भर्खरै :

इजरायली सेनाद्वारा गाजाको बहुतले भवनमा आक्रमण, दर्जनौँ नागरिक मारिए

इजरायली सेनाद्वारा गाजाको बहुतले भवनमा आक्रमण, दर्जनौँ नागरिक मारिए

जेरुसलेम, २९ भदौ (सिन्ह्वा) । इजरायली सेनाले शनिबार गाजा सिटीमा रहेको एक बहुतले आवासीय भवनमा हवाई आक्रमण गरेको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार, उक्त भवनमा हमासले आफ्नो कमान्ड र नियन्त्रण केन्द्र स्थापना गरी इजरायली सेनामाथि आक्रमणको योजना बनाउने तथा कार्यान्वयन गर्ने गरेको थियो । तथापि, यो दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक गरिएको छैन ।
हमासले इजरायली पक्षको भनाइलाई पुनः अस्वीकार गर्दै यसलाई नागरिक पूर्वाधारमाथिको आक्रमणलाई ‘झूटा बहाना’ मात्र भनेको छ ।
प्यालेस्टिनी समाचार संस्था वाफाका अनुसार, टेल अल–हावा क्षेत्रमा अवस्थित ‘अल–नूर टावर’ नामक आवासीय भवन आक्रमणमा पूर्णरूपमा ध्वस्त भएको छ । यो भवनमा युद्धका कारण विस्थापित भएका थुप्रै परिवारहरूले आश्रय लिइरहेका थिए ।
सप्ताह दिनभित्र गाजा सिटीभरि ५०० भन्दा बढी हमासका लक्ष्यहरूमा आक्रमण गरिएको आईडीएफले जनाएको छ । ती लक्ष्यहरूमा स्नाइपरहरूका अड्डा, सुरुङ मार्ग, हतियार भण्डारणस्थल र अन्य सैन्य पूर्वाधारहरू समावेश थिए ।
शनिबार, गाजा सिटी र त्यस आसपासका क्षेत्रमा इजरायली हवाई आक्रमण तीव्र भएको वाफाले जनाएको छ । अल–रिमालको अल–थवरा सडकमा एक घरमाथि गरिएको आक्रमणमा केही सर्वसाधारण घाइते भएका छन् भने अल–यारमुक क्षेत्र नजिकका बासिन्दाहरूको घरमा ड्रोनबाट आक्रमण गरिएको छ ।
यस्तै, वाफाले मध्य गाजामा मानवीय सहायता लिन लाममा उभिएका नागरिकमाथि इजरायली बख्तरबन्द सवारीबाट गोली प्रहार गरिएको जनाएको छ । यसबारेमा भने आईडीएफले कुनै प्रतिक्रिया दिएको छैन ।
चिकित्सा स्रोतको हवाला दिँदै वाफाले पछिल्लो २४ घण्टामा भएका इजरायली आक्रमणमा कम्तीमा ४७ प्यालेस्टिनीको मृत्यु भएको र २०५ जना घाइते भएको उल्लेख गरेको छ ।
यो युद्ध २०२३ अक्टोबर ७ मा हमास लडाकुहरूले दक्षिण इजरायलमा आक्रमण गरी करिब १,२०० जनाको हत्या र २५० जनालाई बन्धक बनाएको घटनापछि सुरु भएको हो । त्यसयता इजरायली सैन्य कारबाहीमा गाजामा ६४,००० भन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *