भर्खरै :

देशमा भ्रष्टाचार व्याप्त हुनु र आर्थिक रूपले देश कमजोर हुनुमा शासक दलहरू दोषी

देशमा भ्रष्टाचार व्याप्त हुनु र आर्थिक रूपले देश कमजोर हुनुमा शासक दलहरू दोषी

भक्तपुर, २ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा गुन्हीपुन्ही सापारू २०८२ मा प्रदर्शन गरिएका घिन्ताङघिसी, माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाका विजयी सांस्कृतिक समूहहरूलाई पुरस्कार वितरण एवम् सांस्कृतिक गुरूहरूको सम्मान कार्यक्रम बिहीबार एक समारोहबिच सम्पन्न भयो ।
कार्यक्रममा सम्मानित संस्कृतिकर्मी तथा सांस्कृतिक गुरूहरूलाई बधाईज्ञापन गर्दै अध्यक्ष बिजुक्छेँले नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूले निःस्वार्थ रूपमा जनताको सेवा गर्ने भावनाले काम गर्दै आइरहेको बताउनुभयो ।
सम्पदामा क्षति र हानि नोक्सानी गर्नेहरूबाट सचेत हुनुपर्ने उल्लेख गर्दै उहाँले हाम्रो सम्पदा र कला संस्कृति नै हाम्रो पहिचान भएको हुँदा यसको संरक्षण र प्रवद्र्धनमा हामी स्वयं लाग्नुपर्ने बताउनुभयो ।
विदेशीको भरमा विकास गर्ने परनिर्भर सोचले हामीमा माग्ने प्रवृत्तिको विकास हुने हुँदा हाम्रो इतिहास र सभ्यतालाई हामी आफैँले संरक्षण गर्नुपर्ने अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
सांस्कृतिक कलाकार र संस्कृतिकर्मीहरूलाई निरन्तर उत्साहित गर्दै लानुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले जनताको साथ र सहयोगमा गरिने हरेक काम सफल हुने बताउनुभयो ।
देशमा व्याप्त भ्रष्टाचारले देशलाई झन्झन् आर्थिक रूपले कमजोर बनाउँदै लगेको र यस्तो स्थिति आउनुमा शासक दलहरू नै दोषी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको गाईजात्रा संसारकै उत्कृष्ट पर्वको रूपमा रहेको धारणा राख्दै भक्तपुरका लोपोन्मुख नाचहरू उजागर गर्ने उद्देश्यले सांस्कृतिक प्रतियोगितालाई जोड दिँदै आएको बताउनुभयो ।
सांस्कृतिक गुरू सम्मानले संस्कृतिकर्मीहरूमा उत्साह थप्ने काम भएको छ भन्दै उहाँले भक्तपुर विदेशीको सहयोगले होइन आफ्नै स्वाभिमानले आत्मनिर्भर भएर अगाडि बढेको नगर भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले पर्यटन प्रवद्र्धनमा जोड दिँदै आएको उल्लेख गर्दै उहाँले देशमा शान्ति सुरक्षाको प्रत्याभूति भएमात्र विदेशी पर्यटक नेपालको भ्रमणमा आउने स्पष्ट पार्नुभयो ।
नयाँ पुस्तालाई सम्पदा संरक्षणको महत्व र भक्तपुरको कला संस्कृतिबारे अध्ययन अध्यापनको व्यवस्था गर्दै आएको स्पष्ट पार्दै उहाँले नयाँ पुस्तालाई प्रशिक्षित गरी पुस्तान्तरण गर्ने काममा नगरपालिकाले सहजीकरण गर्दै आएको बताउनुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले गाईजात्राको समयमा प्रदर्शन गरिने सांस्कृतिक प्रतियोगिताका प्रस्तुतिहरूलाई अझ व्यापक रूपमा प्रस्तुत गर्न सुझाव दिँदै कला संस्कृतिमार्फत पनि जनताको सेवा सम्भव छ भन्ने उदाहरण भक्तपुर नगरपालिकाले प्रस्तुत गर्दै आएको बताउनुभयो ।
भक्तपुरको कला संस्कृति नेपालमा मात्र नभई विश्वमा चिरपरिचित रहेको र कला संस्कृति संरक्षणमा भक्तपुर नगरपालिकाले अझ बुद्धिमत्तापूर्वक ढङ्गले अगाडि बढ्न जरूरी रहेको उहाँले बताउनुभयो ।
वर्तमान राजनीतिक घटनाक्रमबारे धारणा व्यक्त गर्दै सांसद गोसाईले विदेशी हस्तक्षेपबारे नेपाल मजदुर किसान पार्टीले संसद्देखि सडकसम्म जनतालाई सुसूचित गर्ने काम गर्दै आएको उल्लेख गर्दै अहिलेको स्थिति आउनुमा मुख्य जिम्मेवार शासक दलहरू नै भएको बताउनुभयो ।
देशको राजनीति गलत बाटोमा गएपछि देशमा अशान्ति र अराजकता फैलिनु स्वाभाविक भएको उल्लेख गर्दै उहाँले जनता स्वयं देशको रक्षक दल हुनुपर्ने पाठ वर्तमान राजनीतिक घटनाक्रमले पुष्टि गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरका अमूल्य धरोहरलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्न विविध सांस्कृतिक प्रतियोगिता आयोजना गर्दै आएको स्पष्ट पार्दै समाजका अग्रज र सम्मानित व्यक्तिको रूपमा सांस्कृतिक गुरूहरूलाई सम्मान गर्दै आएको बताउनुभयो ।
भक्तपुर नगरलाई नाचगानको राजधानीको रूपमा प्रस्तुत गर्न भक्तपुर नगरपालिका प्रयासरत रही पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति नारालाई व्यवहारिक रूपान्तरण गरी अगाडि बढ्दै आएको बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले भक्तपुर जिल्लाले अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान कायम गर्न उदाहरणीय कामहरू गर्दै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको प्रशासनिक व्यवस्था र सेवा प्रवाह अन्य नगरपालिकाको भन्दा अनुकरणीय भएको बताउँदै उहाँले संस्कृतिकर्मी सम्मान कार्यक्रमले भक्तपुरको सांस्कृतिक विविधतालाई जीवित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुरको शान्ति सुरक्षा कायम गर्ने विषयमा अझ तदारूकतासाथ अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले भक्तपुर कलाकृति र संस्कृतिले भरिएको नगर भएकोले यहाँका मूर्त र अमूर्त सम्पदा संरक्षणले हाम्रो इतिहासलाई समेत जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
सांस्कृतिक सम्पदा संरक्षण गर्ने पहिलो दायित्व स्थानीय जनतामा निहित हुने बताउँदै उहाँले आगामी दिनमा पनि भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणको क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सांस्कृतिक गुन्हीपुन्ही सापारू २०८२ मा प्रदर्शन गरिएका घिन्ताङघिसी, माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरूको मूल्याङ्कनको समीक्षा गर्नुभयो ।
सोही क्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले यो वर्ष प्रत्येक वडाबाट १ जना सांस्कृतिक गुरूहरूलाई उहाँहरूको योगदानको कदरस्वरूप भक्तपुर नपाले सम्मान गरिएको र यो वर्षको गुन्हीपुन्ही सापारूमा विविध विधाअन्तर्गत १४६ सांस्कृतिक समूहले प्रतियोगितामा भाग लिएको बताउनुभयो ।
कार्यक्रममा भनपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा प्रत्येक वडाबाट एक/एक जना सांस्कृतिक गुरूहरूलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *