भर्खरै :

प्रजग कोरियाद्वारा दुई नयाँ हवाई रक्षा मिसाइल परीक्षण

प्रजग कोरियाद्वारा दुई नयाँ हवाई रक्षा मिसाइल परीक्षण

सियोल, ८ भदौ (एएफपी) । प्योङयाङले सियोलमाथि सीमामा तनाव बढाएको आरोप लगाएपछि प्रजग कोरियाली नेता किम जोङ उनले दुई नयाँ हवाई रक्षा मिसाइलको परीक्षण निरीक्षण गर्नुभएको आइतबार राज्य सञ्चारमाध्यमले जनाएको छ ।
शनिबार गरिएको परीक्षणले दुई ‘सुधारिएको’ मिसाइल प्रणालीसँग ‘उत्कृष्ट युद्ध क्षमता’ रहेको देखाएको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ ।
केसिएनएले नयाँ मिसाइलहरूको विस्तृत विवरण भने दिएको छैन । उसले केबल तिनीहरूको ‘अपरेसन र प्रतिक्रिया मोड अद्वितीय र विशेष प्रविधिमा आधारित छ’ भन्ने उल्लेख गरेको छ । परीक्षण कहाँ गरिएको थियो भन्ने कुरा पनि सार्वजनिक गरिएको छैन ।
“दुई प्रकारका प्रोजेक्टाइलका प्राविधिक विशेषताहरू विभिन्न हवाई लक्ष्यहरू नष्ट गर्न निकै उपयुक्त छन् भन्ने कुरा परीक्षणमार्फत स्पष्ट प्रमाणित भएको छ,” केसिएनएले भन्यो ।
केसिएनएले जारी गरेका तस्बिरहरूमा हवाई रक्षा मिसाइलहरू आकाशमा उडिरहेको र आइरहेको प्रक्षेप्यास्त्रलाई अवरोध गरेको दृश्य देखाइएको छ ।
किमलाई आफ्नो डेस्कमा बसिरहेको, छेउमा राखिएको दूरबिन नजिकै, एक सैन्य अधिकारीबाट जानकारी लिइरहेको तस्वीरमा चित्रित गरिएको छ ।
प्रजग कोरियाली नेताले प्रमुख पार्टी बैठकअघि रक्षा विज्ञान क्षेत्रमा एउटा ‘महत्वपूर्ण कार्य’ पूरा गर्न निर्देशन दिएको बताइएको छ ।
दक्षिण कोरियाली सेनाले शनिबार दुई हप्ताअघि भएको घटनाबारे जनाउँदै सीमामा केही समयका लागि प्रवेश गरेका उत्तर कोरियाली सैनिकलाई चेतावनीस्वरूप गोली प्रहार गरेको जनाएको छ ।
राष्ट्रसङ्घीय (युएन) कमान्डले मङ्गलबार सीमापार गर्ने प्रजग कोरियाली सैनिकको सङ्ख्या ३० रहेको जानकारी दिएको योन्हाप समाचार एजेन्सीले आइतबार जनाएको छ ।
प्योङयाङको राज्य मिडियाले सेनाका लेफ्टिनेन्ट जनरल को जोङ चोललाई उद्धृत गर्दै उक्त घटना ‘पूर्वनियोजित र जानाजानी गरिएको उक्साहट’ भएको बताउनुभएको छ ।
“यो निकै गम्भीर प्रस्तावना हो, जसले अनिवार्यरूपमा दक्षिणी सीमा क्षेत्रमा ठुलो सङ्ख्यामा सैनिकहरूबिच टकरावलाई अनियन्त्रित चरणमा लैजान सक्छ,” कोले भन्नुभयो ।
विश्लेषकहरूका अनुसार प्योङयाङले ड्रोन र क्रुज मिसाइल प्रतिरोध गर्ने उद्देश्यले हवाई रक्षा मिसाइलहरूको विकासलाई गति दिइरहेको छ । केसिएनएको रिपोर्टमा विशेषगरी ‘ड्रोन र क्रुज मिसाइल’ उल्लेख गरिएको छ ।
कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका वरिष्ठ विश्लेषक होङ मिनले भन्नुभयो, “प्रजग कोरियाले कम उचाइमा उड्ने ड्रोन र क्रुज मिसाइलविरुद्ध हवाई रक्षा क्षमतामा बलियो ध्यान दिइरहेको छ । यस किसिमको हवाई रक्षा प्रणाली विकासले युक्रेनविरुद्धको युद्धमा रुसको अनुभवबाट प्योङयाङले सिकेका पाठहरूका आधारमा आफ्नो क्षमता विस्तार गर्ने आवश्यकतालाई मान्यता दिएको प्रमाणित गर्दछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *