भर्खरै :

देशको रक्षा मजबुत पार्न भेनेजुयाली राष्ट्रपति मादुरोद्वारा ‘स्वाधीनता योजना –२००’ लागु

देशको रक्षा मजबुत पार्न भेनेजुयाली राष्ट्रपति मादुरोद्वारा ‘स्वाधीनता योजना –२००’ लागु

कराकस, २६ भदौ (टेलिसुर) । भेनेजुयाली राष्ट्रपति निकोलस मादुरोले देशको रक्षा मजबुत पार्न बिहीबार बिहानै ‘स्वाधीनता योजना –२००’ लागु गर्नुभएको छ । उक्त योजना सेना र मिलिसियालाई स्थायी रूपमा सक्रिय राख्ने र रक्षात्मक प्रतिकार गर्ने अवधारणाअनुसार आएको हो ।
उक्त सैन्य कदम देशको एकीकृत सुरक्षा योजनाको महत्वपूर्ण भागको रूपमा अगाडि ल्याइएको हो । त्यसले स्थायी राष्ट्रिय प्रतिरक्षा प्राप्त गर्ने तथा शान्ति सुव्यवस्था सुदृढ गर्ने बताइएको छ ।
संरा अमेरिकाले भेनेजुयाली राष्ट्रपति मादुरोलाई जीवित वा मृत बुझाउनेलाई ५ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा र लागुऔषध तस्करी नियन्त्रणको बहानामा भेनेजुयाली समुद्रमा अमेरिकी नौसेना र विध्वंसक क्षेप्यास्त्रले लैस जलबेडाहरू तैनाथ गरेपछि भेनेजुयला आफ्नो रक्षा अवस्था सुदृढ पार्न बाध्य भएको हो ।
उक्त योजना कार्यान्वयन घोषणाको अवसरमा राष्ट्रपति मादुरोले राष्ट्रिय एकता, बफादारी र राज्यको सुरक्षामा बोलिभारियाली राष्ट्रिय सशस्त्र बलका पाँच शाखाहरूका अतिरिक्त सबैको कटिबद्धतामा जोड दिनुभयो ।
बोलिभारियाली राष्ट्रिय सशस्त्र बलका प्रधानसेनापतिको हैसियतमा उहाँले देशको सार्वभौमिकता र राष्ट्रिय अखण्डता अक्षुण्ण राख्नेमा पुनः जोड दिनुभयो ।
“भेनेजुयलाले कसैमाथि पहिलो आक्रमण गर्दैन तर कसैको पनि धम्की र आक्रमणलाई सहेर बस्दैन”, राष्ट्रपति मादुरोले स्पष्ट पार्नुभयो ।
उक्त घोषित योजनाअनुसार बोलिभारियाली सुरक्षा बल शत्रुको घुसपैठ र चलखेल हुनसक्ने क्षेत्रहरू फाल्कन तटीय क्षेत्र, जुलिया प्रान्तको काटाटुम्बो क्षेत्र, एन्डिज पर्वत क्षेत्र र आपुरे मैदानी क्षेत्रमा बढी सक्रिय रूपमा परिचालन भएका छन् ।
भेनेजुयलाको सार्वभौमिकता कुल्चन र त्यहाँको बोलिभारियाली समाजवादी प्रक्रिया अन्त गर्न हरेक अमेरिकी प्रशासनले निरन्तर आतङ्ककारी एवं विध्वंसक कारबाही प्रायोजन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *