विश्वव्यापीकरणले ल्याउने अकाल
- कार्तिक १८, २०८२

तेल अभिव (इजरायल), २२ भदौ (एपी) । गाजामा जारी युद्धको समाचार इजरायली मिडियामा पछिल्ला दिनमा फरक देखिन थालेको छ ।
गत दुई वर्षको अधिकांश समय इजरायली टेलिभिजनहरूले गाजाको पीडाभन्दा इजरायली वीरता, अपहरणमा परेकाहरूका परिवारको दुःख र लडाइँमा मारिएका सैनिकहरूबारे समाचारलाई प्राथमिकता दिएका थिए ।
तर हाल केही च्यानलहरूले कुपोषित बालबालिकाका तस्बिरदेखि लिएर प्यालेस्टिनीहरूको दैनिक जीवनमा भोगिरहेका कठिनाइबारे रिपोर्ट प्रस्तुत गर्न थालेका छन् । यो सूक्ष्म परिवर्तन इजरायलमाथि बढ्दो अन्तर्राष्ट्रिय आलोचनाबिच आएको हो, जसले देशभित्रै सैन्य आक्रमण जारी राख्ने कि रोक्ने भन्ने गहिरो विभाजन देखाएको छ । तर बढ्दो प्रदर्शन र मिडिया कभरेजले नीतिमा खासै असर पारेको छैन ।
“यो गाजाको अवस्थाप्रति चासो मात्रै होइन, इजरायलको दृष्टिकोणबाट पनि प्रश्न हो—हाम्रो युद्धको लक्ष्य पूरा गर्ने तरिकाले हामी सही काम गरिरहेका छौँ कि छैनौँ ?”, इजरायलको हिब्रु विश्वविद्यालयका सञ्चार विज्ञ एरान अम्सालेमले भन्नुभयो ।
“युद्धको अधिकांश समयमा इजरायली मिडियाले गाजाको पीडा, भोकमरी वा विनाशबारे निकै थोरै खबर प्रसारण गरेको थियो”, इजरायली समाचार एङ्कर राविभ ड्रुकरले भन्नुभयो, “यदि गरेको थियो भने पनि, त्यो केवल हमासमाथिको आक्रमण कत्तिको प्रभावकारी भयो भन्ने इजरायली दृष्टिकोणमा सीमित रह्यो ।”
इजरायलले युद्ध सुरु भएदेखि सेनाद्वारा नियन्त्रित भ्रमणबाहेक अन्तर्राष्ट्रिय पत्रकारहरूलाई गाजामा प्रवेश दिन बन्देज लगाएको छ । पत्रकार संरक्षण समितिले यसलाई इतिहासकै घातक युद्ध भनेको छ, जसमा कम्तीमा एक सय ८९ प्यालेस्टिनी पत्रकार इजरायली आक्रमणमा मारिएका छन् ।
गाजाको पीडा देखाउने जोखिम
गाजाको मानवीय सङ्कटबारे बोल्ने केही पत्रकारहरू आलोचनाको शिकार भएका छन् । समाचार एङ्कर योनीत लेवीले जुलाईमा अकालसम्बन्धी रिपोर्टमा ‘यो केवल प्रचारको असफलता होइन, नैतिक असफलता पनि हो’ भनेपछि उहाँलाई केही विश्लेषकहरूले ‘हमासको प्रवक्ता’ र ‘सैनिकको अनुहारमा थुक्ने’ व्यक्ति भनेर आरोप लगाएका थिए ।
दक्षिणपन्थी च्यानलहरूले भने नियमित रूपमा प्यालेस्टिनीहरू मारिएको र घरहरू भत्काइएकोमा खुसी व्यक्त गर्दै आएका छन् र ‘गाजामा निर्दोष नागरिक छैनन्’ भन्दै अझै कडा कारबाही गर्नुपर्ने तर्क गर्छन् ।
गाजा स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा ६४ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । यो मन्त्रालय हमासद्वारा सञ्चालित भए पनि तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घ र स्वतन्त्र विज्ञहरूले विश्वसनीय मान्छन् । इजरायलले भने यी तथ्याङ्क अस्वीकार गरे पनि आफ्ना आँकडा सार्वजनिक गरेको छैन ।
यसैबिच, इजरायली पत्रकार ज्भी येहेज्केलीले हालै अस्पतालमा पाँच पत्रकार मारिएको आक्रमणलाई स्वागत गर्दै उनीहरू ‘हमाससँग मिलेर झूटा समाचार फैलाउँदै थिए’ भन्ने दाबी गरे । तर इजरायली सेना स्वयम्ले ती पत्रकारहरू कुनै पनि लडाकू नभएको स्पष्ट पारेको छ । मारिनेमा एपीका लागि काम गर्ने मरियम दग्गा पनि थिए ।
परिवर्तनको सङ्केत
यद्यपि, अझै सीमित भए पनि पछिल्ला हप्ताहरूमा केही प्रमुख मिडियामा प्यालेस्टिनीहरूको अवस्थाबारे लामो रिपोर्ट आउन थालेका छन् । इजरायली टेलिभिजनहरूले यस वर्षको दुई महिना १५ दिनको मानवीय सहायता प्रतिबन्धका कारण बढेको भोकमरी सङ्कटलाई पनि रिपोर्ट गरेका छन् । केही कार्यक्रममा गाजावासीहरूसँगको अन्तर्वार्ता देखाइएको छ, तर उनीहरूको सुरक्षाका कारण अनुहार ढाकिएको हुन्छ ।
वामपन्थी दैनिक ‘हारेत्ज’ का पत्रकार निर हासोनलगायतले युद्धअघि र युद्धका क्रममा निरन्तर प्यालेस्टिनीहरूको पक्षमा समाचार लेख्दै आउनुभएको छ, जसले हालको इजरायली मिडिया परिदृश्यमा अपवादको रूपमा स्थान पाएको छ ।
“अक्टोबर ७ पछि केही भङ्ग भयो र प्रतिपक्षको पीडाबारे कुरा गर्नु पूर्ण रूपमा अवैधजस्तो वातावरण बनाइयो”, हासोनले भन्नुभयो, “तर म बुझ्छु, इजरायली जनताले सुन्न सक्ने क्षमता राख्छन् । समस्या भने मिडियाले आफैँलाई धेरै रोक लगाइरहेको हो ।”
Leave a Reply