“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
भक्तपुर, २४ चैत । बाल विकास सेकेण्डरी स्कूल लिबालीले शनिबार आफ्नो स्थापनाको ३० औं वर्षगाँठको अवसर पारेर पाँचौं शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ग¥यो ।
उक्त अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा वरिष्ठ वामपन्थी बुद्धिजीवी नारायणमान बिजुक्छें (रोहित) ले देशको उपल्लो ओहोदामा बस्ने व्यक्तिहरूमा देश प्रेमभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थको लागि विदेशीको दलाली गर्ने प्रवृत्ति बढेको कारण देशले अहिलेको अवस्था भोगिरहेको बताउनुभयो ।
उहाँले विद्यार्थीले जुनसुकै डिग्री हासिल गरे पनि उनीहरूमा देशप्रेम भावना नभए त्यो पढाइ देशका लागि घातक हुने भएकोले विद्यालय तहदेखि नै देशप्रेमको पाठ सिकाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पूँजीवादी सरकारले नयाँ पुस्तालाई विदेशीको दास बनाएर त्यसैबाट आउने रेमिटेन्स तथा कमिसनमा आफ्ना आसेपासेलाई जागिर खुवाउने तथा भ्रष्टाचार गर्ने हुँदा यस्तो सरकारबाट जनचाहना पूरा हुने आशा गर्नु व्यर्थ छ भन्नुभयो ।
अध्यक्ष रोहितले एक फरक प्रसङ्गमा भन्नुभयो, ‘सदिऔँदेखि चीनले भोगचलन गर्दै आएको दक्षिण चीन सागरमा पूँजीवादी देशले बखेडा झिक्नु गलत छ । साम्राज्यवादी देशले समाजवादी देशलाई कमजोर बनाउन व्यापार युद्ध चर्काउन खोजेको छ । त्यस युद्धमा साम्राज्यवादीहरूको हार निश्चित छ ।’
नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रका प्रमुख इन कुन सोङले नेपाल र चीनबीच सदिऔं लामो मैत्री सम्बन्ध रहेको चर्चा गर्दै नेपालमा रहेको चिनियाँ सांस्कृतिक केन्द्रले विगत केही वर्षदेखि दुई देशबीच भाषा, कला र संस्कृति आदान–प्रदानमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि यो कार्य जारी रहने बताउँदै बाल विकास स्कूलले पनि यसमा साथ दिने विश्वास व्यक्त गर्नुभयो ।
सभापतिको मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चैत्यराज शाक्यले व्यवहारतः शिक्षा तथा स्वास्थ्य पूर्णरूपमा राज्यको दायित्व भए पनि पूँजीवादी व्यवस्थामा सरकार आफ्नो दायित्वबाट पन्छिएका कारण निम्न वर्गका सन्तानलाई कम शुल्कमा गुणस्तरीय तथा बजारमा प्रतिस्पर्धा गर्नसक्ने शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय स्थापना भएको प्रस्ट पार्नुभयो ।
उहाँले भक्तपुरका जनप्रतिनिधिहरूले भक्तपुरलाई देशकै ज्ञान–विज्ञानको केन्द्र बनाउन लागेको उल्लेख गर्दै देशका अन्य ठाउँका जनप्रतिनिधिहरूले पनि भक्तपुरबाट धेरै कुरा सिक्नसक्ने बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले विद्यालयले विद्यार्थीलाई विदेशीमा बिक्ने मेसिनभन्दा आफ्नो देश र माटोप्रति गौरव गर्नसक्ने स्वाभिमानी नागरिक तयार गर्ने लक्ष्य लिएको बताउनुभयो ।
उहाँले विद्यालयले शिक्षालाई नाफाको रूपमा नभई सेवाको रूपमा लिएको बताउनुभयो । देशका केही ठूला र महँगा भनाउँदा विद्यालयहरूले विदेशीको प्रभावमा परेर उनीहरूकै सेवक उत्पादन गरिरहेको बताउँदै आपूmहरू सधैँ त्यस्तो कार्यको विरोधी रहेको स्पष्ट पार्नुभयो ।
ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले पूँजीवादी समाजमा हरेक क्षेत्रमा संस्थागत लुट मौलाइरहेको बताउँदै सरकारले त्यस्तो लुट अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले केही व्यापारिक घरानाका व्यक्तिहरूले शिक्षामा पनि व्यापार गरेको चर्चा गर्दै बाल विकास स्कूलले निःस्वार्थ रूपमा समय सापेक्ष शिक्षा दिइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रमको दोस्रो चरणमा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए भने वर्षभरि अध्ययन अध्यापनको क्रममा शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूले निर्माण गरेका विभिन्न सामग्रीहरू प्रदर्शनीमा राखिएको थियो । साथै स्काउटका विभिन्न साहसिक खेल गतिविधिहरू पनि सञ्चालन गरिएका थिए । विद्यालयले स्काउटका विभिन्न साहसिक खेल गतिविधिहरू चैत २५ गते आइतबार पनि जारी रहने जनाएको छ ।
Leave a Reply