भर्खरै :

अनुमतिबिना नेपाली सीमामा ड्रोन उडाउनु अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन

अनुमतिबिना नेपाली सीमामा ड्रोन उडाउनु अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन

भारतले नेपालको अनुमतिबिना सीमा क्षेत्रमा ड्रोन उडाएपछि सीमा क्षेत्रका नेपाली त्रसित भए । नेपालको सीमामा जासुसी गर्न भारतले ड्रोन उडाएको स्थानीय जनताको भनाइ हो तर सरकार बोल्न सकेन । भारतले नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरामाथि हस्तक्षेप गरिएको पछिल्लो घटना सेलाउन नपाउँदै भारतीय ड्रोनले नेपालको सीमा क्षेत्र नाघेको हो । रातको समयमा समेत झिलिमिली हुने सो ड्रोनमा नाइटभिजन, इन्फ्रारेड क्यामेरा, लात् भिडियो, जीपीएस तथा अल्ट्रासोनिक सेन्सरसमेत जोडिएका छन् ।
भारतीय सुरक्षाकर्मीले रातको १० बजेदेखि बिहान ४ बजेसम्म र आवश्यकतानुसार दिउँसो पनि ड्रोन उडाएकोे स्थानीय जनता बताउँछन् । नेपालमा निगरानी बढाउन भारतले नयाँ कानुन ल्याएसँगै सीमा क्षेत्रमा ड्रोन गस्ती थालेको समाचारमा उल्लेख छ । भारतको गृह मन्त्रालयले जिल्ला सुरक्षा निकायलाई ड्रोनमार्फत सीमा क्षेत्रको गस्तीको अनुमति दिएको पनि समाचार छ ।
नेपाल–भारत सीमाको ५ किलोमिटरसम्म हुने अवैध गतिविधि निगरानी गर्न भारतको ड्रोन परिचालन गरिएको भनिए पनि भारतको यो कदम नेपालविरुद्ध सुराकी भएको अनुमान छ । भारतले नेपालको अनुमति नलिई नेपाली सीमामा ड्रोन उडाउनु अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हो ।
कपिलवस्तु जिल्लाको चाकरचौडा, मर्यादपुर, कृष्णनगरलगायतका नेपाली भूमिमा भारतले धेरै दिनअघिदेखि ड्रोन गस्ती गर्दै आए पनि नेपाल सरकारले कुनै चासो देखाएन । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीले नेपाली भूमिमा ड्रोन नउडाएको जवाफ दिएर भारतकै पक्ष लिए ।
नेपाली जनताको विरोधपछि नदीसम्बन्धी सर्वेक्षणका लागि ड्रोन उडाएको भारतीय पक्षले जवाफ दियो । तर, भारतले कपिलवस्तु सीमाक्षेत्रको नेपाली भूमिमा रहेका मदरसा तथा मस्जिदको गतिविधि निगरानी गर्न ड्रोन उडाएको चर्चा छ । कपिलवस्तु जिल्लामा रहेका चाकर चौडा, मर्यादपुर, कृष्णनगर र यस वरपर रहेका दर्जनौँ मस्जिद तथा मदरसामा भारतविरोधी गतिविधि भइरहेको आरोप भारतले लगाएको छ । नेपालले पाकिस्तानी आतङ्ककारीलाई आश्रय दिइरहेको, विभिन्न आतङ्ककारी घटनाका लागि नेपाल आश्रय स्थल भएको भारतीय सुरक्षा निकायको आरोप छ । यो ‘ब्वाँसोले पाठालाई पानी धमिल्याएको’ आरोप लगाएजस्तै हो । रातको समयमा यस्ता गतिविधि हुने भएकोले अत्याधुनिक ड्रोन नेपाली भूमिमाथि उडाइएको भारतीयको भनाइ नेपालमाथिको हस्तक्षेप नै हो । नेपाली जनता भारतीय थिचोमिचो र हस्तक्षेपको विरोधमा एक हुनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *