भर्खरै :

पुराना तथा नयाँ सांस्कृतिक विधा नयाँ पुस्तामा हस्तान्तरण आवश्यक

पुराना तथा नयाँ सांस्कृतिक विधा नयाँ पुस्तामा हस्तान्तरण आवश्यक

भक्तपुर, ३१ भदौ । भक्तपुर नगरपालिकाको आयोजनामा २०८२ सालको गुन्हिपुन्ही सापारु (साउन २५ गते) मा प्रदर्शन गरिने घिन्ताङघिसी र माक प्याखँ तथा ०८२ साउन २७ देखि ३१ गतेसम्म प्रदर्शन गरिने परम्परागत तथा आधुनिक विधामा सांस्कृतिक प्रस्तुतिहरूको मूल्याङ्कन गर्न गठित गुन्हिपुन्ही सापारु (गाईजात्रा) व्यवस्थापन समितिको बैठक मङ्गलबार बस्यो ।
गुन्हिपुन्ही सापारुको समीक्षा तथा धन्यवादज्ञापन गर्न आयोजित सो बैठकमा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले यहाँका परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरूको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
यहाँका पुराना, नयाँ सांस्कृतिक विधाहरू नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सांस्कृतिक प्रस्तुति अन्तर्राष्ट्रिय समुदायसम्म पुगेको उल्लेख गर्नुभयो ।
घिन्ताङघिसी नाचगानमा देखिएको विकृतिमा सुधार भई सुसंस्कृत हुँदै गएको चर्चा गर्दै नगर प्रमुख प्रजापतिले यस्ता कार्यक्रमले जीवित सङ्ग्रहालयलाई जीवन्तता दिने विचार व्यक्त गर्नुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले गुन्हिपुन्हीको घिन्ताङघिसीबारे समीक्षा गर्दै सांस्कृतिक विधालाई अझ परिष्कृत गर्न र समय सुहाउँदो बनाउन प्रशिक्षणको आवश्यकता रहेको बताउनुभयो ।
व्यवस्थापन समितिका संयोजक एवं वडाध्यक्ष ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले गत साउन २७ देखि ३१ गतेसम्ममा भएको सांस्कृतिक विधाहरूको स्थितिबारे जानकारी दिँदै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
बैठकमा सहभागी मूल्याङ्कनकर्ताहरूले मूल्याङ्कनको क्रममा सांस्कृतिक टोलीले प्रस्तुत गरेको विधामा देखिएको कमजोरी सुधानुपर्ने पक्ष र व्यवस्थापनलाई अझ व्यवस्थित गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *