भर्खरै :

“रातो चुरा पोते लगाउँछु”

– गीता कुँवर
अछाम, २६ चैत (रासस) ः साँफेबजारको प्रभागाउँ जाने साँघुरो बाटोमा सेतुदेवी कुँवरको सानो चिया पसल छ । पसलमा आएका ग्राहकसँग भलाकुसारीसँगै चिया र चाउचाउ पकाएर उहाँको दैनिकी बित्ने गर्छ । रातो चुरा, पोते, रातो लुगा लगाएको देख्दा उहाँको श्रीमान् छैनन् भन्दा धेरैलाई पत्याउन गाह्रो हुन्छ ।
सेतुको श्रीमान् बितेको करीब १३ वर्ष भयो । उनले श्रीमान् बितेको दुई÷तीन वर्षसम्म रातो चुरा पोते लगाइनन् तर त्यसपछि भने रातो कपडा, चुरा पोते लगाउन छोडिनन् । “मैले रातो लगाएको देखेर गाउँघरमा धेरैले कुरा काटे, पसलमा आउने ग्राहकले पनि श्रीमान् बितिसक्दा पनि रातो लगाउने भनेर उल्टो प्रश्न गर्थे उनले भनिन् गाउँघरमा किन लगाएको भनेर सोध्नेहरु पनि आए तर मैले आफ्नो र छोराछोरीको खुशी हेरेँ ।
रातो चुरा पोते लगाएको देखेर बारम्बार शंकाको दृष्टिले हेर्ने समाजले सेतुलाई दुःख पर्दा समस्या के छ, के सहयोग गर्नुपर्छ भनेर सोध्न कहिल्यै आएनन् ।
विधुवाले सिन्दूर, पोते, टीकालगायतका शृङ्गार गर्न र रातो पहिरन लगाउन नहुने सामाजिक मान्यता आज पनि छ । एकल महिलाको पुनर्विवाहको कुरा त झनै परको विषय हो ।
पुरुषले श्रीमतीको निधन भएकै दिनदेखि अर्काे विहेको कुरा गर्दा कुनै अनौठो नलाग्ने त्यही समाज, एकल विधुवा महिलाको पुनर्विवाहबारे छलफल गर्नसमेत हिच्किचाउँछन् ।
सेतुलाई घरपरिवारबाट पनि सहयोग छैन । श्रीमान् बितिसकेपछि उहाँले आफ्नै घरमा बस्नका लागि निकै संघर्ष गर्नुप¥यो । तर अन्ततः घरबाट नै निकालियो । सेतु एउटा प्रतिनिधि पात्र मात्र हुन् । उहाँजस्ता श्रीमान् मरेर एकल बनेका थुप्रै महिलाले जीवन जिउन र आफ्ना सन्तानको पालनपोषणमा निकै संघर्ष गर्नुपरेको छ ।
चिया र चाउचाउ पकाएर सेतु आफूमात्र होइन, ग्राहकलाई पनि सन्तुष्ट बनाउनुहुन्छ । उनको हातको चिया र चाउचाउ खान पसलमा मानिसको निकै भीड लाग्छ । एकपटक पसलमा खाएर जाने मान्छे बारम्बार उहाँले पकाएको चाउचाउ र चियाको प्रशंसा गर्न र खान पसलमा पुग्छन् ।
त्यो सानो पसलमा उहाँका छोराछोरीको भविष्य पनि जोडिएको छ । उहाँका एक छोरा र एक छोरी छन् । छोरी साँफेबगरमा रहेको किण्डर गार्डेन बोर्डिन स्कूलमा कक्षा ७ मा पढ्छिन् । छोरा गाउँको प्रभाधम्कोट उच्च माविमा कक्षा १० मा पढ्छन् । छोरीलाई राम्रोसँग पढाएर आत्मनिर्भर बनाउने सोच सेतुकोे छ ।
छोरीलाई पढाउनुहुन्न भन्ने सोचबाट अलि माथि उठेको हाम्रो समाज छोरीलाई पढाउनुपर्छ भन्दै सरकारी विद्यालयमा पढाउने अभिभावकका लागि पनि गतिलो उदाहरण हुनुहुन्छ सेतु । “छोरीलाई बलियो बनाउने भनेकै पढाइ हो, त्यसैले राम्रोसँग पढाएर आफ्नो खुट्टामा उभिएको हेर्ने मन छ उहाँ भन्नुहुन्छ आफूले पाएको जस्तो दुःख छोरीले पाउन नपरोस् ।”
पसलबाट भएको केही आम्दानी र आफ्नो दिदीको सहयोगबाट उनले चार कोठाको पक्की घरसमेत बनाइसकेकी छन् । उहाँले भन्नुभयो, “श्रीमान्को कमाइमा बाँच्नु पर्दा हामीजस्ता महिलाले धेरै दुःख पाउनुपर्छ त्यसैले महिलाले आत्मनिर्भर हुन जरुरी पनि छ ।
श्रीमान् बितिसकेपछि धेरै दुःख भयो खान र बस्नलाई केही थिएन, अहिले यही व्यापारबाट छोराछोरीलाई पढाएको छु, चार कोठाको पक्की घर पनि बनाएँ, अहिलेसम्म कसैसँग हात थापेर खानुपरेको छैन । व्यापारबाट दैनिक एक हजारदेखि एक हजार ५०० सम्म आम्दानी हुन्छ ।”
पसलको काममा छोराछोरीले पनि सघाउने गर्छन् । “महिलामा हिम्मत आँट अनि निडर हुनुपर्छ अनिमात्र यो समाजमा टिक्न सकिन्छ, दिनरात रक्सी खाएर श्रीमती कुट्ने श्रीमान् किन नहोस् त्यो महिलाको समाजमा मान सम्मान इज्जत हुन्छ । उहाँ भन्नुहुन्छ ‘‘तर श्रीमान् नभएको महिलाले जतिसुकै राम्रो काम गरेर समाजमा बस्न खोजे पनि चरित्रमाथि औँला उठाउँछन् ।” उहाँको व्यापार देखेर रिस गर्ने पनि धेरै छन् । उनीहरुको रिसले आफूलाई थप गरी खाने ऊर्जा मिलेको बताउनुहुन्छ ।
एकातिर एकल महिलाप्रति समाजले हेर्ने दृष्टिकोणका विरुद्ध लड्नुपर्ने चुनौती छ भने अर्काेतर जीवनसाथी गुमाउँदाको पीडा र सन्तानप्रतिको जिम्मेवारी बहन गर्नुपर्ने बाध्यताले एकल महिलाको जीवन संघर्षपूर्ण छ ।
अछाम जिल्लामा एकल महिलाको संख्या कति छ भन्ने यकिन तथ्याङ्क भने छैन । विसं २०६८ को जनगणनाअनुसार नेपालमा एकल महिलाको संख्या करीब छ लाख रहेको छ ।
एकल महिलालाई सम्पत्तिमा अधिकार, पुनर्विवाहको अधिकार, आकस्मिक कोषको स्थापना, राष्ट्रपति उत्थान कार्यक्रममा उद्यमशीलताको अवसरलगायत थुप्रै नीतिगत व्यवस्था लागू भएको छ । तर यस्ता नीति नियमले ग्रामीण भेगका एकल महिलालाई भने समेट्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *