै छ । उनी राज्यलाई ‘परम विवेक’ को पगरी गुथाउँछन् । भक्तपुर काण्डमा राज्य जनताको अभिभावक बनेन । बरु, राज्य जनताविरुद्ध षड्यन्त्रमा उत्रियो । भक्तपुर काण्डमा राज्य युगौँदेखि उपेक्षित र उत्पीडित वर्गविरुद्ध जाइलाग्यो । एउटा दारुण र कटु अनुभवबाट पार्टीका सामान्य समर्थकसमेत नेपाली राज्य तल्लो वर्गको अभिभावक होइन, बरु सामन्तहरूको जनता दबाउने यन्त्र हो भन्ने निष्कर्षमा पुगे । अड्डा अदालत, प्रहरी, प्रशासन, जेलनेल सबै पञ्चायतको सेवामा हाजिर थिए । अदालतले दिउँसै रात पार्ने झूट बोल्दै थियो । बन्दीहरूले लुगा फुकालेर यातनाका नीलडामहरू देखाउँदा पनि न्यायाधीशहरूले नदेखेझैँ गरे । सत्य पञ्चायती रनिवास (रानीहरूको कोठा) मा कतै दब्न पुगेको थियो । राज्यको वर्गीय चरित्र बुझ्न सोझा पार्टी समर्थकहरूलाई माक्र्सका ठेली पढ्नुपरेन । पञ्चायत जसरी खस अहङ्कारी शैलीमा प्रस्तुत भयो, त्यसबाट ‘नेपाली जाति’ वा राष्ट्रको परिभाषाभित्र अन्य जातिको भाषा, संस्कृति र राजनीतिक नेतृत्व नअटाएको तीतो दृश्य नेमकिपाले त्यहीँ देख्यो ।
भक्तपुर काण्डमा नेपाली कम्युनिस्ट आन्दोलनको यथार्थ प्रकट भयो । भनिन्छ, मित्रहरूको परीक्षा सङ्कटमा हुन्छ । तिनताक विभिन्न कम्युनिस्ट अगुवाहरूले नेमकिपाको पक्षमा बोल्नुभएको सत्यलाई अस्वीकार गर्न मिल्दैन । तर, भक्तपुर काण्डले धेरै वाम घटकहरूको मकुण्डो उघारिदिएको पनि सत्य हो । ती समूहमध्ये केहीले ‘अब तिम्रो पार्टीका सबै नेताहरू जेलमै सडेर मर्छन्, के गर्छौ ?’ भनेर पार्टीका सोझा कार्यकर्ता र समर्थकहरूबिच प्रचार गरे । उनीहरूले पार्टीको सघन प्रभाव रहेको चितवनजस्तो जिल्लाबाट कार्यकर्ता चोर्ने काम गरे । पञ्चहरूले ललाइफकाइ गरेको भए त्यसलाई षड्यन्त्र भनिन्थ्यो, आफूलाई कम्युनिस्ट भन्नेहरूले नै त्यसो गर्नुलाई के भन्ने ? कम्युनिस्ट आन्दोलनमा हेलिएको एउटा सिद्धान्तनिष्ठ पार्टीलाई बिगार गर्ने कसरी कम्युनिस्ट हुन्छ ? यस्ता चोरीचकारीले नेमकिपाको सङ्गठन कमजोर बनाउन भूमिका खेल्यो । आज ‘भक्तपुरमै सीमित’ भनी आरोप लगाउने ‘वामपन्थीहरू’ ले त्यसको दोषी आफैलाई देख्छन् कि देख्दैनन् ? नेमकिपाका अग्रजहरूले कर्णालीका अनकन्टार क्षेत्र छिचोलेर सङ्गठन गरेका थिए, मातृप्रधान युगमा रहेका चेपाङ जातिबिच सङ्गठन गरेका थिए । निश्चय नै पिछडिएका जनतालाई माक्र्सवादजस्तो उन्नत दर्शनमा पोख्त बनाउन अझै लामो समय लाग्नेछ । आज सरकार बनाउने र ढलाउने खेलमा आफ्नो इमान बेच्ने र बिक्ने ‘वामपन्थीहरू’ ले ती जनतालाई पार्टी सिद्धान्तमा शिक्षित गर्न नसकेको भनी नेमकिपामाथि आरोप लगाउन कुन कम्युनिस्ट नैतिकताले दिन्छ ?
इतिहासको पाङ्ग्रालाई षड्यन्त्रले रोक्न खोज्नु पञ्चायतीराजको मूर्खता थियो । ‘भक्तपुरे राजा’, ‘नयाँ रणजीत मल्ल’, ‘भक्तपुरे पार्टी’, ‘नेवार पार्टी’, ‘सङ्कीर्ण पार्टी’ जस्ता शब्दावली नेमकिपाको दुष्प्रचार गर्न पञ्चायतले रचेको थियो । त्यो अर्को मूर्खता थियो । आज ती शब्द कथित ‘वामपन्थीहरू’ ले प्रयोग गर्नु संयोग होइन । ०४६ सालको आन्दोलनपछि हिजोका पञ्चे र मण्डलेहरू कम्युनिस्ट नामधारी ‘ठूला’ पार्टीहरूमा प्रवेश गरे । तिनीहरूले ती शब्दहरू ‘लाल प्रशिक्षणहरू’ मा ओकले । पञ्चे मानसिकताबाट दीक्षित आजका ‘कम्युनिस्ट’ भनाउँदाहरूले अझै पनि नेमकिपालाई ‘… राजा’ देख्छन् भने यसमा नेमकिपाको दोष छैन । दोष आफूलाई ‘जैविक, वाम वा कम्युनिस्ट’ बुद्धिजीवीहरू भन्न रुचाउनेहरूको छ ।
पछिल्लोपल्ट नेपालमा ‘वैकल्पिक’, ‘सीमान्तकृत’ वा ‘जनताको’ इतिहास लेख्ने लहर चलेको छ । ‘वाम’ बुद्धिजीवीहरू जातीय इतिहास लेखनतिर प्रवृत्त भएको देखिन्छ । खासगरी लाहुरे जातिको बढी नै सवाइ सुनाइन्छ । जातीय उत्पीडन पनि बिस्तारै उजागर हुँदै छ । यो खराब कुरा होइन । तर, सामन्ती उत्पीडनका सन्दर्भहरू खोज्न विदेशी सबाल्टर्न साहित्यसम्म नियाल्ने बुद्धिजीवीहरूले आँखै अगाडिको भक्तपुर काण्ड किन देख्दैनन् ? के ‘ज्यानमारा’ भक्तपुरेहरूको किंवदन्ती उधिन्नु उनीहरूको जिम्मेवारी होइन ? खस अहङ्कार र पञ्चेमार्गी ‘… राजा’ को धङधङी वा संकथनबाट उनीहरू अझै पनि कुपोषित छन् कि ? के भक्तपुर काण्ड नेपाली जनताले देखेको उन्नत समाजको सपनाभन्दा अलग्गै कुनै बिरानो घटना हो ? के भक्तपुरको हालको विकासले नेपाली इतिहासमा कुनै अर्थ राख्दैन ? होइन भने किन लेखिँदैन भक्तपुरको जनसङ्घर्षको इतिहास ‘वाम’ बुद्धिजीवीहरूको हातबाट ? किन आज पनि भक्तपुर काण्डको ‘कालो दिन’ नेमकिपाको आँखाबाट मात्र कालो देखिन्छ ?
‘वाम’ बुद्धिजीवीहरूको समर्थन वा अनुमोदन खोज्नु यी प्रश्नहरूको अभिप्राय होइन । नेमकिपाले भक्तपुर काण्डबारे अनेकौँ प्रकाशनहरूमार्फत सत्यतथ्य बाहिर ल्याउँदै छ । सालैपिच्छे नयाँ तथ्यहरू बाहिरिँदै छन् । इतिहासको खोज अनुसन्धान र जगेर्ना गर्न नेमकिपा प्रतिबद्ध छ । भारतीय गदर दमनका पीडितहरूले अमृतलाल नागर पाएझैँ एक दिन भक्तपुर काण्डका पीडितहरूले आफ्ना नागरहरू पाउने नै छन् । आफ्ना ‘गदर के फूल’ र ‘नाच्यौ बहुत गोपाल’ पाउनेछन् । त्यसबेलासम्म इतिहासलाई एक कान दुई कान गर्दै एक पुस्ताबाट अर्को पुस्तामा सार्नु छ । जसरी जर्मन कवि ब्रेख्तले फासीवादी झूटहरूबिच सत्यको प्रसारबारे लेखेका थिए –
‘नयाँँ मेसिनबाट पनि पुरानै झूट र मूर्खताहरू फुकियो
विवेक त एकमुखबाट अर्को मुख हुँदै सारिएको थियो !!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *