भर्खरै :

शासक दलका नेताहरू भ्रष्टाचार र नातावादमा लाग्दा जनधनको क्षति

शासक दलका नेताहरू भ्रष्टाचार र नातावादमा लाग्दा जनधनको क्षति

भक्तपुर, ३० भदौ । प्रभात इङ्गलिश सेकेन्डरी स्कूलमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबिच सोमबार समसामयिक विषयमा छलफल कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले भन्नुभयो, “राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २३ र २४ गतेको जनधनको क्षतिलाई देखाएर संविधानविपरीत अन्तरिम सरकार गठनको नाममा नेकाकै विचार बोक्ने सुशीला कार्कीलाई प्रधानमन्त्री बनाए ।”
नयाँ पुस्ताले सत्तामा रहेकाको नातावाद र भ्रष्टाचारको विरोध गरेको दाबी गरेको उल्लेख गर्दै उहाँले राष्ट्रपति पौडेलबाट अन्तरिम सरकारको प्रधानमन्त्रीमा आफ्नै पार्टीकालाई नियुक्ति गरेको बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “संरा अमेरिकाका जर्ज बुसका छोरा जर्ज डब्लू बुस राष्ट्रपति, इन्डोनेसियामा राष्ट्रपति विडोडोका छोरा ग्रिवान उपराष्ट्रपति, फिलिपिन्समा राष्ट्रपति मार्कोसका परिवार, थाइलैन्डमा प्रधानमन्त्री थाक्सिन सिनावात्राका छोरी प्रधानमन्त्री, श्रीलङ्कामा आमा छोरी, बङ्गलादेशमा बुबा छोरी सत्तामा पुगेकोमा विरोध भयो ।”
प्रजग कोरियामा नेता किम इल सङका छोरा र नाति तथा क्युवामा राहुल क्यास्ट्रोका भाइ क्रान्तिको उत्तराधिकारीको रूपमा सत्तामा पुग्नुभएको सचिव सुवालले स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा नेका, एमाले, माओवादीबाट प्रधानमन्त्री र राष्ट्रपति एवं उपराष्ट्रपति भएकाका नातेदारहरूले कुनै योगदानविना लाभ र सुविधा पाएको र भ्रष्टाचारमा संलग्न भएको सार्वजनिक भयो ।”
सचिव सुवालले भन्नुभयो, “जनआन्दोलनलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते अगाडि नै राजीनामा दिएर विकासको मार्ग प्रशस्त गर्नुपर्दथ्यो वा जनताको आवाजअनुसार ठुला भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने, शिक्षा–स्वास्थ्य निःशुल्क गर्ने, देशभित्र रोजगारी दिने, व्यक्तित्व विकासमा समान अवसर दिने काम गर्नुपर्दथ्यो । यी कुनै पनि काम नभएको हुँदा जनधनको अकल्पनीय क्षति भयो । यसको जिम्मेवारी सरकारमा गएका दल र नेताहरूले लिनुपर्दछ ।”
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य गौतमप्रसाद लासिवाले नयाँ पुस्तालाई पुँजीवादी व्यवस्थाबाट हुने हानिनोक्सानीबारे सचेत पारी समाजवादी विचारबाट सुसज्जित गर्नु हामी सबैको जिम्मेवारी हो भन्नुभयो ।
कार्यक्रममा विद्यालयको शैक्षिक उन्नयन समितिका मुना बासुकला, विद्यालयका सहप्राचार्य स्वर्णिमा मूलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *