भर्खरै :

छिमेकी मुलुकहरू भारतसँग किन अलग्गिँदै ? चीनसँग किन नजिकिँदै ?

छिमेकी मुलुकहरू भारतसँग किन अलग्गिँदै ? चीनसँग किन नजिकिँदै ?

नेपालको पछिल्लो आन्दोलनले यदि केपी शर्मा ओलीलाई सत्ताबाट विस्थापित नगरेको भए, आज भदौ ३१ गते उनी नेपालका प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा व्यस्त हुने थिए । नेपालको राजनीतिक संस्कृतिमा प्रायः प्रधानमन्त्रीहरूको कार्यकाललाई मान्यता दिने पहिलो चरण भारत भ्रमणलाई मानिन्छ । यही परम्पराको निरन्तरतामा ओली पनि निम्ताको प्रतीक्षामा बसेका थिए । प्रधानमन्त्री भइसकेको धेरै समयपछि आएको यो निम्तो कतिपयलाई मालिकको हातबाट हड्डीको आशमा कुकुर पर्खिरहेको जस्तो लाग्छ । तर, इतिहासले देखाएको छ – भारतले छिमेकी मुलुकलाई बराबरी हैसियत नदिने र अहङ्कार देखाउने प्रवृत्तिका कारण थुप्रै नेपाली प्रधानमन्त्रीहरूले ‘निम्ताको पर्खाइमै’ आफ्नो कार्यकाल बिताएका छन् । तर, पछिल्लो समयमा भारतभित्रै विदेश नीति असफल भएको भनेर मोदी सरकार आलोचित हुनु, अमेरिकाजस्ता महाशक्ति र चीनलगायत छिमेकीसँग असमझदारी बढेको पृष्ठभूमिमा तत्कालीन नेपाली प्रधानमन्त्री ओलीलाई भारतले निम्तो दिएको भन्ने अड्कल धेरैको थियो ।
अब प्रश्न उठ्छ – किन भारत छिमेकीहरूसँग अलगिँदै गइरहेको छ ?
कारण सरल छ । हेपाहा स्वभावकै परिणाम भारत आफ्ना छिमेकीहरूसँग क्रमशः टाढिँदै गएको छ । भारतले छिमेकीलाई ‘समान साझेदार’ भन्दा बढी ‘साना अनुयायी’ को रूपमा हेर्छ । नेपालमाथि नाकाबन्दी, भुटानमाथि सुरक्षा–नियन्त्रण र बङ्गलादेशसँग राजनीतिक दबाबजस्ता घटनाले भारतप्रतिको अविश्वास बढाएको छ । परिणामस्वरूप, छिमेकी मुलुकहरू चीनतर्फ आकर्षित हुन थालेका छन् । यसैलाई लिएर दक्षिण एसियालाई अस्थिर राखेर चीनले भारतको आर्थिक प्रमुखताको बाटोलाई जटिल बनाउने लक्ष्य राखेको भन्ने भारतीय पक्षको आरोप छ । तर, वास्तविकता अर्कै छ । भारत दक्षिण एसियामा अवस्थित नेपाल, भुटान र माल्दिभ्सजस्ता स–साना मुलुकहरूलाई दादागिरी देखाएर हैकम चलाउन चाहन्छ । यही कारण दक्षिण एसियाली मुलकहरू चीनसँग नजिक हुँदा भारतको मनसुबा पूरा हुन पाएन । चीनकै कारण दक्षिण एसियामा भारतले हैकम चलाउन नपाएकोमा भारतको असन्तुष्टि छ । आफ्नै कारणले दक्षिण एसियाली मुलुक चीनसँग नजिकिनुलाई भारत चिनियाँ षड्यन्त्रको रूपमा हेर्छ ।
दक्षिण एसियामा ठुलदाइवाला भारतको दादागिरी भूमिकाले धेरैपटक नेपाल, भुटान, बङ्गलादेशजस्ता छिमेकी साना देशहरूलाई दुव्र्यवहार गर्ने आरोप लाग्ने कारण बनेको छ । आर्थिक, सैन्य र राजनीतिक हिसाबले भारतको प्रभुत्वका कारण भारतले आफ्ना स्वार्थहरू थोपर्ने प्रयास गर्दा छिमेकी राष्ट्रहरूको सार्वभौमिकता र नीतिगत स्वतन्त्रता प्रभावित हुने गरेको देखिन्छ । नाकाबन्दी, व्यापारमा अवरोध र राजनीतिक हस्तक्षेपले गर्दा समग्र दक्षिण एसियामा भारतप्रतिको असन्तोष र अविश्वास बढाएको छ ।
दक्षिण एसियाका स–साना देशहरूसँग पनि चीन नजिकिँदै गएको छ । नेपालमा पूर्वाधार लगानी, बङ्गलादेशसँग सुरक्षा सहकार्य, भुटानसँग सन्तुलन रणनीति – यी सबैले चीनलाई वैकल्पिक साझेदारका रूपमा उभ्याएका छन् । भारतले दादागिरी गरेर सानो मुलुकलाई असन्तुष्ट तुल्याउँदा, चीनले ‘समान साझेदारी’ र ‘अवसर’ को भाषा बोल्दै उनीहरूलाई आकर्षित गरिरहेको छ ।
चीन–पाकिस्तान सम्बन्धलाई दुवै देशले ‘सबै मौसमको साझेदारी’ भनेर गर्व गर्ने गर्छन् । २०१४ देखि २०२४ बिच पाकिस्तानले आयात गरेका हतियारमध्ये करिब ८० प्रतिशत चीनकै हिस्सा थियो । ड्रोन, मिसाइल, लडाकु जेटदेखि समुद्री रक्षा प्रणालीसम्म चीनले पाकिस्तानलाई उपलब्ध गराएको छ । पछिल्लो पहलगाम द्वन्द्वमा यिनै हतियार प्रयोग भए, जसले भारतलाई असजिलो स्थिति सिर्जना गर्यो । चीन–पाकिस्तान आर्थिक करिडोर (CPEC) ले चीनलाई अरब सागरमा छोटो बाटो खोलेको छ, जसले चीनलाई रणनीतिकरूपमा मध्यपूर्वसँग सीधा जोडेको छ ।
त्यसैगरी भारत, माल्दिभ्स र चीनबिचको सम्बन्धलाई त्रिकोणीय दृष्टिले हेर्दा स्पष्ट हुन्छ, माल्दिभ्स भारतको पारम्परिक प्रभाव क्षेत्रभित्र भए पनि, बढ्दो असन्तुष्टि र विकल्प खोज्ने चाहनाले चीनलाई निकट साझेदार बनाएको छ । भारतले लामो समयदेखि माल्दिभ्समा ‘इन्डिया फस्र्ट नीति’ मार्फत आफ्नो प्रभाव जमाउने प्रयास गरेको छ, तर २०१८ को राजनीतिक सङ्कटमा देखिएको हस्तक्षेपको सङ्केत र सुरक्षा सहयोगको नाममा आन्तरिक मामिलामा चासो देखाउनु माल्दिभ्सभित्रै भारतविरुद्ध आक्रोश बढ्ने प्रमुख कारण बने । यसैबिच, चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) अन्तर्गत ठुलो पूर्वाधार लगानी, बन्दरगाह र विमानस्थल निर्माण, र ऋणमार्फत माल्दिभ्सलाई ठोस आर्थिक अवसर दिएको छ । यसले भारतप्रतिको निर्भरता घटाउँदै चीनप्रति आकर्षण बढाएको छ । परिणामस्वरूप, माल्दिभ्स आज रणनीतिकरूपमा चीनसँग नजिकिँदै गएको छ भने भारतसँग दूरी बढाएको छ ।
यस्तो अवस्थामा चीनको दक्षिण एसियामाथिको बढ्दो उपस्थितिले साना राष्ट्रहरूलाई रणनीतिक सन्तुलन कायम गर्न सहयोग पु¥याएको छ । पूर्वाधारमा लगानी, आर्थिक सहायता र कूटनीतिक सम्बन्ध विस्तारमार्फत चीनले भारतकेन्द्रित क्षेत्रीय सन्तुलनको विकल्प उपलब्ध गराएको छ । बेल्ट एन्ड रोड इनिसिएटिभमा नेपालको सहभागिता, बङ्गलादेशको चीनसँगको सुरक्षा सहकार्य र भुटानको सावधानीपूर्वक शक्ति सन्तुलन रणनीति यसका उदाहरणहरू हुन् ।
यद्यपि, आफ्नो उपस्थिति आफ्नै रणनीतिक हितसहित आउनु स्वाभाविक हुँदाहुँदै पनि चीनले नेपाल, भुटान र माल्दिभ्सजस्ता दक्षिण एसियामा अवस्थित साना देशहरूको सार्वभौमिकता समर्थन गर्दै तिनीहरूलाई आर्थिक अवसरहरू प्रदान गर्ने काम गर्दै आएको छ । यसले भारतको क्षेत्रीय एकाधिकारमा नियन्त्रण राख्न र दक्षिण एसियालाई बहुध्रुवीय बनाउन योगदान पु¥याएको छ, जसले साना राष्ट्रहरूलाई भारतको दबाबका विरुद्धमा रणनीतिक विकल्पहरू उपलब्ध गराएको छ । यसरी साना देशहरूको सार्वभौमिकता समर्थन गर्दै भारतको क्षेत्रीय एकाधिकारमा चुनौती दिने चीनको उपस्थितिले रणनीतिक सन्तुलन कायम राख्न र साना राष्ट्रहरूलाई रणनीतिक विकल्पहरू प्रदान गर्न थप सशक्त बनेको छ । यसरी एकातिर चीन छिमेकी मुलुकसँग नजिकिँदै गएको छ भने अर्कोतिर भारत छिमेकीसँग एक्लिँदै गएको छ ।
छिमेकीहरूमाथि प्रभुत्व जमाउन खोज्नुको कारण नै भारत आफ्ना छिमेकी मुलुकहरूबाट अलग्गिएको हो । यो वास्तविकतालाई मनन गरेर भारतले आफ्ना छिमेकीहरूप्रति सम्मानजनक कूटनीति, आपसी सहकार्य र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति अपनाउनुपर्छ । सीमा विवादको शान्तिपूर्ण समाधान, समान साझेदारको रूपमा व्यवहार र क्षेत्रीय विकासमा समावेशिता ल्याएरमात्र विश्वास पुनःस्थापना गर्नुको साथै एक्लोपन अन्त्य गर्न सकिन्छ । यदि भारतले आफ्नो ‘ठुलदाइ मानसिकता’ त्यागेर समान हैसियत, आपसी सम्मान, हस्तक्षेपरहित नीति र सहकार्यतर्फ मोडिन सके, दक्षिण एसियामा फेरि विश्वास र सन्तुलन पुनःस्थापना गर्न सकिन्छ । नभए, चीनले बनाइरहेको बहुध्रुवीय क्षेत्रीय सन्तुलनले भारतलाई अझै एक्ल्याउँदै लैजानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *