नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
ग) “विशेषाधिकारको शासन” (भिटोक्रेसी) मा पुगेको नियन्त्रण र सन्तुलनको सिद्धान्त
अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले आफ्नो पुस्तक ‘राजनीतिक व्यवस्था र राजनीतिक क्षयीकरण’ (पोलिटिकल अडर एन्ड पोलिटिकल डिके) मा संरा अमेरिकामा राजनीतिक पक्षघात अन्तरनिहित रहेको औँल्याएका छन् । संरा अमेरिकी राजनीतिक प्रणालीमा धेरै नियन्त्रण र सन्तुलन रहेको एवम् त्यसले सामूहिक कामको लागत निकै बढेको, कतिपय अवस्थामा त असम्भवसमेत हुने गरेको छ । फुकुयामाले त्यस्तो व्यवस्थालाई ‘विशेषाधिकारको शासन’ (भिटोक्रेसी) बताएका छन् । सन् १९८० दशकयता संरा अमेरिकामा ‘भिटोक्रेसी’ गतिरोधको सूत्र बन्दै आएको छ ।
संरा अमेरिकी प्रजातान्त्रिक प्रक्रिया विभाजित र दिक्कलाग्दो गरी लम्बेतान छ । त्यसमा धेरै विशेषाधिकार प्रयोग गर्ने ठाउँ छन् । व्यक्तिगत विशेषाधिकार प्रयोगकर्ताहरूले सिङ्गो प्रणालीलाई नै अघि बढ्नबाट रोक्न सक्छन् । शक्ति दुरुपयोग रोक्ने मनसायले बनाइएको ‘नियन्त्रण र सन्तुलन’ को कार्यशैली अमेरिकी राजनीतिक अभ्यासमा भाँचकुँच गरिएको छ । राजनीतिक मुद्दामा दुई शासक दलहरूका मत विभाजित हुँदा राजनीतिक ध्रुवीकरण अझ बढिरहेको छ र उनीहरूबिच सहमतिको क्षेत्र उल्लेखनीयरूपमा खुम्चिएको छ । फलतः ‘सबभन्दा उदार रिपब्लिकन अहिले सबभन्दा अनुदार डेमोक्रेटिक’ बनेको छ । वैरभाव र आपसमा निषेध सामान्य बन्दै गएको छ । ‘भिटोक्रेसी’ लाई अमेरिकी राजनीतिक संस्कृतिको रूपमा परिभाषित गरिँदै छ । ‘मैले सकिनँ भने तिमीलाई पनि गर्न दिन्नँ’ भन्ने आक्रामक मनस्थिति हाबी बनेको छ ।
वासिङ्टन डीसीका राजनीतिक नेताहरू आफ्ना दलगत स्वार्थ सुरक्षा गर्ने दौडमा लागेका छन् । उनीहरूलाई राष्ट्रिय विकासबारे कुनै चासो र चिन्ता छैन । कुनैसँग भएको विशेषाधिकारद्वारा उसलाई एउटै शिविरमा बसेको अर्को नेताभन्दा बलियो देखाउने गरिन्छ । त्यसले त्यो नेतालाई बढी र चाँडै समर्थन प्राप्त गर्न सक्ने बनाउँछ । परिणामतः दुई वटा शासक दल विशेषाधिकारको लतमा नराम्ररी फसेका छन् । खराब कुरा त के हो भने त्यही कारण सरकारको प्रभावकारिता नराम्ररी कमजोर बनेको हुन्छ, कानुन र न्याय दबाइन्छ । विकास र प्रगतिको गति रोकिन्छ । सामाजिक विभाजन फराकिलो बन्दै जान्छ । आजको संरा अमेरिकामा मानिसहरू आफूलाई एक जना अमेरिकीको रूपमा भन्दा रिपब्लिकन र डेमोक्रेटको रूपमा चिनाउन मन पराउँछन् । पहिचान र सम्प्रदायको राजनीतिका नकारात्मक प्रभाव अमेरिकी समाजको अन्य क्षेत्रमा पनि पोखिएको छ । जसले ‘विशेषाधिकार शासन’ लाई थप बढावा दिएको छ ।
पिउ अनुसन्धान केन्द्रले सन् २०२१ को अक्टोबर महिनामा सार्वजनिक गरेको प्रतिवेदनअनुसार मत सर्वेक्षण गरिएका संसारका अन्य देशहरूको तुलनामा संरा अमेरिका राजनीतिकरूपमा विभाजित छ । संरा अमेरिकासहित जर्मनी र दक्षिण कोरियामा मत सर्वेक्षण गरिएको थियो । दस जनामध्ये नौ जना संरा अमेरिकी उत्तरदाता विभिन्न राजनीतिक दललाई समर्थन गर्ने मानिसहरूबिच द्वन्द्व भएको विश्वास गर्छन् । त्यस्तै, सर्वेक्षणमा सहभागी झन्डै ६० प्रतिशत अमेरिकीहरू आफ्नो देशका नागरिक अहिले नीतिमा मात्र नभई सामान्य तथ्यहरूमा समेत मतभेद राख्ने गरेको विश्वास गर्छन् ।
क्युङ ही विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक जुङकुन सिओ संरा अमेरिकामा राजनीतिक ध्रुवीकरण सघन बन्दै गएको बताउँछन् । त्यसकारण, चुनावमार्फत अमेरिकी प्रजातन्त्रमा सुधार गर्ने प्रक्रियाले काम नगर्ने उनको भनाइ छ । लामा – लामा भाषणमा अल्झिएको (फिलिबस्टर) अमेरिकी संसद््ले अमेरिकी समाजमा परिवर्तनको लागि प्रतिनिधिमूलक अङ्गको भूमिका खेल्न सकेको छैन ।
घ) कमजोरी नै कमजोरी भएको चुनावी कानुनले चुनावको निष्पक्षता र न्यायको उपहास गरेको छ
संरा अमेरिकामा राष्ट्रपति चुनावको लागि लामो समयदेखि चुनावी कलेज प्रणाली लागु हुँदै आएको छ । त्यो प्रणालीअन्तर्गत राष्ट्रपति र उपराष्ट्रपति जनताको प्रत्यक्ष मतदानबाट निर्वाचित हुने गर्दैनन् । अमेरिकी चुनावी कलेजमा ५३८ वटा इलेक्टर्स छन् । चुनावमा २७० वा त्योभन्दा बढी इलेक्टोरल मत प्राप्त गर्ने उम्मेदवारले चुनाव जित्ने गर्छ ।
यो चुनावी प्रणालीभित्रका कमजोरी छर्लङ्ग छ । प्रथमतः राष्ट्रपतिमा निर्वाचित भएका उम्मेदवार देशभरका जनताको मतबाट निर्वाचित नहुन पनि सक्छन् । त्यसमा व्यापक प्रतिनिधित्वको कमी हुन्छ । दोस्रो, हरेक राज्यसँग आफ्नो चुनावी नियम आफैले बनाउन पाउने अधिकार पाउँदा त्यसले अन्योल र अराजकता निम्त्याउन सक्छ । तेस्रो, एकै दलले सबै पद जित्न सक्ने प्रणालीले राज्यहरूबिच असमानता बढाउनुका साथै राजनीतिक दलहरूबिच पनि असमानता फराकिलो हुन्छ । त्यसले गर्दा जनताको धेरै मत खेर जान्छ र जनतालाई मतदानमा भाग लिन निरुत्साहित गर्छ । ‘गाढा निलो’ (पूरै डेमोक्रेटिकले जितेका) र ‘गाढा रातो’ (पूरै रिपलिब्कनले जितेका) राज्यहरूमा मतदातालाई प्रायः बेवास्ता गरिन्छ । कुनै पनि दल जित्ने निश्चित नभएका राज्यहरूका मतदाताहरूलाई आफ्नो पक्षमा ल्याउन अत्यधिक जोड दिने गरिन्छ ।
संरा अमेरिकाको इतिहासमा त्यस्ता पाँच राष्ट्रपतीय निर्वाचन छन् जसमा देशभरका जनताको मतबाट विजयी भएका उम्मेदवार राष्ट्रपति पदमा पराजित भएका छन् । यसको सबभन्दा पछिल्लो उदाहरण सन् २०१६ को निर्वाचन हो । त्यो निर्वाचनमा रिपब्लिकन दलका डोनाल्ड ट्रम्पले ६ करोड २९ लाख ८० हजार मत प्राप्त गरेका थिए । त्यो भनेको कुल मतसङ्ख्याको ४५.९ प्रतिशत हो । उनका प्रतिस्पर्धी हिलारी क्लिन्टनले ६ करोड ५८ लाख ५० हजार मत पाएकी थिइन् । त्यो भनेको कुल मतसङ्ख्याको ४८ प्रतिशत थियो । ट्रम्पले मतमा हारे पनि ३०४ इलेक्ट्रोल मत पाए भने क्लिन्टनले २२७ इलेक्ट्रोल मतमात्र प्राप्त गरिन् । फलतः ट्रम्प राष्ट्रपति पदमा विजयी घोषित भए ।
संरा अमेरिकी चुनावी प्रणालीको अर्को कमजोरी भनेको आफ्नो अनुकुलतामा निर्वाचन क्षेत्रको सीमा नै हेरफेर गर्नु (जेरीम्यान्डर) हो । सन् १८१२ मा म्यासाचुसेटका गभर्नर इलब्रिज जेरीले आफ्नो दलको हितमा एउटा विधेयकमा हस्ताक्षर गरे । सो कानुनअनुसार म्यासाचुसेटमा अमिल्दो खालको निर्वाचन क्षेत्र बनाइयो । एउटा निर्वाचन क्षेत्रको आकार ठ्याक्कै छेपारोको आकारसँग मिल्थ्यो । त्यही अभ्यासलाई समयान्तरमा जेरीम्यान्डर भन्न थालियो । जसको अर्थ कुनै निश्चित राजनीतिक दलका उम्मेदवारलाई सकेसम्म बढी स्थानमा जिताउने र त्यहाँ बलियो आधार स्थापना गर्ने हेतुले अमिल्दो किसिमले निर्वाचन क्षेत्रको विभाजन गर्नु हो ।
संरा अमेरिकामा हरेक दस वर्षमा जनगणना हुने गर्छ । जनगणनापछि मानिसहरूको बसाइँसराइलाई ध्यानमा राखी हरेक निर्वाचन क्षेत्रमा झन्डै समान जनसङ्ख्या हुनुपर्ने सिद्धान्तको आधारमा निर्वाचन क्षेत्रको सीमा पुनः हेरफेर गर्ने गरिन्छ । संरा अमेरिकी संविधानअनुसार हरेक राज्यको संसद्सँग निर्वाचन क्षेत्र हेरफेर गर्ने अधिकार रहन्छ । त्यसकारण, राज्यको संसद्मा बहुमत पाएको राजनीतिक दलले निर्वाचनमा आफ्नो अनुकुल हुने गरी निर्वाचन क्षेत्रको पुनःविभाजन गर्नसक्छ । यसरी निर्वाचन क्षेत्र पुनःविभाजन गर्दा प्रमुखतः दुई वटा रणनीति प्रयोग हुने गरेको छ । पहिलो, ‘थुपार्ने’ अर्थात् विपक्षी दलका मतदातालाई निश्चित क्षेत्रमा केन्द्रित गर्ने । त्यसो गर्दा ती निश्चित निर्वाचन क्षेत्रमा मात्र विपक्षीले जित्नेछ । अर्को रणनीति भनेको ‘फुटाउनु’ हो । अर्थात्, विपक्षीहरू बलियो भएको निर्वाचन क्षेत्रलाई फुटाइन्छ र त्यसमा वरपरका निर्वाचन क्षेत्रका भागहरू सामेल गरिन्छ । जसले गर्दा विपक्षी राजनीतिक दलको मत छिन्नभिन्न हुन पुग्छ ।
सन् २०२१ को सेप्टेम्बर २७ मा डेमोक्रेटहरूले जितेको ओरेगन राज्यलाई पहिलोपटक पूर्णतः पुनः विभाजन गरियो । डेमोक्रेटिक दलको बलियो पकड भएका निर्वाचन क्षेत्रहरू दुईबाट चार पु¥याइयो । अनि, मतपरिणाम तलमाथि हुनसक्ने निर्वाचन क्षेत्रको सङ्ख्या दुईबाट एकमा झारियो । त्यसको अर्थ ओरेगन राज्यको संसदीय निर्वाचन क्षेत्रको ८३ प्रतिशत क्षेत्र डेमोक्रेटिक दलको हातमा दिनु हो । जब कि ती क्षेत्रमा कुल मतदाताको ५७ प्रतिशतमात्र छन् । अर्कोतिर, रिपब्लिकनहरूले जित्दै आएको टेक्सास राज्यमा सन् २०२१ को २५ अक्टोबरमा गरिएको निर्वाचन क्षेत्रको पुनः विभाजनले रिपब्लिकन दलको बाहुल्य भएका निर्वाचन क्षेत्रको सङ्ख्या २२ बाट २४ पु¥याइयो र मत परिणाम अलमल भएका निर्वाचन क्षेत्रको सङ्ख्या ६ वटाबाट एउटामा झारियो । टेक्सासको संसद्मा अहिले जम्मा ५२.१ प्रतिशत मतदाताहरूको प्रतिनिधित्व गर्दै ६५ प्रतिशत स्थानमा रिपब्लिकनहरू छन् ।
सन् २०२१ को अगस्तमा युगोभ नामको संस्थाले गरेको मतसर्वेक्षणअनुसार संरा अमेरिकाका जम्मा १६ प्रतिशत वयस्क नागरिकले मात्र आ–आफ्ना राज्यमा संसदीय निर्वाचन क्षेत्र सही तरिकाबाट नक्साङ्कन गरिएको बताउँछन् । ४४ प्रतिशतले नक्साङ्कन अन्यायपूर्ण भएको मत राखे भने अरू ४० प्रतिशत वयस्कले नक्साङ्कन सही भए नभएको आफूलाई थाहा नभएको मत राखे । संरा अमेरिकी राजनीतिमा ध्रुवीकरण उत्कर्षमा पुग्दै गर्दा दुवै रिपब्लिकन र डेमोक्रेटिक दलहरूले आ–आफ्ना स्वार्थ फत्ते गर्न खोजिरहेका छन् र आफ्नो पहुँचले भ्याएसम्म आफ्नो अनुकुलतामा निर्वाचन क्षेत्रको सीमामा हेरफेर गरिरहेका छन् ।
डेमोक्रेटिक पार्टीको स्वतः स्फूर्त प्रतिनिधि बन्ने सुपरडेलिगेट प्रणाली पनि न्यायपूर्ण निर्वाचनको निम्ति तगारो हो । स्वतः स्फूर्त प्रतिनिधिअन्तर्गत डेमोक्रेटिक दलका प्रमुख नेताहरू, डेमोक्रेटिक दलका केन्द्रीय सदस्य, संसद्मा डेमोक्रेटिक दलका सांसद र डेमोक्रेटिक दलका गभर्नरहरू हुन् । उनीहरू स्वतः स्फूर्त पार्टी महाधिवेशनमा प्रतिनिधि हुन्छन् । ‘सुपर डेलिगेट्स’ हरूले कोही पनि उम्मेदवारलाई समर्थन गर्नसक्छन् अथवा पार्टी नेतृत्वले चाहेअनुसारको उम्मेदवारलाई चुन्न पाउँछन् । तर, उनीहरूले सर्वसाधारण जनताका भावनाको पर्वाह गर्नुपर्ने कुनै आवश्यकता रहँदैन ।
दिवङ्गत राजनीतिक विश्लेषक मार्क प्लोटकिनले ‘द हिल’ मा ‘डेमोक्रेटिक दलमा सुपरडेलिगेट्स प्रणाली अप्रजातान्त्रिक छ’ भनी लेखेका छन् । उनले ‘यो कुलीन अभ्यास हटाउने प्रक्रिया तत्काल थाल्नुपर्ने’ मत राखेका छन् ।
ङ) काम नलाग्ने प्रजातन्त्रले विश्वासको सङ्कट निम्त्याउँछ
अमेरिकी शैलीको प्रजातन्त्र भनेको कुनै हलिउड चलचित्रको निकै सूक्ष्मरूपमा बनाइएको दृश्यजस्तै हो जहाँ केही धनीमानी पात्रहरूले जनतासामु सार्वजनिकरूपमा प्रतिबद्धता व्यक्त गर्छन् । तर, खासमा पर्दापछाडि उनीहरू आफ्नै नाफा नोक्सानको हिसाबकिताबमा लागेका हुन्छन् । राजनीतिक झगडा, पैसाको राजनीतिक र विशेषाधिकारको शासन (भिटोक्रेसी) ले सर्वसाधारण जनताले चाहेको जस्तो गुणस्तरीय सुशासन दिन वस्तुतः असम्भव बनाइदिएको हुन्छ । अमेरिकी जनता संरा अमेरिकी राजनीतिबाट क्रमशः भ्रममुक्त बन्दै छन् । उनीहरू अमेरिकी शैलीको प्रजातन्त्रबाट निराश छन् ।
सन् २०२० को अक्टोबरमा भएको गलअप नामको संस्थाले गरेको सर्वेक्षणअनुसार त्यसमा भाग लिएका १९ प्रतिशत अमेरिकीमात्र राष्ट्रपति निर्वाचनप्रति ‘निकै विश्वस्त’ थिए । सन् २०१४ मा पहिलोचोटि गरिएको त्यस्तै सर्वेक्षणयता सन् २०२० को यो प्रतिशत सबभन्दा न्यून हो ।
सन् २०२० को नोभेम्बरमा ‘वाल स्ट्रिट जर्नल’ को एउटा अनलाइन समाचारले सन् २०२० को चुनावी परिणाम बितेका दुई दशकयता क्रमशः घट्दै गएको संरा अमेरिकी प्रजातन्त्रप्रति जनताको विश्वासको एकमुष्ठ अभिव्यक्त भएको तर्क गरेको छ ।
‘द एसोसिएट प्रेस–एनओआरसी सार्वजनिक मामिला अनुसन्धान केन्द्र’ ले गरेको सर्वेक्षणअनुसार १६ प्रतिशत अमेरिकीले मात्र अमेरिकामा प्रजातन्त्रले राम्ररी काम गरिरहेको वा निकै राम्ररी काम गरिरहेको मत व्यक्त गरेका थिए । ४५ प्रतिशत जनताले भने प्रजातन्त्रले सही तरिकाबाट काम नगरेको मत व्यक्त गरेका थिए । ३८ प्रतिशतले केही हदसम्म राम्ररी काम गरिरहेको मत व्यक्त गरेका थिए । ‘पिउ अनुसन्धान केन्द्र’ को सर्वेक्षणबाट २० प्रतिशत अमेरिकी जनताले मात्र अमेरिकाको सङ्घीय सरकारलाई सधैँ वा अधिकांश समय विश्वास गर्ने मत व्यक्त गरेका थिए ।
सन् २०२१ मा ‘ब्रुकलिन्स’ मा प्रकाशित एउटा अनलाइन लेखले सन् २०२० को चुनावको नतिजामाथि अमेरिकाका ५० वटै राज्यले दिएको प्रमाणपत्रमा ७७ प्रतिशत रिपब्लिकन मतदाताहरूले ‘चुनावमा धाँधली भएको आरोप’ सहित दिएको उजुरीले जो बाइडेनको चुनावी विजयमाथि प्रश्न उठेको छ । सन् १९३० को दशकयता यस्तो घटना भएको यो पहिलोपटक हो ।
सीएनएनले सेप्टेम्बर महिनामा गरेको एक मत सर्वेक्षणअनुसार ५६ प्रतिशत अमेरिकीहरू संरा अमेरिकामा प्रजातन्त्रमाथि हमला भइरहेकोमा विश्वास गर्छन् । ५२ प्रतिशतले चुनावले जनताको भावना अभिव्यक्त गर्नेमा आफू कमैमात्र विश्वस्त भएको वा कत्ति पनि विश्वास नगर्ने बताए । ५१ प्रतिशत मानिसले आगामी केही वर्षमा निर्वाचित पदाधिकारीहरूले आफ्नो दलले नजिते चुनावको नतिजा नै उल्टाउने बताए ।
सन् २०२१ मा पिउले १६ वटा धनी देशका १६ हजार वयस्क र संरा अमेरिकाका २५ सय वयस्कहरूबिच गरेको सर्वेक्षणमा ५७ प्रतिशत विदेशका उत्तरदाता र ७२ प्रतिशत अमेरिकी उत्तरदाताले पछिल्ला वर्षहरूमा संरा अमेरिकी प्रजातन्त्र राम्रो उदाहरण नरहेको बताएका थिए ।
२) प्रजातन्त्रको भद्रगोल र अराजक अभ्यास
संरा अमेरिकामा प्रजातन्त्र गलत दिशामा गइरहेको कुरा त्यो प्रणालीको प्रारूप र संरचनामा मात्र अभिव्यक्त भएको छैन । बरु, कार्यान्वयनको सिलसिलामा पनि त्यो देखिएको छ । प्रजातन्त्रको कुरा गर्दा संरा अमेरिका अब्बल दर्जाको विद्यार्थी पक्कै होइन । प्रजातन्त्रको लागि आदर्श त झन् हुँदै होइन । क्यापिटोल हिलमा भएको गोलीकाण्ड र अराजक अवस्थाले पनि अमेरिकी शैलीको प्रजातन्त्रको भव्य आवरणमुनि के छ भन्ने कुरा प्रस्टै उजागर भइसकेको छ । कालो समुदायको अमेरिकी (ब्ल्याक अमेरिकन) जर्ज फ्लोयडको हत्याले अमेरिकी समाजमा लामो समयदेखि विद्यमान रहेको प्रणालीगत जातिवादको नग्नता प्रदर्शन भइसकेको छ । फ्लोयडको हत्याको विरोधमा संरा अमेरिकामा जताततैबाट र अझ सिङ्गो संसारबाटै पानी उम्लिँदा पानीका भुल्का उठेजस्तै उठे ।
संरा अमेरिकामा कोभिड–१९ महामारी नियन्त्रणबाहिर हुँदा मास्क र खोप लगाउने कुराले थप सामाजिक विभाजन र द्वन्द्व निम्त्यायो । आर्थिक वृद्धिको हिस्सेदारी असमान ढङ्गले वितरण गरिएको छ । लामो समयदेखि धेरैजसो सर्वसाधारण जनताको लागि आम्दानीमा वृद्धि रोकिएको छ । अमेरिकी शैलीको प्रजातन्त्रमा न त सार्वजनिक सुव्यवस्था र नैतिकता राम्ररी कायम हुन सकेको छ न त जनताको भलो नै पूर्णरूपमा हुन सकेको छ ।
स्रोत : अमेरिकाको प्रजातन्त्र !
Leave a Reply