भर्खरै :

वर्तमान राजनीतिक सङ्कटका निम्ति शासक दलहरू जिम्मेवार साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेपविरूद्ध सङ्घर्ष चालु राख्न आह्वान

वर्तमान राजनीतिक सङ्कटका निम्ति शासक दलहरू जिम्मेवार साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेपविरूद्ध सङ्घर्ष चालु राख्न आह्वान

भक्तपुर, २८ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा २०८२ साल भदौ २८ गते पार्टी केन्द्रीय सचिवालयको बैठक बस्यो । बैठकले देशको वर्तमान राजनीतिक अवस्थाबारे देहायबमोजिम वक्तव्य दिने निर्णय ग¥यो ।
सचिवालयको निर्णयबारे जानकारी दिन पार्टी सचिव प्रेम सुवालको हस्ताक्षरमा शनिबार वक्तव्य प्रकाशित गरिएको छ । प्रकाशित वक्तव्यमा उल्लेख छ –
“बहुदलीय व्यवस्था पुनःस्थापनापछिको ३५ वर्षयता संयुक्त वा एकल सरकारमा गएका शासक दलहरूले देश र जनताको निःस्वार्थ रूपमा सेवा नगरेको र भ्रष्टाचार, पक्षपात, भागबन्डालगायत अनियमितता गरेको हुँदा भदौ २३ र २४ गतेको जन–असन्तुष्टि छताछुल्ल भएको हो । त्यसपछि देशमा थप राजनीतिक जटिलता उत्पन्न भयो ।
देश र जनताका समस्या समाधानका लागि राष्ट्रपतिबाट समयमा संविधानको संरक्षण तथा पालन भएन र राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार तत्काल प्रयोग गरिएन । समयमै शान्ति सुरक्षा कायम नहुँदा अकल्पनीय जनधनको क्षति भयो । अहिलेको गैरसंवैधानिक कदमको लागि राष्ट्रपति स्वयम्ले जिम्मेवारी लिनुपर्नेछ । इतिहासमा राष्ट्रपति दोषी साबित हुनेछ ।
शासक दलका नेताहरूको सहमतिमा भदौ २७ गते राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटनलगायत संवैधानिक दायरा बाहिरबाट निकास दिनु भनेको जनताको भावनाविपरीत हो । अहिलेको सङ्कटको लागि शासक दलहरू पनि इतिहासमा दोषी साबित हुनेछन् ।
प्रतिनिधिसभाका सभामुखले संसद्मा उठेका विषय कार्यान्वयन गराउन सरकारलाई निर्देशन दिने वा जवाफदेही बनाउनेजस्ता अत्यावश्यक काम गरेनन् । भदौ २३ र २४ गतेको जटिल अवस्थामा समेत सभामुखबाट सर्वदलीय बैठकको आयोजना भएन । यसकारण, इतिहासमा सभामुखसमेत यो सङ्कटको निम्ति दोषी साबित हुनेछन् ।
नेपाल मजदुर किसान पार्टीले ठुला भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण तथा उनीहरूलाई मृत्युदण्डसमेत हुने कानुनी व्यवस्था, नेपालीको सम्पत्तिको सीमाङ्कन र विदेशमा सम्पत्ति राख्न नपाउने, नेपालीलाई योग्यताअनुसार देशभित्र रोजगारी, शिक्षा–स्वास्थ्य उपचार निःशुल्क, व्यक्तित्व विकासमा समान अवसरलगायत बन्दोबस्त हुनुपर्ने विषय उठाउँदै आएको हो । यी न्यायोचित विषयमा नेमकिपा पुनः जोड दिन्छ ।
वर्तमान जटिल राजनीतिक परिस्थितिमा वैदेशिक हस्तक्षेप बढिरहेको यथार्थप्रति सचेत हुँदै अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजी एवम् विस्तारवादविरोधी सङ्घर्ष चालु राख्न सम्पूर्ण देशभक्त नेपाली जनतामा नेमकिपा आह्वान गर्दछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *