लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
साम्राज्यवादी शक्ति र देशी विदेशी प्रतिक्रियावादीहरू समाजवादी देश लक्षित गरेर अनेक जाल बुन्दै छन् । साम्राज्यवादी देशहरू कहिले कर युद्ध त कहिले नाकाबन्दी गर्छन् । अरू स्वाधीन र सार्वभौम देशमा आक्रमण गर्ने, आक्रमण गराउन सहयोग गर्ने, त्यहाँको स्रोत साधन कब्जा गर्ने र शक्ति र प्रजातन्त्रको नाउँमा हतियार बिक्री गरेर धनी बन्ने काम साम्राज्यवादी देशहरूले गरिरहेको यथार्थ हो । समाजवादी देशहरूले गरिरहेको प्रगति रोक्न या बाधा हाल्न, समाजवादी लक्ष्य पूरा गर्न नदिन साम्राज्यवादी देशले सैन्य बल प्रयोग गरिरहेको अर्को यथार्थ हो । साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकाले प्रजातान्त्रिक जन–गणतन्त्र कोरियामा पनि त्यस्तै धम्की दिएको थियो । एक शक्तिशाली देशले सानो भूभाग रहेको प्रजग कोरियामा कुल्चने, मानव अधिकार हनन गरी आफूले रोजेको दमनकारी र हस्तक्षेपकारी नीतिको विरोधमा र आफ्नो स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न प्रजग कोरियाली सन्गुन नीति निर्माण र लागु भएको हो ।
साम्राज्यवादी सैन्यनीति शोषकवर्ग पुँजीपतिवर्गको हितको निम्ति प्रयोग गरिने जनविरोधी नीति हो । सन्गुन नीति देशको स्वाधीनता र सार्वभौमिक रक्षा गर्न र जनताको सुरक्षाको निम्ति तयार भएको हो । अर्थात् मजदुरवर्गलाई स्थान दिने सिद्धान्तमा आधारित एक भरपर्दो नीति हो यो । समाजवादी राजनीति सार्वभौमसत्ताको नीतिमा आधारित हुनुपर्छ । तर, सत्तामा जाने नेपालका कम्युनिस्टहरू सार्वभौमसत्ता जोगाउनेतर्फ ख्याल गर्दैनन् । उनीहरू आफ्नो देशको अस्तित्वमा असर पार्ने, शक्तिशाली देशको हितमा काम गर्न अघि सरेका छन् । नेपाल र नेपालीलाई दूरगामी असर पार्ने बाटो तयार गर्छन् ।
समाजवादको उद्देश्य व्यापक जनतालाई सार्वभौम बनाउनु हो । यो उद्देश्य प्राप्त गर्न व्यापक जनतालाई सचेत र सङ्गठित गर्न आवश्यक छ । समाजवाद स्थापना गर्न व्यापक जनतालाई परिचालन गर्नुपर्छ । नेमकिपाले थालेको समाजवादी अभियान यसकै सिलसिला हो । नेमकिपाका नेता तथा कार्यकर्ताहरू जहाँ पुगे पनि, जहाँ सङ्गठन गरे पनि समाजवादी शिक्षा दिन्छन्, सामन्तवाद र पुँजीवादको विरोध गर्छन् । जनतालाई सिद्धान्तनिष्ठ बनाउन, सैद्धान्तिक, वैचारिक र सांस्कृतिक स्तर उठाउन उनीहरू प्रशिक्षित गर्छन् । यो हरेक सच्चा कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूको जिम्मेवारी हो । त्यो जिम्मेवारी पूरा गर्नुपर्छ । माक्र्सवादी र लेनिनवादीको बखान गरेर कम्युनिस्ट पार्टीले निर्वाह गर्नुपर्ने भूमिमा निर्वाह गरेन भने त्यो देखावटी कम्युनिस्ट पार्टी हुनेछ । समाजवादी नीति व्यापक जनताको हितमा छैन भने त्यो नीति कम्युनिस्ट सिद्धान्तविपरीत हुनेछ । राजनीति भनेकै समाजको सामूहिकको निम्ति जनसमुदायलाई सङ्गठित गर्ने कार्य हो । समाजवादी नीति व्यापक जनतालाई राज्य र समाजको मालिक बनाउने हो । व्यापक जनताको स्वाधीनता कायम राख्न समाजवादीको रक्षा गर्नुपर्छ । समाजवादीको रक्षा गर्न साम्राज्यवादविरुद्ध पनि सङ्घर्ष गर्नुपर्छ ।
नेमकिपा कुनै देशको विरोधमा होइन, कुनै देशको जनताको विरोधमा होइन; साम्राज्यवादी नीति, विस्तारवादी नीति र आतङ्कित पार्ने नीतिको विरोधमा सङ्घर्षरत छ । हरेक कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामा क्रान्तिकारी भावना चाहिन्छ । उच्च नैतिकता चाहिन्छ, क्रान्तिकारी चरित्र र कार्यशैली चाहिन्छ† दल जतिसुकै ठुलो भए पनि, जतिसुकै नेता तथा कार्यकर्ता भए पनि ती नेताहरूमा क्रान्तिकारी चरित्र छैन; उनीहरूमा आमूल परिवर्तनको भावना छैन भने त्यस्तो शक्ति या पार्टीले कम्युनिस्ट भए पनि परिवर्तन गर्दैन, परिवर्तन गर्न लाग्दैन । समाजवाद नै कामदारवर्गको लागि लागि उत्कृष्ट व्यवस्था हो । यसकारण, नेमकिपाले समाजवाद र पुँजीवादबिचको भेदबारे जनतालाई सुसूचित पार्दै आएको हो ।
साम्राज्यवादीहरू आफ्ना विरोधीहरू बलियो भएमा आक्रमण गर्न डराउँछन् । आन्तरिक र बाह्य शत्रुहरूविरुद्ध सङ्घर्षबिना समाजवादको निर्माण सम्भव छैन । सामाज्यवादीहरूको धम्की र नाकाबन्दीको सदा विरोध गरिरहनुपर्छ । समाजवादी देशहरूमाथि आक्रमण गर्नु नै साम्राज्यवादीहरूको ध्येय हो । समाजवादको विकास र विस्तार हुँदै गएकोले नै साम्राज्यवादी शक्तिहरू छटपटिन्छन्; छटपटिरहेका छन् । तर, समाजवादी देशहरू सबै देशमा शान्ति छर्दै विकासमा साथ दिन्छन्, सहयोग गर्छन् । साम्राज्यवादी, विस्तारवादी र पुँजीवादी देशहरू अरु देशको सहयोग र विकासको नाउँमा स्रोत र साधन कब्जा गर्ने काम गर्छन्, आफ्नो उठबसमा राख्ने यत्न गर्छन्, नचाउने प्रयास गर्छन् । जहिलेसम्म संसारमा साम्राज्यवाद रहिरहन्छ तहिलेसम्म संसारमा शान्ति र सुरक्षाको अनुभूति हुनेछैन ।
अमेरिकाले देशकौँदेखि क्युवामा गरेको नाकाबन्दी अहिले पनि फिर्ता लिएको छैन । संसारका सबैजसो मुलुकले क्युवामाथिको नाकाबन्दी फिर्ता लिन निर्णय गरे पनि अमेरिकाले फिर्ता लिएको छैन । यो साम्राज्यवादी देश अमेरिकाको धृष्टता र उन्मादको दृष्टान्त हो । प्रजग कोरिया र क्युवा साम्राज्यवादको विरोधमा सङ्घर्षरत छन् । अहिले पनि अमेरिकी साम्राज्यवादले प्रजातान्त्रिक जनगणतन्त्र कोरियालाई सशस्त्र शक्तिले दबाउन जालझेल गरिरहेको हुँदा सन्गुन नीतिको महत्व झन् बढेको छ । साम्राज्यवादीहरू कुनै न कुनै बहानामा युद्ध निम्त्याउने षड्यन्त्र गर्छन् र युद्धबाट व्यक्तिगतरूपमा अकुत नाफा कुम्ल्याउँछन् । त्यसैले विश्वका जनता साम्राज्यवादी षड्यन्त्रदेखि होसियार हुनुपर्छ ।
Leave a Reply