भर्खरै :

अन्तरिम सरकार कसरी अघि बढ्ला ?

अन्तरिम सरकार कसरी अघि बढ्ला ?

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले भदौ २३ र २४ गतेको सडक आन्दोलनमा घाइते भएका बिरामीहरूलाई अस्पताल पुगेर भेट्दै भनिन्, “तपाईँहरूले जुन उद्देश्यका लागि लड्नुभएको थियो, जे उद्देश्य प्राप्त गर्न घाइते हुनुभयो, म त्यो उद्देश्य पूरा गर्न आएको हुँ । यसमा तपार्इँहरू ढुक्क हुनुहोला ।”
सार्वजनिक भएअनुसार नयाँ पुस्ताको उद्देश्य भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने र सुशासन कायम गर्ने मुख्य हुन् । यही बन्दोबस्तमा प्रम कार्कीले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण होइन भ्रष्टाचारी खुट्याउनसमेत सक्ने अवस्था छैन ।
यतिबेला आगो लागेर खरानी भएको संसद् भवन कहाँ हो भन्ने थाहा नभएका नयाँ पुस्ताका लुसुन नामका व्यक्ति अस्पतालमा उपचाररत छन् ।
अन्तरिम सरकारको प्रधानमन्त्रीमा कार्कीलाई बनाउन संलग्न जस्तो देखिएको नेपाली सेनाले कोही कसैलाई मन्त्री बनाउन हस्तक्षेप नगर्ने, सरकारलाई काम गर्न दिने र सुझाव मागे दिने बतायो ।
प्रधानमन्त्री कार्कीलाई भारत, बेलायत, जापान, चीन, अमेरिकालगायतले बधाई दिएको सार्वजनिक भयो । चीनको तिब्बत अलग गर्न चाहने विखण्डनकारी दलाई लामाको बधाई भने रहस्यपूर्ण छ । ‘कान्तिपुर’ दैनिकले गालामा देशको झन्डा भिरेर राष्ट्रपतिको कार्यालय शीतल निवास, संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत तोडेका र आगजनी गरेकाहरूको नाम र तस्बिर छाप्यो । नख्खु कारागार, कान्तिपुर टेलिभिजन तोडेका र आगजनी गरेकाहरूको नाम र तस्बिर पनि छापिएको छ ।
संयुक्त र एकल पटक–पटक सरकारमा गएका नेका, एमाले, माओवादीले निःस्वार्थ रूपमा देश र जनताको सेवा नगरेको हुँदा देशमा यो सङ्कट उत्पन्न भएको पनि सार्वजनिक भइरहेको छ ।
भदौ २४ गते एकै दिन चार महानगरपालिका वीरगञ्ज, भरतपुर, पोखरा, विराटनगरको भवनसहित ३ सय हाराहारी स्थानीय तहमा तोडफोड र आगजनी भएको आमसञ्चारमा सार्वजनिक भयो ।
देशभरिका अधिकांश कारागार तोडफोडमा करिब १४ हजार कैदीबन्दी बाहिरिएकामध्ये ३ हजार जति पुनः फिर्ता भएको पनि सार्वजनिक भयो ।
कतिपयले संविधान र संसद्मध्ये संविधान रोज्नु परेको पनि दाबी गर्दै छन् । संविधानअनुसार प्रममा कार्कीलाई नियुक्ति गरिएको छैन । अन्तरिम सरकारले अवाञ्छित घटनाहरूको विषयमा छानबिन गरी कारबाही गर्न जिम्मेवारी पूरा गर्नेबारे आशङ्का उठेको छ ।
नेपाली सेनाको सुरक्षाबाट बाहिरिसकेका तत्कालीन मन्त्रीहरू कता छन् ? तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सेनाकै निगरानीमा कति दिन रहने हो ? नेका सभापति देउवा उपचारमा रहेका कति दिन बस्ने हो ?
निषेधाज्ञा र कफ्र्यु दुई दिनको मौकामा महोत्तरीमा साझेदारी वनका २०० भन्दा बढी रूख काटिएको सार्वजनिक पनि खुल्यो ।
देशको यो घटनालाई केहीले एमाले अध्यक्ष तथा तत्कालीन प्रम ओली र नेका सभापति एवम् पूर्वप्रम देउवा र माओवादी अध्यक्ष एवम् पूर्वप्रम दाहालको पतनको रूपमा निष्कर्ष निकाले । संसद् बहालीको चलखेल र प्रधानमन्त्री कार्कीको हातखुट्टा बाँध्ने प्रयास भए फेरि आगो सल्किने दाबी पनि बाहिरियो ।
देशमा कुल ३२ हजार सहकारी भएकोमा वाग्मती प्रदेश सरकारअन्तर्गत १३ जिल्लाका १३,२०० सहकारी संस्थाको कागजात खरानी भएको पनि सार्वजनिक भयो । के यो सहकारी ठगहरूको करामत हो र ?
मापदण्ड र भागबन्डा किचलोले अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीलाई ‘मन्त्री छान्न’ सकस भएको पनि सार्वजनिक भयो । सुनिन्छ, प्रम कार्कीले ११ जना मन्त्रीमात्र नियुक्ति गर्नेछन् ।
नयाँ पुस्ताको नाममा समूहहरू दुई दर्जनभन्दा बढी भएको र ९२ ओटाभन्दा बढी च्याप्टर रहेको सार्वजनिक भयो । एकजना बङ्गलादेशीले बङ्गलादेशमा नयाँ पुस्तालाई उठाएर सरकार परिवर्तन गराएको, अमेरिकी साम्राज्यवादले नेपालमा पनि त्यही गराएको उल्लेख गर्दै नेपालीलाई ‘बिउँझ बिउँझ’ भनी धेरै अगाडि नै आग्रह गरेको पनि सार्वजनिक भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *