भर्खरै :

सुर्खेतमा युवा–विद्यार्थीको अन्तरक्रिया

सुर्खेतमा युवा–विद्यार्थीको अन्तरक्रिया

सुर्खेत, २२ भदौ । भक्तपुर काण्ड (भदौ–९) को विरोध कार्यक्रम तथा लिम्पियाधुरा, लिपुलेक र कालापानी विषयक अन्तरक्रिया कार्यक्रम नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेत र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सुर्खेतको संयुक्त आयोजनामा शनिबार वीरेन्द्रनगरमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समितिका सदस्य उदयजङ शाहीले ०४६ सालको आन्दोलनको जग नै भक्तपुर काण्ड भएको चर्चा गर्नुभयो । पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्रलाई महिला, मजदुर, किसानहरूको अथक प्रयासबाट पार्टी नेतृत्व र सङ्गठन बचाउन महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पार्दै उहाँले यस किसिमका षड्यन्त्रबारे सबैले जानकारी लिनुपर्ने र नयाँ पुस्ता अझ बढी सचेत र सङ्गठित भएर लाग्नुपर्ने बताउनुभयो ।
युवा र विद्यार्थीले अध्ययनमा जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले सन् १८१६ को सुगौली सन्धिले काली नदीको पश्चिमी किनारादेखि पूर्वको भू–भाग नेपालको भएको र कालीनदीको शिर लिम्पियाधुरा भएको प्रस्ट उल्लेख भएकोले लिम्पियाधुरा, लिपिलेक र कालापानी क्षेत्र विशुद्ध नेपालको भएको बताउनुभयो ।
सन् १८१६ देखि १८५६ सम्म इस्ट इन्डिया कम्पनीले बनाएका सम्पूर्ण नक्सामा लिम्पियाधुराबाट बग्ने काली नदी सीमा भएको स्पष्ट उल्लेख गर्दै उहाँले भौतिक विज्ञान र जल विज्ञानले पनि उक्त तथ्यलाई प्रमाणित गर्ने भएकोले नेपाल सरकारले यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा दैलेखका उपाध्यक्ष लक्ष्मी विकले भक्तपुर काण्डले सिङ्गो पार्टी सङ्गठनलाई बारम्बार झस्काइरहेको चर्चा गर्दै हरबखत पार्टी कार्यकर्ताहरू चनाखो हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी जिल्ला समिति सुर्खेतका सचिव लालबहादुर थापा, नेमकिपाका सुर्खेतका सदस्य चेतन पौडेल, नेक्रायुसङ्घका रणबहादुर राना, नेक्राकिसङ्घ सुर्खेतका अध्यक्ष पुष्पराज राना, नेक्राविसङ्घ सुर्खेतका सदस्य महेन्द्र सिजापति, रमा गिरी र तुल्सी सिजापतिले पनि बोल्नुभएको थियो ।
सो कार्यक्रम नेक्रायुसङ्घ सुर्खेतका अध्यक्ष खेमराज कडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *