भर्खरै :

“अपराधमा महिला” विषयमा दोस्रो राष्ट्रिय सम्मेलन उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण भए अपराध घट्दै जाने

“अपराधमा महिला” विषयमा दोस्रो राष्ट्रिय सम्मेलन उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण भए अपराध घट्दै जाने

भक्तपुर,२३ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लको आयोजनामा ‘अपराधमा महिला’ विषयमा दोस्रो राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भयो ।
ख्वप इन्जिनियरिङ कलेजको सभा हलमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले गर्नुभएको थियो ।
कार्यक्रममा सचिव सुवालले उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुने राजनीतिक व्यवस्थामा अपराध घट्दै जाने स्पष्ट पार्दै भन्नुभयो, “मानव समाजको विकासको सिलसिला अध्ययन गर्दा राज्यको उत्पत्ति कमजोरवर्गलाई दमन गर्न भएको पुष्टि हुन्छ । वर्गीय समाजमा राज्य संयन्त्रले कामदार वर्गविरूद्ध नीतिगत र कानुनी रूपमा अपराध गरिरहेको हुन्छ । दार्शनिकहरूले अपराधमुक्त, करमुक्त र सबै प्रकारका भेदभावमुक्त सुसंस्कृत समाजमा राज्यसत्तासमेत अन्त्य हुने स्पष्ट गर्नुभएको छ ।”
उहाँले भन्नुभयो, “पैतीस वर्षयता सरकारमा गएका दलहरू सडकमा हुँदा ‘भारतले नेपाली सीमा मिचेको हुँदा खुट्टा नकमाइकन भारतसँग वार्ता गर्नुपर्ने’ उपदेश दिन्थ्यो भने सरकारमा पुगेपछि तिनीहरु कूटनीतिक पहल गर्नुपर्ने भनी आत्मसपर्णवादी कुतर्क राख्छन् । सरकार प्रमुखले हालै संसद्मा नेपालले भारतको सीमा मिचेको छ भन्नु यस्तै देशविरोधी सिलसिला हो ।”
इलामको पशुपतिनगरदेखि सिराहाको तिलाठी र लालापट्टि, नवलपरासीको सुस्ता, कञ्चनपुरको दोधारा चाँदनी, दार्चुलाको लिपुलेक, कालापानी र लिम्पियाधुरासम्मको नेपाली भूमि भारतले मिचेको विरोधमा नेपाल मजदुर किसान पार्टीले सडक र संसद्मा आवाज उठाउँदै आएको चर्चा गर्दै सचिव सुवालले नेपालको भूमि अतिक्रमण हुने गरी भारतले एकतर्फी बनाएको नेपाल–भारत सीमा नक्सा खारेज गर्नु जरूरी छ भन्नुभयो ।
भदौ २३ र २४ गतेको शान्तिपूर्ण आन्दोलनमा नेपाल प्रहरीको झूटो सामाजिक सञ्जाल, ठेगाना प्रयोग गरी विद्यालय पोशाक र झोलासहित उपस्थित भए विद्यार्थीलाई प्रहरीद्वारा गोली नहानिने र पेट्रोल बमसहित आन्दोलनमा आउन आह्वान गर्नेहरू कसरी अपराधमुक्त होलान् भन्दै उहाँले प्रश्न गर्नुभयो, “भदौ २३ गते निहत्था जनताको हत्या गर्ने र भदौ २४ गते देशभरिझैँ आगजनी गर्नेहरूलाई फागुन २१ गतेको निर्वाचनमा उम्मेदवार हुन नदिई जेल पठाउनुपर्ने किन होइन ?”
सचिव सुवालले भन्नुभयो, “राष्ट्रिय मानव अधिकार आयोग र कार्की आयोगको बयानमा सरोकारवालाले भदौ २४ गते संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायत आगजनी हुनुमा नेपाली सेनाको पनि कमजोरी भएको उल्लेख छ । विश्लेषक अनिल गिरीले ‘माउन्टेन टीभी’मा ‘एकलाख सेनामध्ये असी हजार परिचालन गरी एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउने सेनापतिले भदौ २४ गते सिंहदरबार जलाइँदा ननिभाएको’ भनी प्रश्न उठाउनुभएको छ । विश्लेषक प्रतीक प्रधानले ४० वर्षयता काठमाडौँमा बनेका ९० प्रतिशत घर भ्रष्टाचारीहरूको भएको र भदौ २३ र २४ गते उपद्रव गर्ने जेन्जी भनिएकाहरू उनीहरूकै छोराछोरी भएको बताउनुभएको थियो ।”
उहाँले भन्नुभयो, “सरकारले विदेशीसँग खर्बौँ रूपैयाँ ऋण ल्याएर कर्मचारीको तलब २१ प्रतिशतसम्म बढाएको नेपालको अर्थतन्त्रमा अर्को आगजनी किन होइन ? दार्शनिकहरूले महिलालाई शिक्षा दिनु परिवर्तनभित्रको परिवर्तन हुने बताउनुभएको छ । यसलाई मनन गरी राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा भइरहेको अपराध घटाउन यो दोस्रो राष्ट्रिय सम्मेलनले महत्वपूर्ण सुझाव दिने अपेक्षा गर्दछु ।”
कार्यक्रमका सभापति, कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सर्वसाधारण जनतालाई कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले ७ वटा कलेजहरू सञ्चालन गरिरहेको र हाल ती कलेजहरूमा देशभरिका ७ हजार ५ सत्न्दा बढी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो ।
हरेक क्षेत्रमा चाहिने विशेषज्ञहरू तयार गर्ने लक्ष्यसहित ती कलेजहरूले अध्ययन अनुसन्धानलाई जोड दिँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन गरिरहेको र आजको कार्यक्रम त्यसैको निरन्तरता रहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
कानुनमा जस्तोसुकै व्यवस्था गरिए पनि यदि पीडितहरूले न्याय नपाए त्यस्तो कानुको अर्थ नरहने स्पष्ट पार्दै प्रमुख प्रजापतिले पीडितलाई न्याय दिलाउन प्रहरी प्रशासन र न्यायपालिका भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
हिरासतमा रहेका कैदीलाई मानसिक र शारीरिक यातना दिन नहुने संवैधानिक र कानुनी मान्यताविपरीत ‘भक्तपुर काण्ड’ मा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूलाई अमानवीय यातना दिएको र नेमकिपालाई नष्ट गर्ने बदनियतसहित पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँलगायत पार्टीका कार्यकर्ताहरूलाई झूटा ज्यान मुद्दा लगाई प्रहरी प्रशासनद्वारा तयार गरिएको कागजमा जबजरस्ती सही गर्न बाध्य पारेको उहाँले स्मरण गर्नुभयो ।
न्यायको दृष्टिमा सबै समान हुने भएकोले सरकारमा बसेकालाई छुट र सरकार बाहिर बसेकालाई दण्ड दिन नमिल्ने स्पष्ट पार्दै प्रमुख प्रजापतिले न्याय निष्पक्ष नभएसम्म कानुनको अर्थ नरहने भएकोले कानुनभन्दा माथि कोही नहुने बहस कानुनका विद्यार्थीहरूले चलाउनु जरुरी भएको र विद्यार्थीले समस्यामात्र होइन समाधान पनि देखाउनु आवश्यक छ भन्नुभयो ।
कानुनबमोजिम जेलमा हुनुपर्ने अपराधीहरू खुलेआम हिँडिरहने र पीडितहरू डराई डराई बाँच्नुपर्ने स्थितिको अन्त्य हुनुपर्ने र न्याय गरेको जस्तो नभई न्याय पाएको अनुभूति दिलाउनुपर्नेमा प्रमुख प्रजापतिले जोड दिनुभयो ।
फौजदारी कानुनका विज्ञ प्रा.डा. रजितभक्त प्रधानाङ्गले शिक्षा क्षेत्रमा भनपाद्वारा सञ्चालित कलेजहरूले अग्रणी भूमिका खेलिरहेको बताउनुभयो ।
कानुनका धेरै विषयहरूमा अध्ययन अनुसन्धान गर्न धेरै बाँकी भएको चर्चा गर्दै उहाँले सम्मेलनको निचोडले राष्ट्रिय रूपमै योगदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
कानुनी विषयको अनुसन्धानको नाममा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको गरिरहेको भूमिका चित्तबुझ्दो नभएको उहाँले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले आधा आकाश ढाकिएका महिलाको संसार अँध्यारो रहेसम्म समाजमा परिवर्तन हुननसक्ने अध्यक्ष माओको भनाइ स्मरण गर्दै न्यायिक समानता र समाज परिवर्तनको लागि हरेक क्षेत्रमा महिलाको अग्रसरता हुनु जरूरी छ भन्नुभयो ।
समाजवादी व्यवस्थाले महिला स्वतन्त्रताको प्रत्याभूति गर्ने स्पष्ट पार्दैै उहाँले महिला अगाडि बढेको समाज मात्र न्यायिक समानता र समृद्धि सम्भव छ भन्नुभयो ।
छोरीलाई पढाइयोग्य बनाउनुपर्छ भन्दै दसकौँ अगाडि शैक्षिक अभियान चलाएको नतिजा भक्तपुर आज शैक्षिक गन्तव्यको रूपमा विकास हुनुमा नेमकिपाको योगदान महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो ।
कलेज सञ्चालक समितिका उपाध्यक्ष, भक्तपुर नगरपालिकाका उपप्रमुख एवं भक्तपुर नगरपालिका न्यायिक समितिका अध्यक्ष रजनी जोशीले कानुनी सचेतता एवं जनपक्षीय कानुन निर्माणको पक्षमा सम्मेलनको निचोडले महत्व भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
देशको लागि आवश्यक जनशक्ति हामी आफै तयार गर्छौँ भन्ने लक्ष्यसहित भनपाद्वारा ७ वटा कलेजहरू सञ्चालन भइरहेको उपप्रमुख जोशीले उल्लेख गर्नुभयो ।
सम्मेलनका ‘कि नोट स्पिकर’ वरिष्ठ प्रहरी उपरीक्षक रञ्जुु सिग्देलले महिलाले अपराध गर्न सक्दैन, यदि गरेमा त्यो महिला नै हुन नसक्ने भन्ने मानसिकतामा परिवर्तन हुँदै आएको र ५ वर्षको अवधिमा महिला अपराधीको सङ्ख्या ५ प्रतिशतबाट १० प्रतिशत पुगेको बताउनुभयो ।
बैङ्किङ कसुर, लागूपदार्थ, चोरी, जुवा, आतङ्कवादजस्ता आपराधिक क्रियाकलापमा महिलाको सहभागिता रहेको चर्चा गर्दै उहाँले पीडा सहन नसकी महिलाबाट जघन्य अपराधसमेत हुने उल्लेख गर्नुभयो ।
‘शोषण र उत्पीडन सहन नसकी बाध्य भई गरेको जघन्य अपराधलाई कसरी सम्बोधन गर्ने ?’ भन्ने छलफलको विषय भएको उहाँले उल्लेख गर्नुभयो ।
प्रहरीबाट गल्ती हुँदा खबरदारी गर्ने हातहरू आवश्यक भएको चर्चा गर्दै वरिष्ठ प्रहरी उपरिवेक्षक सिग्देलले स्क्रिनबाट हुने अपराधहरू बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले फौजदारी कानुन र न्यायको क्षेत्रमा अनुसन्धान, विचार विमर्श तथा नीतिगत संवाद जरूरी छ भन्दै नेपालको फौजदारी न्याय प्रणालीमा सम्मेलनको विषय ‘अपराधमा महिला’ बारे गहन अध्ययन र बहसको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “ख्वप कलेज अफ लले स्थापनाकालदेखि नै कलेजको शैक्षिक उत्कृष्टता, व्यावहारिक कानुनी शिक्षा, अनुसन्धान तथा सामुदायिक सेवामा विशेष जोड दिँदै आएको छ । हाम्रो विश्वास छ कि कानुनी शिक्षा केवल कक्षा कोठाभित्र सीमित रहनु हुँदैन, यसले समाजका जटिल कानुनी तथा सामाजिक समस्याहरूको समाधान खोज्न सक्रिय भूमिका निर्वाह गर्नुपर्छ ।”
कार्यक्रममा सम्मेलन आयोजक समितिका संयोजक लक्ष्मी बखाद्योले धन्यवाद ज्ञापन गर्नुभएको थियो । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको उक्त कार्यक्रममा कलेजको अनुसन्धान विभागका प्रमुख आशिष पौडेलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *